- सरस्वती न्यौपाने
धुन्चे, रसुवा जिल्लामा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको जग बसाल्ने दावाफिन्जो तामाङ पाका रसुवावासीले सम्झिरहे पनि युवाका लागि अपरिचित नाम हो ।
१९९४ साल असार १५ गते सोमबार साबिकको स्याफ्रु गाविस-४ सानोभार्खु हाल गोसाइँकुण्ड गाउँपालिका-५ भार्खुमा बाबु डिनडुब वाङ्दी तामाङ (ब्लोन), आमा निम ल्हेनजेन थोकर तामाङको कोखबाट जन्मिएका उनी पेसाले कृषक भए पनि सामाजिक क्षेत्र र राजनीतिक क्षेत्रमा समेत आफ्नो पहिचान कायम राखेका थिए । उनी सामान्य किसान परिवारको छोरा हुन् । उनका बुबाआमाको लेकमा चौँरीगोठ थियो । बेंसीमा बस्ने भए पनि गोठका कारण लेकबेंसी गर्ने क्रममा चोलाङपाटी चौँरीखर्कमा उनी जन्मिएका थिए । त्यतिबेला समाजमा पढ्नुपर्छ भन्ने चेतना आइसकेको थिएन । वि.सं. २०१५ सालमा संयुक्त राष्ट्रिय प्रजातान्त्र पार्टीको सक्रिय सदस्य भई राजनीतिमा प्रवेश गरेका तामाङले ०१८ देखि ०१९ सालसम्म जिल्ला पञ्चायतको कार्यबाहक सभापतिको कार्यभार चलाउने अवसर पाए । ०१९ सालदेखि ०२४ र ०२४ सालदेखि ०२९ सालसम्म दुई कार्यकाल जिल्ला पञ्चायतको सभापति हुने मौकासमेत पाएका तामाङले ०३० साल भदौ १० गतेदेखि गाउँफर्क राष्ट्रिय अभियान बागमती अञ्चल समितिमा श्री ५ बाट मनोनीत सदस्य भई वर्णानुक्रमानुसार अध्यक्षसमेत भए । उनले वि.सं. ०३३ सालमा राष्ट्रिय पञ्चायतको आमनिर्वाचनबाट रसुवा जिल्लाको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पञ्चायत सदस्यमा निर्विरोध भई राष्ट्रिय पञ्चायतको उपाध्यक्ष हुने मौका पाए । झन्डै सात महिना राष्ट्रिय पञ्चायतको उपाध्यक्ष भएर काम गरेका तामाङले धेरैपटक राष्ट्रिय पञ्चायतको अध्यक्षको अनुपस्थितिमा कार्यबाहक अध्यक्षसमेत भई बैठक सञ्चालन गरेका थिए ।
स्वर्गीय राजा वीरेन्द्रसँग उनको सम्बन्ध प्रगाढ रहेका कारण उनले रसुवा जिल्लालाई पनि सडक सञ्जालले जोड्नुपर्छ, सडक बनेपछि अरू पूर्वाधार बिस्तारै बन्छ भनेर बिन्ती चढाएका थिए । उनको बिन्तीबाट राजाले वीरेन्द्रले त्रिशूलीदेखि सोम्दाङसम्म एक सय पाँच किलोमिटर सडक निर्माण गरी बेत्रावती, कालिकास्थान, राम्चे, ठाडे, धुन्चे, स्यापु्रm, गोल्जुङ, गत्लाङ हुँदै सोमदाङसँग सडक पुग्यो । उनले चन्दनबारीमा रहेको चिज कारखाना स्थापना, स्याउखेतीको सुरुवात, उन्नत खेती प्रणाली तथा पशुपालनको व्यवस्थापन, पैदलमार्गको निर्माण, गाउँ-गाउँमा शैक्षिक तथा स्वास्थ्यको जागरणको साथै पूर्वाधार निर्माण गरी नयाँ रसुवा बनाउन अतुलनीय योगदान गरेको रसुवाका ज्येष्ठ पत्रकार ज्ञानेन्द्र न्यौपानेले बताउँछन् । आफ्नो भाग्य आफैँले निर्माण गरी स्वावलम्बनको परिचय दिई चौतर्फी विकास गर्न इमानदारी, अनुशासन, नैतिकवान भई सामाजिक काममा लागिपरेका तामाङकै पहलमा रसुवामा दुईवटा एयरपोर्ट पनि विगतमा बनेर सञ्चालन भएको थियो । थाम्बुचेतको चिलिमेमा र लाङटाङको छोङ्दीमा एयरपोर्ट त्यसबेला सञ्चालनमा रहेको थियो । उनका एक श्रीमती, दुई छोरी र तीन छोरा छन् । चीन, भारत, बंगलादेश, थाइल्यान्डसमेत भ्रमण गरेका उनले ०२२ सालमा श्री ५ बाट सम्मानपत्र, आदरपत्र, प्रबल गोरखा दक्षिण बाहु चौथा ०२४, प्रसिद्ध गोरखा दक्षिण बाहु दोस्रा २०३५, त्रिशक्ति पट्ट दोस्रा २०३०, महेन्द्ररत्न भूषण २०२९, सेवा पदक २०३४ पाएका छन् ।
सम्पूर्ण रसुवावासीले बिर्सन नहुने व्यक्तित्व उनी अहिलेका नयाँ पिँढीका लागि भने नौलो भइरहेका छन् । उनको पालामा नै सडक बन्यो, विद्यालय बन्यो, सम्पूर्ण सरकारी कार्यालय आए, अस्पताल बन्यो, स्वास्थ्यचौकी बन्यो, जति पनि विकास निर्माण भए त्यसमा उनकैै देन रहेको उनका समकालीनहरू बताउँछन् । मानिसले पढेर मात्र होइन परेर जान्दछ भन्ने धारणा राख्ने तामाङ साधारण लेखपढ गर्न मात्र जान्दथे । तैपनि उनले बुद्धि-विवेकले उच्च शिक्षा हासिल गरेको मानिससरह काम गरेका छन् । एक कुशल व्यक्ति जसलाई रसुवावासीले जिउँदो इतिहासको रूपमा देखिरहेका छन् । उनले सुरुवात गरेर समृद्ध रसुवा बन्न सफल भएको छ । तामाङ बाहुल्य रहेको रसुवालाई आफ्नो वेशभूषा, संस्कृति र भगवान्को वास भएको जिल्ला भनेरसमेत चिनाएका थिए । आफ्नो स्वार्थमा भन्दा भावी सन्ततीका बारेमा सोचेर अगाडि बढेको तामाङको प्रयास अहिले सार्थक बनेको छ । उनी अहिले जीवनको उत्तरार्धमा आफ्नै निजी निवासमा धर्मकर्ममा लागिरहेका छन् ।