टिमुर र लौठसल्लाको बिरुवा रोपण

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०९:१६
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लामा व्यावसायिक रूपले टिमुर तथा लौठसल्लाको आम्दानी लिन बिरुवा रोपण कार्य थालिएको छ ।

      बाँझो बसिरहेको जमिन सदुपयोग गर्दै डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा उत्तरगया गाउँपालिका वडा नं. १, २ र ३ मा उक्त जातका वृक्षरोपण गरेको हो । कार्यालय प्रमुख रामकृष्ण केसीका अनुसार यस वर्षको कार्यनीतिअनुसार ६३ हजार आठ सय ९० लौठसल्ला एवम् ५१ हजार चार सय १८ वटा टिमुरको बिरुवा रोपण गरिएको छ । उनले २२ हजार पाँच सय सतुवा र एक हजार पाँच सय कागतीका बिरुवासमेत रोपण गरिएको बताए । टिमुर तथा लौठसल्लाको खेतीले स्थानीयवासीको आयस्रोतमा वृद्धि हुने जनाइएको छ । यस्तै, नगदेबालीका वृक्षरोपण गर्न आवश्यक रहेको बताउँदै थिए । टिमुरको बिरुवाले तीन वर्षदेखि र लौठसल्लाको बिरुवाले सात वर्षदेखि लाभ लिन सकिने वन अधिकृत केसीले जानकारी दिए ।

      हुर्किएपछि प्रतिवर्ष लौठसल्लाको एक बोटले १० केजी बजनबराबरको पात दिने र यसको वर्तमान बजारमूल्य भने दुई सय ५० देखि दुई सय ७५ सम्म रहेको बताइएको छ । रोपणको समयमै यसका प्रत्येक फाइदा बताइएको छ । तीन वर्षमै फल दिने टिमुर भने प्रतिमाना दुई सय रुपैयाँका दरले स्थानीयस्तरमै खपत भइरहेको छ । यस्तो काम सराहनीय रहेको र गाउँघरमा नै रहेको भिरालो जमिनमा चाँडै फल दिने आम्दानी धेरै हुने खालको भए त कोही विदेशी भूमिमा जानुपर्दैन । सबैले यसको महत्व बुझेर लागिपर्नुपर्ने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।