+
Search

ताजा अपडेट +

पपुलर +

शिव प्रसन्न हुने महिना साउन र गोसाइँकुण्ड

त्रिशूली प्रवाह
५ साल अगाडी
  • सरस्वती न्यौपाने

साउनमा विभिन्न धार्मिक अनुष्ठान गरी पूजा र व्रत बस्ने चलन छ । सनातन धर्मावलम्बी (हिन्दू), बौद्ध र प्रकृतिपूजक सबैको साउनसँग गाढा सम्बन्ध जोडिएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

      विभिन्न धार्मिक र सामाजिक प्रथा प्रचलनमा साउन महिनाको महत्व अन्य एघार महिनाको भन्दा पृथक् रहेको छ । चन्द्रमासको गणना पदति र तीन-तीन वर्षमा पर्ने मलमासले भदौमा पर्ने केही पर्व असार र साउनमा पनि पर्ने गरेको छ । दिन गणनाको हिसाबले चार महिना हुने भएकाले यसलाई चतुर्मास भनिन्छ । चतुर्माससम्म खानपानमा विशेष ध्यान पु¥याई व्रत, पूजा गर्ने भक्तजनलाई आध्यात्मिक र भौतिक लाभ हुने विश्वास परापूर्वकालदेखि रहिरहेको छ । असार शुक्ल पक्षको एकादशीदेखि कार्तिक शुक्ल पक्षको एकादशीसम्म विष्णु भगवान् शेषनागमाथि सुत्ने भएकाले वैष्णवका लागि यो चार महिना विशेष मानिन्छन् । यो महिनामध्ये पनि व्रत, होम, पूजा गर्न साउनलाई सर्वोत्तम मानिन्छ । विष्णु र शिव दुवैलाई प्रसन्न पार्न हिन्दू भक्तजनले विविध पूजा, व्रत, अनुष्ठान र दान-पुन्य गर्ने महिना साउन हो ।

      परापूर्वकालमा देवता र मानवबीच युद्ध भई समुद्र मन्थन गर्दा निस्केको कालकुट नामक विषले सारा जगत्लाई नै नोक्सान हुन लागेपछि यसबाट सम्पूर्णलाई छुटकारा दिलाउन भगवान् शिवलाई हारगुहार गरे । भगवान् शिवले विषबाट बचाउन आफैँले विष निलेपछि घाँटीमा अड्कियो, त्यसलाई शान्त पार्न शीतल खोज्दै हिमालय पर्वत क्षेत्र गोसाइँकुण्डतर्फ आएकाले साउनमा भगवान् शिवजी गोसाइँकुण्डमा रहन्छन् भन्ने विश्वास हिन्दू र बौद्ध धर्मावलम्बीले गर्ने गरेका छन् । त्यही विश्वासमा रसुवाको गोसाइँकुण्डमा हरेक वर्ष पुग्नेको सङ्ख्या बढिरहेको छ । ०७२ को भूकम्पपछि गोसाइँकुण्ड जानेको सङ्ख्या घटिरहेको थियो । गत वर्षको कोरोनाको कारणले गर्दा गोसाइँकुण्ड आवत-जावत शून्य नै भयो । रसुवाको धैबुङकोट कालिकामाई मन्दिरमा आई विश्राम लिने क्रममा भगवान् शिवले शिरमा बोकेर हिँड्ने महाकाली देवीलाई स्थापना गरी गोसाइँकुण्ड गएको जनविश्वास रहेको छ । पछि सोही स्थानमा कालिका मन्दिर निर्माण गरी पूजा गर्न थाले । त्यस क्षेत्र अहिले कालिकास्थानको नामले प्रसिद्ध स्थल बनेको छ ।

      शिव भगवान् विषले आकुल-व्याकुल भएर हालको गोसाइँकुण्डमा रहेको ठाउँमा गई पानीको अभावमा काकाकुल भइरहँदा त्रिशूलले ढुङ्गाको पहरोमा हानेपछि पानी निस्कियो । त्यसपछि त्रिशूलधारा भनी नामकरण गरियो । त्रिशूलधाराबाट बगेर बनेको पोखरीमा शिव डुबुल्की मारेर विराजमान हुनुभएको हिमवतखण्डमा उल्लेख छ । लम्बाइ र चौडाइ तीन सय ७० मिटर रहेको गोसाइँकुण्डबाट बगेको त्रिशूली नदीको धार्मिक महत्व रहेकाले गोसाइँकुण्ड पुग्न नसक्नेहरू त्रिशूली नदीमा स्नान गरेरसमेत धार्मिक लाभ प्राप्त हुने विश्वास रहेकाले त्रिशूली नदीको सिरानदेखि पुछारसम्म महत्वपूर्ण मानिन्छ । भगवान्को पनि भगवान् शिवको वासस्थानको रूपमा रहेको यस कुण्डमा नुहाएमा पापबाट मुक्ति मिल्ने मनोकाङ्क्षा पूरा हुने विश्वास रहिरहेको छ । कुण्डमा वर्षको विशेष गरी गंगा दशहरामा र जनैपूर्णिमामा मेला लाग्ने गरेको छ । तर, आजभोलि बाह्रै महिना भक्तजन आउने गरेको स्थानीय बताउँछन् । गत वर्षदेखि कोरोना भाइरसको कारण सिर्जित महामारीको कारण मानिसको आवत-जावत ठप्पै छ ।

      नेपालका विभिन्न जिल्लालगायत भारतबाट समेत लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने कुण्डमा ठूला–ठूला ढुङ्गामा विभिन्न आकृति देखिन्छ । गोसाइँकुण्ड पदमार्गमा सरस्वतीकुण्ड, भैरवकुण्डपछि गोसाइँकुण्ड पर्दछ । भैरवकुण्डमा भने भक्तजन दर्शन गर्न, जान नहुने मान्यता रहेको छ । टाढाबाट हेर्दा कालो देखिने यो कुण्ड सायद निकै गहिरो भएको कारण कालो देखिएको हुनुपर्छ । तर, यहाँ आजसम्म कोही पनि जाने गरेको पाइँदैन । गोसाइँकुण्डको वरिपरि रहेको एक सय आठवटा कुण्डमध्ये गोसाइँकुण्ड नै सबैभन्दा ठूलो कुण्ड हो । यसरी गोसाइँकुण्ड र कालिकास्थानको महिमा युगौँदेखि एक–आपसमा जोडिँदै आएको छ । धार्मिक मान्यतानुसार गोसाइँकुण्ड यात्रामा जाने क्रममा बाटैमा पर्ने कालिकामाईको दर्शन गरी गोसाइँकुण्ड (गोसाइँनाथ) जाँदा यात्रा सहज हुने र भगवान् शिव खुसी हुने विश्वास जनमानसमा रहिरहेको छ । धार्मिक आस्थाको केन्द्र गोसाइँकुण्ड समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटर अर्थात् १४ हजार फिटको उचाइमा रहेको छ । गोसाइँकुण्ड नेपालको दोस्रो ठूलो पदमार्गअन्तर्गत पर्दछ ।

       धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थी यस क्षेत्रमा अध्ययन तथा अन्वेषणका लागि पुग्ने गर्दछन् । आफूलाई बाघको डमरू भनी अङ्ग्रेजलाई थरथर बनाउने नेपालका राष्ट्रिय विभूति श्री अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाइँकुण्डमै आएर गरेका थिए । त्यसैले गोसाइँकुण्डमा अहिले राष्ट्रिय विभूति अमरसिंह थापाले वास बसेको स्थानमा उनको सालिक बनाइएको छ । यसैकारण स्वदेशी तथा विदेशी पर्यटक धार्मिक एवम् प्राकृतिक सौन्दर्य र प्रकृतिलाई नजिकबाट नियालेर यससँग लुकामारी खेल्न रुचाउनेहरू यस क्षेत्रमा पुग्ने गरेका छन् । गोसाइँकुण्ड क्षेत्रमा तामाङ समुदायको बसोवास रहेको छ । तामाङ समुदायको वेशभूषा, रहन-सहन र संस्कृति यस क्षेत्रको अर्को आकर्षणको केन्द्र हो । तामाङ संस्कृतिअनुसार गोसाइँकुण्ड मेलामा विभिन्न लामा, झाँक्री, नाच तथा तामाङ सेलो नृत्यसमेत प्रदर्शन हुने गरेको छ । तामाङ धर्म, संस्कृतिको अनुपम नमुना रहेको यस क्षेत्रको चर्चा-परिचर्चा दिन प्रतिदिन बढ्दो क्रममा छ । तामाङमा पनि गोले थरका भने गोसाइँकुण्डमा जाँदैनन् । परापूर्वकालमा गोले थर भएका दुईजना झाँक्रीका बुढाबुढी गोसाइँकुण्ड गएछन् । पहिले बाटोमा भैरवकुण्ड आउँछ । यस कुण्डमा म पस्छु, तिमी ठ्याङ्ग्रो बजाएर बस, म बाहिर आएपछि अक्षता छर्किनु भनेछन् । बुढीले हुन्छ भनेपछि झाँक्री कुण्डमा पस्यो र नागले बेरिएको अवस्थामा बाहिर निस्केपछि त बुढी आत्तिएर बजाइरहेको ठ्याङ्ग्रो बजाउन छोडेर अक्षता छर्किन बिर्सिछिन् । त्यसपछि झाँक्रीलाई नागले कुण्डमा नै तानेको भएर गोले थर भएका तामाङ समुदाय अहिले गोसाइँकुण्ड जाँदैनन् ।

        साउने सोमबारका दिन व्रत बसेर शिवलिङ्गमा जल चढाउँदा प्राप्त हुने पुन्यबारे शास्त्रमा विस्तृत वर्णन छ । वैदिक परम्परामा शाकाहारी भोजनलाई सर्वोत्तम मानिएको छ । पूर्ण शाकाहारी हुन नसके साउनमा मात्रै माछामासु नखाँदा पनि पुन्य प्राप्त हुने कुरा हिन्दूशास्त्रमा उल्लेख छ । साउनमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा जाने भएकाले दान÷पुन्य गर्न उत्तम मानिन्छ । अशुतोष शिवलाई छिटो प्रसन्न पार्ने महिना पनि हो साउन । यो महिनाको सोमबारलाई विभिन्न धार्मिक कारणले विशेष मानिन्छ । परोपकारी शिव भगवान्ले सम्पूर्ण प्राणीको कल्याणका लागि कालकुट विष पान गरेपछि उनलाई भएको छटपटीको वर्णन पुराणमा पाइन्छ । समुद्र मन्थनबाट निस्केको विषलाई व्यवस्थापन गर्न शिवले जुन कदम चाले त्यो सर्वसाधारणले कल्पना गर्न सक्ने विषय होइन । हिमाली क्षेत्रमा शिवले त्रिशूल गाडेर निस्केको जलधाराबाट बनेको त्रिशूली नदीको जलको विशेष महत्व छ । त्यसैले त्रिशूलबाट निस्केको जल कुण्डमा जम्मा भएर बनेको गोसाइँकुण्डको धार्मिक महत्व साउनमा अधिक छ । गोसाइँकुण्डको चिसो जल बगेर ललितपुरको पाटन कुम्भेश्वर मन्दिरको एउटा सानो कुण्डमा आउने विश्वासले जनैपूर्णिमामा कुम्भेश्वरमा ठूलो मेला लाग्दछ । जनैपूर्णिमाको अघिल्लो दिन शिवजी पनि गोसाइँकुण्ड जाने विश्वासमा पशुपतिनाथको मन्दिरको ढोका बन्द रहन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह