अन्तर्वार्ता: म एकपटक नुवाकोटबाटै चुनाव लड्छु

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार ०८:२३

डा. प्रकाशचन्द्र लोहनी
पूर्वअर्थमन्त्री एवम् राप्रपा नेता

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
पार्टीको महाधिवेशन सकिएको छ । महाधिवेशनले राजनीतिक प्रस्ताव पारित गरेको छ । आर्थिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनले म्यान्डेड पनि निर्धारण गरेको छ । सबैभन्दा महत्वपूर्ण राप्रपामा पुस्तान्तरण गरेको छ । यसलाई आमनेपाली जनताले स्वागत र रुचाएका छन् । यो जनताको सद्भावलाई बोकेर अगाडि बढ्ने प्रजातान्त्रिक राष्ट्रवादी शक्तिको रूपमा पार्टीलाई अगाडि बढाउने नयाँ नेतृत्वको जिम्मेवारी छ । नेतृत्वलाई सल्लाह, सुझाव र सहयोग गरिरहेको छु ।

पुस्तान्तरण त भयो तर राप्रपा अझै एक भएको सन्देश दिन सकेन नि ?
त्यो आशङ्का नेपालमा राजनीतिक पार्टी फुट त भइरहेका छन् । नेकपाजस्तो पार्टी त टुटफुट भएर तीन टुक्रा भयो । तर, राप्रपाको यसपालिको अधिवेशनबाट कार्यकर्ता यो पार्टीलाई एक भएको देख्न चाहन्छन् । नेतामा पनि तीनवटा पार्टी एक हुने बेलादेखि नै जुन किसिमको प्रतिबद्धता सुरु भएको छ, गीता छोएर भएको एकता सितिमिति टुट्लाजस्तो लाग्दैन ।

राप्रपाको कार्यकारी पदमा हुनुहुन्न नि, बिदा लिनुभएको हो ?
म राष्ट्रिय प्रजातन्त्र पार्टीमा छु । म केन्द्रिय कमिटी सदस्य छु । राप्रपा पार्टीमा सक्रिय रूपमा पार्टीलाई बलियो बनाउन, विस्तार गर्न, दृष्टिकोण सिद्धान्तलाई जनतामाझ लैजान सक्रिय रूपमा लागिरहनेछु । पार्टीले मलाई जेमा जिम्मा लगाउँछ, काम गर भनेर भन्छ त्यो काम गर्न म तयार छु । त्यसमा म आफू पछाडि हट्ने छैन ।

राप्रपाको हिन्दूराज्य र राजसंस्था फर्काउने उद्देश्य सम्भव देख्नुहुन्छ ?
समाज परिवर्तनशील छ । मान्छेको राजनीतिक चेतना बढेर गएको छ । यस्तो गतिशील समाजमा सामान्यतया दुई किसिमको शक्ति निस्कन्छन् । एउटा धु्रवीकरण गर्ने शक्ति र एउटा एकीकरण गर्ने शक्ति । बुद्धिमानी त्यही हुन्छ कि धु्रवीकरण गर्ने शक्तिलाई न्यूनीकरण गर्दै जाने र एकीकरण गर्ने शक्तिलाई उपयोग गर्ने र नयाँ एकीकरणको अध्याय सुरु गर्ने । यो दृष्टिकोणले हेर्दा नेपालमा राजसंस्था (मैले सक्रिय राजसंस्था भनेको छैन) जोड्ने शक्तिको रूपमा कायम गर्न सकिन्छ । जस्तो बेलायतमा गरिएको छ । भुटानमा, जापानमा, डेनमार्कमा गरिएको छ । आजका विकसित मुलुकमा राजसंस्थालाई रहरले राखिएको त नहोला । त्यो देशको एकता, सुरक्षा, मनोवैज्ञानिक सुरक्षामा अनुभूति दिन्छ भनेर नै राखेको होला । जनतालाई जोड्छ भनेर नै राखिएको होला । त्यसकारण नेपालमा पनि राजसंस्थाले नेपाली जनतालाई जोड्ने क्षमता राख्छ । यो संस्थाप्रति हिमाल, पहाड, मधेसमा जहाँ–कहीँ गए पनि सम्मान छ । त्यसैले यसलाई आधिकारिक रूपमा भए पनि संस्थालाई राख्नुपर्ने नेपालको भूराजनीतिक आजको समयमा आवश्यक छ । यसलाई शासन गर्नेभन्दा पनि जोड्ने शक्तिको रूपमा हामीले स्थापित गर्न खोजेको हो । ०७२ को संविधानले यो यथार्थलाई बुझ्न सकेन । विदेशीको स्वार्थले लादिएको जुन राजसंस्था हटाउने प्रावधान थियो त्यो प्रावधानलाई स्वीकार गर्ने ठूलो गल्ती त्यसबेलाका प्रमुख राजनीतिक दलहरूले गरे, त्यसलाई सच्याउनुपर्छ । यो संसारमा असम्भव भन्ने केही छैन ।

आलङ्कारिक राजसंस्था ल्याउन कति समय लाग्ला ?
कति समय लाग्छ भनेर ज्योतिषीको जस्तो भन्न सकिँदैन । यो १०–१२ को वर्षमा राष्ट्रप्रमुख भनेको निष्पक्ष हुन सक्दो रहेनछ, राष्ट्रप्रमुख पार्टीको स्वार्थमा काम गर्ने रहेछ । नेपालमा जति पनि राष्ट्रप्रमुख भएका छन् पार्टीका खेलौनाका रूपमा प्रयोग भएका छन् । राष्ट्रप्रमुखको रूपमा पार्टीका स्वार्थभन्दा माथि उठ्ने र सबैले सम्मान गर्ने ठाउँमा कार्यकारी अधिकार प्रयोग गर्न नसक्ने संस्था चाहिँदोरहेछ, त्यो संस्था भनेको राजसंस्था हो भन्नेमा आमजनतामा विश्वास बढ्दै गएको छ । आमनेपाली जनताको राजसंस्था चाहना बनेको छ । कुन रूपमा प्रस्फुटित हुन्छ त्यो भन्न सकिँदैन । तर, नेपालमा ढिलो–चाँडो राजसंस्था आउँछ ।

राप्रपाको चुनावी एजेन्डा पनि राजसंस्था ल्याउने नै बन्छ ?
त्यो हाम्रो एजेन्डा सधैँ हो । पहिलेदेखि नै नेपालमा राजसंस्था हुनुपर्छ भनेका छौँ । नेपाली जनतालाई जोड्ने संस्थाको रूपमा प्रयोग गर्नुपर्छ । नेपालको पहिचान सनातन हिन्दू राज्य हुनुपर्छ । नेपालको पहिँचान संस्कृति, सभ्यता हिन्दू राज्यअनुपम संगम भएको यो सभ्यता यो पहिचानलाई छोड्नुहुन्न । किनभने धर्मले पनि हामीलाई जोड्छ । पहाड, हिमाल, मधेसलाई यो संस्कृतिले जोड्छ । नेपाली जनताको सम्पत्तिमा लुट हुँदा हेर्ने–बोल्ने कोही छैन । कार्यकारीले गरेको भ्रष्टाचार हेर्ने संवैधानिक निकाय पनि निकम्मा बनेको छ । नेपालमा माफियाको रजाइँ होला भन्ने डर छ ।

कमल थापाविनाको राप्रपा कसरी अघि बढ्ला ?
योबिनाको ऊबिनाको भन्ने छैन, राप्रपामा सबै चाहिन्छ । सबै मिलेर यो पार्टी बनाउने हो ।

यसपटक राजेन्द्र लिङ्देनलाई बोक्नुभयो, सफल पनि हुनुभयो है ?
मैले आजभन्दा चार–पाँच महिनाअघि नै भनेको थिएँ । नयाँ पुस्तालाई नेतृत्व दिन पनि तयार बन्नुपर्छ भनेर । मैले जे बोलेको थिएँ व्यवहारमा उतारेको मात्र हो । ३० वर्षअघि विद्यार्थीदेखि लागेको मान्छे हो राजेन्द्र लिङ्देन । नयाँ नेतृत्वले राप्रपालाई अगाडि लैजान्छ ।

राप्रपा अन्य कुनै दलसँग एकता गरेर जान्छ कि एक्लै चुनावमा जान्छ ?
कुनै न कुनै रूपमा कुनै पार्टीसँग कार्यगत एकता हुन सक्ला ।

नुवाकोटमा राप्रपाको स्थिति के छ ?
सबै गाउँपालिकामा हाम्रो सङ्गठन बनेको छ । मान्छेमा एउटा उत्साह छ । अब राप्रपाले नुवाकोटलाई फेरि नेतृत्व दिन सक्यो भने एकपटक विकासको लहर छाउँछ ।

तपाईं आफैँ चुनाव लड्नुहुन्छ कि ?
म फेरि एकपटक नुवाकोटमै चुनाव लड्छु । मैले नुवाकोटमा एक चरणमा विकासको अभियान सुरु गरेको थिएँ, अब दोस्रो चरणमा सुरु गर्छु । विगतका अधुरा काम पूरा गर्छु ।

के बाँकी छ तपाईंको विकासे अभियान ?
नुवाकोटको अर्थतन्त्रलाई काठमाडौंसँग जोड्ने नयाँ अभियान सुरु गर्नु छ । सुरुङमार्गमार्फत आधा घन्टामा नुवाकोट–काठमाडौं आवागमन सुरु गरेर, सहरी अर्थतन्त्रसँग जोड्नु छ । नुवाकोटलाई पहाडी औद्योगिक केन्द्रको रूपमा विकास गर्नुपर्छ । चिनियाँ पुँजी र प्रविधि भित्र्याएर अर्थतन्त्रसँग जोड्नु छ । निर्यात गर्नमा केन्द्रित हुनुपर्नेछ । अहिले चीनबाट एकलौटी सामान आउँछ, ट्रक रित्तै फर्किन्छ । औद्योगिक जिल्लाको रूपमा नुवाकोटलाई विकास गर्नुपर्छ । कृषिमा ठूला सम्भावना छ । म अर्थमन्त्री हुँदा पिपलटार सिँचाइ आयोजना अघि बढाएको थिएँ । पछि आएका नवक्रान्तिकारीले त्यसलाई अघि बढाएनन् । म ०५९ सालमा अर्थमन्त्री हुँदा कृषि उत्पादनका लागि नुवाकोटमा माटो परीक्षण गराएको थिएँ । त्यतिबेलै मैले तादी गाउँपालिकामा र किम्ताङमा चिया खेती सुरु गरेको थिएँ । ककनीमा चिया विकासको अफिस नै खडा गरेको थिएँ । अहिले पनि किम्ताङमा चिया निरन्तर चलिरहेको छ । चिया प्रशोधन गर्नुपर्ने आवश्यकता अहिले छ ।