लाङटाङ, गत्लाङ, चन्दनबारी र धुन्चे लेकको चिज उत्पादन केन्द्र सञ्चालनमा

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०९:२२

धुन्चे, कोभिड सङ्क्रमणको असरले उत्पादन बन्द रहेको रसुवाको चारवटा चिज उत्पादन केन्द्र असार १ गतेदेखि सञ्चालनमा आएको छ ।

      जिल्लाको उत्तरी क्षेत्रमा रहेको लाङटाङ, गत्लाङ, चन्दनबारी र धुन्चे लेकको चिज उत्पादन केन्द्र असार १ गतेबाट सञ्चालनमा आएको हो । बन्द रहेका चारवटा चिज उत्पादन केन्द्र सञ्चालनमा आएपछि २५ सय किलोभन्दा बढी चिज उत्पादन भएको छ । चिज उत्पादनको काम गत वैशाख १ गतेदेखि नै सञ्चालनमा ल्याउनुपर्ने तयारी भए पनि कोरोनाको असर एवम् कोरोना सङ्क्रमणकै कारण धुन्चे लेक केन्द्रका प्रमुख जितबहादुर जिरेलको निधन भएको थियो । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाले गर्दा चिज उत्पादन कार्य यो वर्ष दुई महिना ढिलाइ भएको छ । धुन्चे लेक केन्द्रका आफ्ना सहकर्मीको निधनले त्रसित भएका कर्मचारी एवम् चौँरीपालक किसानको त्रास क्रमशः घट्दै गएको र चौँरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चिज तथा मखन उत्पादन तीव्र रूपले भइरहेको लाङटाङ केन्द्रका प्रमुख ग्याल्बो तामाङले बताए ।

      रसुवाको चारवटा चिज उत्पादन केन्द्र दुग्ध विकास संस्थानअन्तर्गत सञ्चालन भइरहेका छन् । चारवटा चिज उत्पादन केन्द्रमा दूध आपूर्ति गर्ने चौँरीगाईको सङ्ख्या एक हजार नौ सयभन्दा बढी रहेको छ । दैनिक दुई हजार एक सय ५० लिटरभन्दा बढी दूध सङ्कलन भइरहेको छ । धुन्चे केन्द्रको प्रमुखमा रामबरस ठाकुर, गत्लाङको केन्द्र प्रमुखमा क्षेत्रबहादुर तामाङ र चन्दनबारी केन्द्र प्रमुखमा गोविन्द्रबहादुर गुरुङ कार्यरत छन् । ८७ किसानले दूध आपूर्ति गरेबापत फ्याटको हिसाबमा प्रतिलिटर एक सय पाउने गरेका छन् । तीन महिना मात्र सञ्चालनमा ल्याउने दुग्ध विकास संस्थानको निर्देशनअनुरूप चन्दनबारी केन्द्रले सात हजार केजी चिज र एक हजार पाँच सय किलो मख्खन, लाङटाङ केन्द्रले ६ हजार किलो चिज र दुई हजार किलो मख्खन उत्पादन गर्ने लक्ष्य लिएको छ ।

      त्यसैगरी, धुन्चे केन्द्रले आठ हजार किलो चिज र दुई हजार चार सय किलो मख्खन उत्पादनको लक्ष्य लिएको छ । गत्लाङ केन्द्रले भने लक्ष्यबेगर चिज तथा मख्खन उत्पादन गरिरहेको केन्द्र प्रमुख क्षेत्रबहादुर तामाङले जानकारी दिए । उच्च हिमाली क्षेत्रमा चरन गर्ने चौँरीगाईको दूधबाट बनेको चिज पोसिलो, अर्गानिक भएको उपभोक्ताले बताउने गरेका छन् । यस क्षेत्रको चरनमा औषधिजन्य जडीबुटी, घाँस पाइने र उक्त घाँस चौँरीगाईले खाने भएकाले यहाँ उत्पादित चिज पूर्णरूपले अर्गानिक रहेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए । गत वर्ष कोरोनाको कारण उत्पादित चिज बिक्री नहुँदा रसुवाको चारवटा चिज उत्पादन केन्द्रले दुई महिनामै उत्पादन बन्द गरेका थिए ।