प्रचार-प्रसार नहुँदा नागथली गुमनाम

  • त्रिशूली प्रवाह
  • ५ मंसिर २०७८, आईतवार १२:११
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको साबिकको थुमन गाविस-६ हालको गोसाइँकुण्ड गाउँपालिका-१ मा पर्ने रमणीय नागथली धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनको सम्भावना हुँदाहुँदै पनि सडक पूर्वाधार नहुँदा पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुन सकेको छैन । धार्मिक तथा पर्यटकीय महत्वको नागथलीको प्रचार-प्रसार र प्रवद्र्धन हुन नसक्दा जिल्लावासीका लागि समेत गुमनाम भइरहेको छ ।

तीन हजार एक सय ६५ मिटरको उचाइमा रहेको नागथली थुमनबाट दुई घन्टाको उकालो चढेपछि पुगिने यो स्थान चिलिमेको तातोपानी गोङगाङबाट डेढ घन्टाको उकालो चढेपछि पुग्न सकिन्छ । नागथली पुग्ने जोकोहीले पनि स्वर्गकै टुक्राको रूपमा नागथलीको वर्णन गर्छन् । ०७२ को भूकम्पअगाडि दुईवटा मात्र होटेल रहेको नागथलीमा अहिले आठवटाभन्दा बढी व्यवस्थित सुविधासम्पन्न होटेल सञ्चालनमा रहेका छन् । नागथली पुगिसकेपछि चारैतिर हिमाल, हरियाली वातावरण, चौँरीगाईको बथान, चौँरी गोठले झनै मनमोहक बनाउने रसुवा-नुवाकोट पर्यटन समाजका उपाध्यक्ष एवम् ट्रेकिङ व्यवसायी शिव लामिछानेले बताए । मरेपछि स्वर्गमा पुगिन्छ भन्ने उखान त्यहाँ पुगेपछि जिउँदै स्वर्ग देखिने नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् । नागथली नागको आकारमा रहेको छ । जिन्दगीमा एकपटक पुग्नैपर्ने ठाउँ भएकाले त्यहाँ पुगेपछि फर्कन मन नलाग्ने पथपर्दशकहरू बताउँछन् । तामाङ सम्पदा मार्गमा पर्ने नागथलीमा थुमनवासीले सामूहिक रूपमा बर्सेनि नागथली गुम्बाको पूजा गर्दै आएका छन् । यस स्थानमा परापूव कालमा गुरु रिम्पोछेले तपस्या गर्न आएको र गुम्बासमेत बनाएको जनविश्वास रहेको छ । भूकम्पले भत्काएको गुम्बा र गुरु रिम्पोछेको मूर्ति स्थानीयको सक्रियतामा अहिले पुनर्निर्माण भइरहेको छ ।

नागथलीभन्दा माथि तारुच्छे भन्ने ठाउँ तीन हजार आठ सय मिटर हाइटमा रहेको छ । उक्त स्थानबाट गणेश, लाङटाङ, चीनको केरुङ, गोसाइँकुण्ड हिमाल, चीनको तिब्बत गाउँसमेत देख्न सकिन्छ । नागथलीबाट आघा घन्टाको बाटो हिँडेपछि सरस्वती कुण्ड पुगिन्छ । नागथली जाने सडकमार्गका लागि समेत सम्बन्धित निकायमा पहल स्थानीयले गरिरहेका छन् ।