त्रिशूली अस्पताल बिरामीको पहिलो रोजाइमा

  • त्रिशूली प्रवाह
  • १४ श्रावण २०७८, बिहीबार ११:५८

कोलनी, नुवाकोट, रसुवा र धादिङका नागरिकका लागि उपचार सेवा उपलब्ध गराउँदै आएको नुवाकोटको त्रिशूली अस्पताल बिरामीको पहिलो रोजाइमा परेको छ । अस्पतालमा भौतिक पूर्वाधार, औजार, उपकरण र विज्ञ स्वास्थ्यकर्मी परिपूर्ति हुँदा नुवाकोट-रसुवाका बिरामी उपचारकै लागि काठमाडौं जानुपर्ने परिस्थिति अन्त्य भएको छ । अस्पतालले सोमबार पहिलोपटक ५७ वर्षपछि स्थापना दिवस मनाएको छ । ०२१ साल साउन ११ गते स्थापना भएको अस्पताल बागमती प्रदेशअन्तर्गत जिल्ला अस्पतालमध्ये अब्बल रहेको छ ।

     ०२१ सालमा त्रिशूली जलविद्युत् केन्द्रका कर्मचारीको स्वास्थ्य उपचारका लागि खोलिएको साधारण स्वास्थ्य केन्द्रको विकसित रूप नै अहिलेको त्रिशूली अस्पताल हो । पछि ०३२ सालमा उक्त स्वास्थ्य केन्द्र आमनागरिकका लागि खुला गरिएसँगै त्रिशूली अस्पताल नुवाकोट, रसुवा र धादिङका जनताको स्वास्थ्य उपचारको गन्तव्य अस्पताल बन्दै आएको छ । सुरुमा १५ शय्याबाट सेवा दिन थालेको अस्पताल ०६९ सालमा ५० शय्यामा स्तरोन्नति भएको थियो । ०७२ सालको महाभूकम्पमा परी पूर्णरूपमा क्षति हुँदा पनि अस्थायी टेन्ट प्रयोग गरेर जनताको स्वास्थ्य उपचार र जीवनरक्षामा अस्पतालले नुवाकोट, रसुवा र धादिङ तीनै जिल्लाका नागरिकलाई उपलब्ध गराएको उपचार सेवा सदैव स्मरणीय रहँदै आएको छ । भूकम्पपछि अस्थायी रूपमा सञ्चालन हुँदै आएको त्रिशूली अस्पतालमा कोरियन सहयोग नियोग कोइकाको सहयोगमा नवनिर्मित अत्याधुनिक भवनबाट अस्पतालले आधुनिक सेवा प्रवाह गरिरहेको छ ।

       कुल ५९ जना स्थायी दरबन्दी भएको यस अस्पतालमा २६ जना मात्र दरबन्दी परिपूर्ति भएको प्रतिकूल अवस्थामा पनि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिबाट थप कर्मचारीको व्यवस्थापन गरी करिब दुई सयजना कर्मचारीले सेवा दिइरहेका छन् । चिकित्सकको हकमा विभिन्न विषयका नौजना विशेषज्ञ र १४ जना मेडिकल अधिकृतले चिकित्सकीय सेवा उपलब्ध गराउँदा जिल्लाका कमजोर आर्थिक अवस्था भएका नागरिकले न्यून खर्चमा राजधानीमा प्राप्त हुने स्वास्थ्य सेवा जिल्लामै प्राप्त गर्ने अवसर पाएको त्रिशूली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दीपेन्द्र पाण्डेले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डअनुसार जिल्लामा रहेका ५० बेडका अस्पतालमध्ये उत्कृष्ट ठहरिएको यस अस्पतालले कोभिड महामारीबीच आफ्नै अक्सिजन प्लान्ट, आफ्नै पिसिआर प्रयोगशाला, ६० बेडको कोभिड वार्ड र १२ वटा भेन्टिलेटरसहित २० बेडको आइसियू/एचडियू सञ्चालन गर्दै आएको छ । अस्पतालले अझै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न यस आर्थिक वर्षमा बालबालिकाका लागि छुट्टै आइसियू, हेमोडायलाइसिस, ज्येष्ठ नागरिकको छुट्टै वार्ड, इन्डोस्कोपी, ल्याप्रोस्कोपी, डेक्सा स्क्यानलगायतका सेवा थप्ने त्रिशूली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले बताए ।

     मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडासँग चालू आ.व. ०७८/०७९ मा चिकित्सा र डेन्टल विधाहरूतर्फ स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न सोमबार सम्झौता भएको छ । अस्पताल स्थापना भएको ५७औँ वर्ष पुगेको अवसरमा सोमबार भएको कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशी, शिक्षाध्यक्ष प्राध्यापक डा. सतिशकुमार देव र त्रिशूली अस्पतालको तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले र मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्राज्ञिक तथा स्वास्थ्य सेवासम्बन्धी सहकार्य गर्न अस्पतालले आफ्नो भौतिक पूर्वाधार एवम् जनशक्ति प्रयोग गर्न अनुमति दिनेछ । सम्झौताअनुसार त्रिशूली अस्पतालले अब नर्सिङ र चिकित्सकको विभिन्न कोर्स सञ्चालनमा ल्याउनेछ ।

      अस्पतालको ५७औँ वार्षिकोत्सवको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले स्मारिका अनावरण गरेर गरेका थिए । उत्तर दक्षिण अन्तर्राष्ट्रिय मार्गको रूपमा विकास भइरहेको गल्छी–त्रिशूली सडकमार्ग, बढ्दो सहरी क्षेत्र र तीन जिल्लाका नागरिकले सेवा उपलब्ध गराउँदै आएको त्रिशूली अस्पताल अब गन्तव्य अस्पतालको रूपमा विकास गर्नुपर्ने मेयर पण्डितले बताए । यसभन्दा अगाडि पनि नगरपालिकाले विकास निर्माण र विपत् व्यवस्थापनको बजेट अस्पताललाई उपलब्ध गराउँदै उपकरण खरिद र गुणस्तरीय सेवा प्रवाहमा सहजीकरण गर्दै आएको छ । त्रिशूली अस्पतालले स्थापना दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट भएकालाई पुरस्कार वितरण गरेको छ । त्रिशूली अस्पतालले ३० वर्ष अवधिसम्म सेवा गरेकालाई दीर्घसेवा सम्मानसमेत गरेको छ । दीर्घसेवा सम्मानबाट सम्मानित हुनेमा रविदास श्रेष्ठ, सञ्जु शाक्य, विद्यादेवी रञ्जित, अच्युतानन्द वैद्य, शिवप्रसाद अर्याल, कुलबहादुर तामाङ, सन्तबहादुर तामाङ, चमेली मिजार र माइली प्रजापति रहेका छन् । उनीहरूलाई अस्पतालले दीर्घसेवा पदकसहित कदरपत्रले सम्मान गरेको थियो ।

     सो अवसरमा वर्षको उत्कृष्ट कर्मचारी डा. रिमा खड्का एनेस्थेसियोलोजिस्टलाई घोषणा गरी सम्मान गरिएको थियो । अस्पतालले एक चिकित्सक, एक स्वास्थ्य संस्था लागू गरेको छ । अब अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीले निजी अस्पतालमा काम गर्न पाउनेछैनन् । अस्पतालले फार्मेसीबाट बिक्री हुने औषधिमा न्यूनतम मार्जिन राख्ने घोषणा गर्दै अस्पतालबाट बिक्री हुने औषधि बाहिरको भन्दा २०–२५ प्रतिशत सस्तो हुनेछ । अस्पतालमा ग्यास्ट्रिकको एक पाता औषधिको ४० रुपैयाँमा पाउने भएको छ । यही औषधि बाहिर खरिद गर्दा ७५ रुपैयाँभन्दा बढी पर्छ ।