जिल्लामा कुनै पनि कामका लागि दबाब आए सबैसँग सहमति, सहकार्य गरेर अगाडि बढेको छु

  • त्रिशूली प्रवाह
  • १४ श्रावण २०७८, बिहीबार १३:४६

 

ईश्वरीप्रसाद ढकाल
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय, रसुवा

बागमती प्रदेशको हिमाली जिल्ला रसुवामा ०७७ साल फागुन १७ गतेदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी ईश्वरीप्रसाद ढकालले सम्हालिरहनुभएको छ । बाल्यकालदेखि नै शान्त, सरल र मिजासिलो स्वभावका ढकाल ०५७ साल साउन १ गतेबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । महिला विकास विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, निर्वाचन कार्यालय मनाङ, पर्यटन विभाग, बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोकको निर्वाचन अधिकृत, पञ्जीकरण तथा राष्ट्रिय परिचयपत्र विभाग, सङ्घीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालय, लगानी बोर्डको कार्यालय, गृह मन्त्रालय हुँदै हाल जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारीको रूपमा ढकाल कार्यरत हुनुहुन्छ । जिल्लाको प्रमुख प्रशासकको रूपमा नेतृत्व सम्हालिरहनुभएका ढकाल २०३७ साल मङ्सिर १६ गते स्याङ्जाको पुतलीबजार नगरपालिका ठूलो पँधेरामा स्वर्गीय बुबा नवदत्त ढकाल र आमा हरिकला ढकालको कोखबाट जन्मनुभएको थियो । उहाँ हाल काठमाडौंको नागार्जुन नगरपालिका-१ मा बसोवास गर्दै आउनुभएको छ । रसुवाको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालसँग त्रिशूली प्रवाह साप्ताहिकका लागि सरस्वती न्यौपानेले गर्नुभएको समसामयिक विषयको कुराकानीको सारसाङ्क्षेप :

भौगोलिक हिसाबले हिमाली जिल्ला रसुवामा पहिलोपटक आउँदा कस्तो अनुभव भयो ?
ठाउँ, स्वच्छ हावापानी, कर्मचारी, सेवाग्राही, राजनीतिक दल, गाउँपालिका, नागरिक समाज, पत्रकार सबैजनासँग सहसम्बन्धका कारण काम गर्न सजिलो महसुस भइरहेको छ ।

निजामती सेवामा कति वर्ष बिताउनुभयो ?
करिब २१ वर्ष भयो ।

कोरोना महामारीबाट जिल्लावासीलाई बचाउन के-कस्ता कार्य गर्नुभयो ?
म आउँदा कोरोना रसुवामा सामान्य हुँदै थियोे । गत वैशाखको दोस्रो र तेस्रो हप्ताबाट सङ्क्रमितको दर बिस्तारै बढ्दै गयो र अहिले कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो छ । कोभिड– १९ को सिलसिलामा नेपाल सरकारबाट भएका निर्देशन र परिपत्रको कार्यान्वयन गर्ने जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)को नियमित बैठक बसी सर्वपक्षीय सहमतिमा निषेधाज्ञा जारी गर्ने सबै गाउँपालिकामा नियमित सम्पर्कमा रही आवश्यकतानुसार समन्वय र सहकार्य गरी स्वास्थ्य मापदण्डलाई स्वतस्फुर्त नियमको पालना गराइरहेका छौँ । कोरोनाका सङ्क्रमितलाई उपचारका लागि आइसोलेसन, क्वारेन्टिनको व्यवस्था गरिएको छ । क्वारेन्टिन र आइसोलेसनमा निको नभएका बिरामीलाई उपचारका लागि स्थानीय पालिकासँग समन्वय गरेर काठमाडौंसम्म पठाउने व्यवस्था मिलाएका छौँ । कोरोना सङ्क्रमित बन्न नदिन सचेतनामूलक कार्यक्रम, पिसिआर र एन्टिजेन परीक्षणलाई प्राथमिकता दिएका छौँ । कोरोनाको खोप लगाउने कार्य थालिसकेका छौँ । जिल्लावासीले कोरोनाको उपचार पाइएन भन्ने अवस्था छैन ।

बर्खा लागेपछि रसुवाको सबैभन्दा ठूलो समस्या सडक अवरुद्ध हो । तपाईं आइसकेपछि यो पाँच महिनाको अवधिमा सडकमार्गमा के-कस्ता सुधार भए ?
भौगोलिक अवस्थाका कारण सडक मार्गमा वर्षाको समयमा सोच्दै नसोचेको समस्या आइरहन्छन् । तसर्थ हामीले सडक डिभिजन कार्यालय नुवाकोट, जिल्लामा सञ्चालित हाइड्रोपावर परियोजना र स्थानीय तहसँग समन्वय गरेर सडकमार्ग सुचारु गराउन जनशक्ति र उपकरण तयारी अवस्थामा राखेका छौँ । आजको मितिसम्म सडकमार्ग खासै अवरोध भएको छैन । यो वर्ष छिटो मनसुन सुरु भयो । विगतको भन्दा धेरै वर्षा भएको छ । कुनै पनि बेला सडकमार्गमा पहिरो जान सक्ने भएकाले सडक अवरोध हुने समस्या समाधान गर्न हामी २४सै घन्टा तयारी अवस्थामा रहेका छौँ । हाल मूलखर्क, सानोभार्खु र स्याफ्रुबेंसी, लिङलिङजस्ता ठाउँमा दिनहँु साना-ठूला पहिरो गइरहने र लेदो बगिरहने भएकाले केही जटिल भए तापनि समग्र सडक सुचारु गर्न सकेका छौँ । गत आवमा जिल्लाभित्रको सडक स्तरोन्नतिको काम धेरैजसो भए पनि केही कार्य कोरोनाको कारण नहुँदा सडकको अवस्था केही ठाउँमा बिग्रिएको छ । जिल्लाभित्र प्रवेश गर्ने सडक अवरुद्ध हुँदा त्रिदेशीय मार्ग भएकाले पनि यसको राष्ट्रिय स्तरमा चर्चा हुने गर्दछ । बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेंसी, रसुवागढी सडक राष्ट्रिय राजमार्ग भएकाले यसलाई नियमित सुचारु गराउन सरोकारवालासँग समन्वय गरिरहेको छु ।

जिल्लामा पाँचवटा स्थानीय तहसँग तपाईंको कस्तो सम्बन्ध छ ?
उहाँहरूसँग कार्यगत सम्बन्ध सुमधुर छ । कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि पालिका प्रमुखसँग छलफल र समन्वय भइरहेको छ । हामी हप्ताको एकपटक र विशेष अवस्थामा आवश्यकताअनुसार समन्वय र सम्पर्क गरिरहेका छौँ ।

प्रशासनिक काममा तपाईं आइसकेपछि के-कस्ता सुधारात्मक काम भए ?
सुधार भनेको सेवाग्राहीले, सरोकारवालाले अनुभूति गर्ने विषय हो । हामी कुनै पनि काम भोलि भन्दैनौँ, हरेक विषय समन्वयात्मक तवरले सम्पादन गर्ने बानीको विकास गरेका छौँ । सेवाग्राहीले प्रशासनबाट कुनै समस्या व्यहोर्नुपरेको छैन । जिल्लामा रहेका सबै कार्यालयलाई सेवाग्राहीको काम नियमानुसार प्रक्रिया पु¥याएर छिटो, छरितो गरिदिन निर्देशन दिएका छौँ । सेवाग्राहीको गुनासो आएको छैन । त्यसैले सरकारी कार्यालयबाट प्रदान गरिने सेवा छिटो, छरितो र सहज भएको जानकारी पाएको छु । बेलाबेलामा प्रशासनले अनुगमनसमेत गर्ने गरेको छ ।

रसुवा जिल्लाको शान्तिसुरक्षाको अवस्था कस्तो रहेको छ ?
शान्तिसुरक्षाको अवस्था सामान्य नै छ । झै-झगडा खासै छैन । राजनीतिक दलहरूले सहयोग गरिरहनुभएको छ ।

काम गर्दा दबाबको महसुस गर्नुभएको छ कि छैन ?
काम गर्दै जाँदा दबाब, अनुरोध आइरहन्छ । त्यसलाई मैले सहज रूपमा लिएको छु । नियम, कानुनले मिल्ने काम गरिदिएको छु, नियम, कानुनले नमिल्ने काम हुँदैन भनेर पठाइदिने गरेको छु । दबाब आउँदैमा डराउनुहुँदैन । केको लागि किन दबाब दिएको हो सूक्ष्म रूपले अध्ययन गर्ने र यथार्थ बताएपछि दबाब दिनेहरूले बुझ्ने गरेका छन् । दबाब दिनेहरूबाटै पछि यथार्थ बुझेपछि सहयोगसमेत गरेको मसँग धेरै केसहरू छन् ।

जागिरे जीवनमा भ्रमण गर्नुभएको देश र पाउनुभएको सम्मान छ कि ?
अन्तर्राष्ट्रिय व्यापार विषयमा मास्टर डिग्री अध्ययनको सिलसिलामा भारत, चीन, थाइल्यान्ड, हङकङ, मकाउ, जापान, कोरिया, इन्डोनेसिया, सिंगापुर, कतार, नेदरल्यान्ड, इटाली, स्विजरल्यान्ड, लन्डन र अमेरिकाको भ्रमण गर्ने मौका विगतमा पाएको थिएँ । जागिरे जीवनको यस अवधिमा साथै, सम्माननीय राष्ट्रपतिज्यूबाट प्रबल जनसेवा श्री चतुर्थ मानपदवीबाट सम्मानित हुने अवसर पाएको छु ।

अन्त्यमा, जागिरबाट सन्तुष्ट हुनुहुन्छ ?
सेवा नै धर्म हो । सेवा गरेर जनताको अनुहारमा खुसी भएको चमक देख्न पाइने, सरकारको नीति र कानुनको कार्यान्वयन गरेर नतिजा हासिल गर्न सकिने, सरकार र जनताप्रति बफादारी भई कर्तव्य पालना गर्नुपर्ने भएकाले आफ्नो पेसाप्रति म पूर्ण सन्तुष्ट छु ।