माक्र्सवादी दर्शनभित्र समाजवादी चिन्तन

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार ०९:१७


– रामलाल श्रेष्ठ

People are fulfilled when they produce something of their own that they can relate to and recognise in the world. Alienation is a situation in which the creation of man appears to him as alien objects.

 Karl marx

Economic and Philosophic Manuscripts 1844_


यो पङ्क्ति कार्लमाक्र्सको पेरिस म्यानुस्क्रिप्टबाट उतारिएको हो । कार्लमाक्र्स २६ वर्षको हुँदा पेरिसमा बसेर लेखेको हँुदा यसको नाम पेरिस म्यानुस्क्रिप्ट रहन गयो । यो पुस्तक कार्लमाक्र्स र फ्रेडरिङ ऐंगेल्सको संयुक्त पुस्तक हो । यो पुस्तकबाट नै यी दुईको माक्र्सवादी दर्शनको लेखनको लामो सहयात्रा सुरु भयो ।

पेरिस म्यानुस्क्रिप्ट माक्र्सवादी दर्शनको पहिलो पुस्तक हो । माक्र्सवादी दर्शन बुझ्न यो पुस्तक पढ्नैपर्ने हुन्छ । माक्र्सले युवा अवस्थामा लेखेको हँुदा यसलाई युवा माक्र्सवाद पनि भनिन्छ । माक्र्सवादलाई युवा र प्रौढ माक्र्सवादी दर्शनमा विभाजन गरेर बुझ्ने प्रचलन छ । कम्युनिस्ट मेनुफेस्टो १८४८ प्रकाशित हुनपूर्व लेखिएका माक्र्सवादी विचारलाई युवा माक्र्सवादी दर्शन र कम्युनिस्ट मेनुफेस्टो र त्यसपछि कार्लमाक्र्सले बेलायत बसेर लेखेका अर्थात् सन् १८४८ पछि लेखिएका माक्र्सवादी विचारलाई प्रौढ माक्र्सवादी दर्शन भन्ने गरिन्छ । सन् १८४९ पछि कार्लमाक्र्स लन्डनमै बस्न थाले र ३५ वर्षको लामो निर्वासित जीवन लन्डनमै बिताए र लन्डनमै सन् १८८३ मा कार्लमाक्र्सको देहावसान भयो ।

माक्र्सवादी दर्शनको पहिलो चरण लन्डन पुग्नुअघिको भागलाई जर्मन माक्र्सवादी दर्शन भन्ने गरिन्छ । कम्युनिस्ट मेनुफेस्टो प्रकाशित भइसकेपछि लन्डन बसाइमा लेखिएका पछिल्लो भाग बेलायती माक्र्सवादी दर्शन भन्ने गरिन्छ । माक्र्सवादी दर्शनको पहिलो भाग नबुझी माक्र्सवादी दर्शनको दोस्रो भाग बुझ्न सकिँदैन । माक्र्सवादी दर्शनको पहिलो भाग दार्शनिक पाटो हो भने दोस्रो भाग आर्थिक पाटो हो । दार्शनिक पाटोमा जीवन र जगत्को व्याख्या गरिन्छ भने आर्थिक पाटोमा माल, मुद्रा, पुँजीको व्याख्या गरिन्छ । नेपाली समाजमा माक्र्सवादी दर्शनको पहिलो भागभन्दा दोस्रो भाग बढी कण्ठ गरिएको छ । नेपाली समाजमा माक्र्सवादी दर्शनको उठान नै कम्युनिस्ट मेनुफेस्टोबाट सुरु गरिने चलन छ । जर्मनी वा युवा माक्र्सवादभित्र समाजवादको खोजी यो लेखको प्रमुख उद्देश्य हो ।

माक्र्सवादी दर्शनको माथिको पङ्क्तिमा दुईवटा वाक्य छ । सबभन्दा पहिले पहिलो वाक्यको व्याख्या गरौँ । ‘…People are fulfilled when they produce something of their own that they can relate to and recognise in the world.‘ यो पङ्क्तिमा उल्लेख गरिएका सबै शब्द उत्तिकै महत्वपूर्ण छन् । यसमा उभयउभि भनेको मानिस हो । मानिस एउटा जीवन हो । दर्शनले सबैभन्दा पहिले जीवनको वा मानिसको बारेमा बोल्दछ । दर्शनले मानिसलाई टुक्रा–टुक्रा वा अलग–अलग गरेर हेर्दैन । मानिसलाई अमेरिकी, चिनियाँ, भारतीय, रसियन, नेपाली जस्तो देशैपिच्छे फरक–फरक ढङ्गको हुने भनेर मान्दैन । दर्शनले मानिसलाई विभिन्न जात वा धर्म वा विभिन्न समुदायमा विभाजित गरेर पनि हेर्दैन । दर्शनको आँखाबाट बाहुन, नेवार, वैश्य, शुद्र, गुरुङ, मगर, थकाली, पहाडी, मधेसी, शेर्पा, दमाईं, कामी, ठकुरीजस्ता मानिसलाई जातभातको आधारमा अलग–अलग मानिसको रूपमा पनि देख्दैन । दर्शनले मानिसलाई सम्पन्न र विपन्न भनेर वर्गीय आधारमा विभाजन गरेर पनि हेर्दैन । दर्शनले मानिसलाई तल्लो जात र माथिल्लो जात, दलित, पिछडिएका, बहुसङ्ख्यक, अल्पसङ्ख्यक, हिमाली, पहाडी, मधेसीजस्ता विभिन्न भूगोलमा बस्ने आधारमा अलग–अलग मानिसको रूपमा पनि हेर्दैन । दर्शनले मानिसलाई पुरुष र महिलाको रूपमा पनि छुट्टाछुट्टै मानिस भनेर मान्दैन । दर्शनले संसारभरिका सबै मानिसलाई मानव जाति मानेर मान्दछ । दर्शनले मानिसलाई अन्य जीवझैँ मानव जीवको रूपमा मान्दछ । माक्र्सवादी दर्शनले मानिसलाई मानव जातिको रूपमा संसारभरका जीवझैँ एउटा निश्चित स्वभाव बोकेको प्राकृतिक जीव मान्दछ ।

माक्र्सवादी दर्शनभन्दा अगाडिका दर्शनमा मानिसलाई एउटा जीव नै हो भन्ने मान्यतामा मानिसको बारेमा एकल व्याख्या मात्र थियो । मानिसलाई प्रकृतिका अन्य जीवसँग तुलना गरेर व्याख्या गरिएको थिएन । कार्लमाक्र्सले पहिलोपटक मानिसलाई धर्तीका अन्य जीवसँग तुलना गरेर मानिसको व्याख्या गर्न सुरु गरे । मानिसबाहेक धर्तीका अन्य जीव कस्ता छन् र मानिस कस्तो छ भन्ने व्याख्या गर्दै मानिस र अन्य जीवको सम्बन्ध वा तुलना गरेर एउटा नयाँ दर्शन दिन सफल भए । माक्र्सवादी दर्शन बुझ्न अलि कठिन भएको एउटा कारण यो पनि हो । धर्तीको जीव र मानव जीवको सम्बन्ध वा तुलना नगरी माक्र्सवादी दर्शन बुझिँदैन ।

माक्र्सवादी दर्शनले धर्तीका अन्य जीवलाई एउटा डालोमा राखेका छन् भने मानिसलाई अर्को डालोमा राखेर तुलना वा अन्तरसम्बन्ध देखाउन खोजिएको छ । धर्तीका अन्य सबै जीव उसको जीवनभर सिर्फ एउटा मात्र गतिविधि गरिरहने स्वभावका हुन्छन् । एकभन्दा धेरैखाले गतिविधि गर्न असमर्थ छन् । कुकुरदेखि हात्तीसम्म, भँगेरादेखि गिद्धसम्म सबैखाले जीवले आफ्नो जीवनभर एकैखाले गतिविधि वा काम गरेर जीवन बिताइरहेका हुन्छन् । त्यस्तै, अन्य जीव केवल आफ्ना लागि आफ्नो जीवनरक्षाका लागि मात्र गतिविधि गर्ने गर्दछन् । आफ्नोबाहेक आफ्नो परिवार वा आफ्नै जातको जीवका लागि गतिविधि वा काम गरेर सहयोग गर्ने गर्दैनन् । तर, आफ्नो परिवार वा जातसँग समूहमा बस्ने वा खानपिन गर्ने काम भने गर्दछन् । अन्य जीव एक–आपसको सुखदुःख साट्नेजस्ता गतिविधि पनि मानिसले जस्तो गर्दैनन् । अन्य जीव आफ्नो जीवनमा सधैँभरि आजको आफ्नो जीवन धान्नका लागि खानको खोजीमा हुन्छन् । खाना खाएर पेट भरिसकेपछि आनन्दसँग बस्दछन् । खानामा पनि अन्य जीवले एकैखाले खाना मात्र खाने स्वभावको हुन्छ । गाई, गोरुले बिहान–बेलुका सधैँभरि घाँसपात अर्थात् साकाहारी भोजन मात्र गर्छन् भने कुकुर, बिरालो, बाघजस्ता जीवहरू घाँसपात नखाने मांसहारी भोजन गर्ने प्रकृतिका हुन्छन् । प्रकृतिले धर्तीका प्रत्येक जीवलाई स्थिर वा एकै प्रकारको गतिविधि वा भोजनको व्यवस्था गरिदिएको हुन्छ त्यही नियमभित्र बसेर धर्तीका अन्य जीवले जीवन गुजारा गरिरहेका हुन्छन् । यो धर्ती वा प्रकृतिको नियम नै हो । हामीमध्ये धेरैले धर्तीको कुनै जीवलाई देख्नासाथ यो त यस्तोखाले जीव हो, यसले यस्तो मात्र खान्छ र यसरी बाँच्दछ भनेर सजिलै भन्न सक्दछौँ । यसरी धर्तीका जीवमा आफू बाँच्नको लागि आवश्यक गतिविधि गर्ने जुन क्षमता हुन्छ त्यो क्षमतालाई भाइटल शक्ति भनिन्छ । धर्तीको जीवमा हुने बाँच्नका लागि आवश्यक क्षमतालाई माक्र्सवादी दर्शनमा भाइटल पावर (Vital Power) भनिन्छ । मानिसबाहेक अन्य जीवमा यो भाइटल पावर एउटै किसिमको मात्र हुन्छ भने मानिसमा एउटाभन्दा धेरै प्रकारको हुन्छ ।

मानिस धर्तीका अन्य जीवजस्तै एउटा जीव हो । यो जीवमा धर्तीका अन्य जीवमा हुने विश्वव्यापी स्वभाव मानिसमा पनि देखिन्छ । मानिस धर्तीका अन्य जीवझैँ आफ्नो जात अर्थात् मानिससँग समूहमा बस्दछ । धर्तीका अन्य जीव आफ्नो–आफ्नो जातसँग समूहमा बस्ने विश्वव्यापी नियम छ । चरा बथानमा बस्छन् । भेडाको बथान, माहुरीको बथान, कमिलाको ताँती भनेजस्तै मानिस पनि आफ्नो जातसँग समूहमा बस्ने एउटा प्राकृतिक जीव हो । अन्य जीवले झैँ मानव जीवले पनि सबैभन्दा पहिलो काम आफ्नै जीवन जिउन र आफ्नै जीवनको सुरक्षाका लागि आफ्नो गतिविधि गर्दछ । आफ्नो जीवनको रक्षाका लागि खानपिनको जोहो गर्ने र सुरक्षाको जोहो गर्ने काममा लागिरहेको हुन्छ । अन्य जीवसँग मानिस सँगसँगै बस्न सक्दैन । अन्य जीव आफ्ना लागि मात्र बाँच्न प्रयत्न गर्दछन् र आजका लागि मात्र बाँच्दछन् । भोलिका लागि केही सङ्ग्रह गर्ने र भोलिका लागि बाँच्ने चिन्ता अन्य जीवमा हुँदैन । अन्य जीवमा हुने यो स्वभावले गर्दा यी जीव सधैँ सन्तुष्ट र आनन्दित देखिन्छन् ।

प्रकृतिका अन्य जीवसँग प्रकृतिमा उपलब्ध कच्चापदार्थ जे–जस्तो अवस्थामा छ त्यही खाएर जीवन धानिरहेका हुन्छन् । प्रकृतिमा उपलब्ध पदार्थलाई मिठो–मसिनो तरिकाले पकाई तुल्याई स्वादिष्ट बनाई भोजन गर्ने क्षमता हँुदैन । अर्को कुरा, प्रकृतिका अन्य जीव आज जे खान्छन् भोलि पनि त्यही र त्यस्तैखाले चिज खान्छन् । अन्य जीव एकथरी वा एकैखाले भोजनमा सन्तुष्ट हुने स्वभावका हुन्छन् । आज एकथरी भोजन खाने र भोलि अर्कोथरी भोजन खाने र पर्सि फेरि अर्कैखाले भोजनका लागि प्रयास गर्ने स्वभावको हुँदैन । साकाहारी जीव जीवनभर साकाहारी भोजन मात्र गर्दछन् भने मांसाहारी जीव मांसाहारी भोजन मात्र गर्दछन् । आज साकाहारी भोजन गर्ने भोलि मांसाहारी भोजन गर्ने गर्दैनन् । यसरी प्रकृतिका अन्य जीव सीमित भोजन र वासस्थानमा सन्तुष्ट भई आनन्दपूर्वक जीवन चलाइरहेका हुन्छन् । प्रकृतिका अन्य जीवले प्रकृतिलाई कुनै किसिमको हानि–नोक्सानी गर्दैनन् वा गर्ने क्षमता राख्दैनन् । प्रकृतिको अपार सम्पदासँग खेल्दै जीवन चलाइरहेका हुन्छन् ।

मानिस प्रकृतिकै गर्भबाट सिर्जित अन्य जीवजस्तै एउटा अर्को जीव हो । अन्य जीवको जस्तो विश्वव्यापी स्वभाव मानिसमा पनि देखिन्छ । तर, केही फरक स्वभाव मानिसमा देखिन्छ । मानिस अन्य जीवले जस्तो एकै प्रकारको भोजनमा सन्तुष्ट हँुदैन । आज एकथरी भोजनमा सन्तुष्ट हुन्छ, तर लगातार त्यही भोजन भोलि वा पर्सिपल्ट दियो भने वाक्क मान्दछ । मानिसलाई आज एकथोक मनपर्छ भरे वा भोलि अर्को थोक मन पर्छ । अन्य जीवजस्तो एकैखाले भोजनमा सन्तोष गर्दैन । मानिस एकभन्दा बढीखाले भोजनको चाहना भइरहने जीव हो । प्रकृतिमा उपलब्ध पदार्थ प्राकृतिक रूपमा जे–जस्तो अवस्थामा छ त्यही अवस्थामा खाएर जीवन चलाउने स्थितिमा मानिस छैन । मानिस प्रकृतिमा उपलब्ध कच्चापदार्थ खाद्यान्नलगायतका अन्य खाद्यपदार्थ काई विभिन्न स्वादमा रूपान्तरण गरेर खाने जीव हो । मानिस एउटै स्वादको भोजन लगातार धेरै दिनसम्म खाइरहने अन्य जीवको जस्तो स्वभाव भएको जीव होइन । आज एउटा स्वादको भोजन ग¥यो भने भरे वा भोलि नै अर्को स्वादको भोजन गर्ने चाहना भइरहन्छ । भोजन मात्र होइन, वासस्थान, काम गर्ने अफिस, सँगसँगै जीवन बिताउने पति–पत्नीसमेतमा पनि यो स्वभाव रहन्छ । मानिस एउटा काम पटक–पटक लगातार धेरै दिनसम्म गरिरहने स्वभावको हँुदैन । मानिसमा एउटा काम लगातार गरिरहँदा एउटै स्वादको भोजन लगातार खाएर वितृष्णा जागेजस्तै त्यो काममा वा गतिविधिमा निराशा उत्पन्न हँुदै जान्छ । केही समयपछि पुनः अर्कोखाले काम वा अफिसको वा गतिविधिको स्वाद लिने चाहना हुन्छ ।

मानिसको यो प्राकृतिक स्वभाव अन्य जीवहरूभन्दा भिन्न छ । यो मानिसको प्राकृतिक स्वभाव हो । यो स्वभावले गर्दा अन्य जीवहरू एउटै भोजन र स्वादमा सन्तुष्ट र आनन्द प्राप्त गर्दछन् भने मानिसचाहिँ सधैँभरि असन्तुष्ट र बेचैन रहन्छ । मानिसको यो स्वभावले गर्दा मानिस सधैँभरि खाली अर्थात् रित्तो महसुस गरिरहन्छ । यो प्राकृतिक स्वभावले गर्दा मानिस प्रत्येक दिन खाली, असन्तुष्ट, निरस र बेचैन स्थितिमा रहन्छ । मानिस प्रतिपल यो प्राकृतिक स्वभावले गर्दा सन्तुष्ट र आनन्दको स्थितिमा रहँदैन । प्रकृतिका अन्य जीवले भोजनबाहेकका अन्य गतिविधि पनि गर्दछन् । आफू बस्ने वासस्थानको निर्माणमा पनि भोजनकै जस्तो स्थिति देखिन्छ । अन्य जीव एकैखाले वासस्थानमा बसेर जीवन निर्वाह गरिरहेको देखिन्छ । प्रकृतिको एउटा जातको जीवको एउटाखाले वासस्थान हुन्छ भने अर्को जातको जीवको अर्कोखाले वासस्थान हुन्छ । एउटै जातको जीवको भिन्दा–भिन्दै खाले वासस्थान हँुदैन । तर, मानिस भन्ने जीवको मानिसैपिच्छे फरक–फरक खालको वासस्थानमा बस्ने स्वभाव देखिन्छ । जीवनभर एउटैखाले वासस्थानमा बस्नुपर्ने स्थितिमा मानिस असन्तुष्ट र बेचैन महसुस गर्दै गइरहेको हुन्छ । यसैगरी जीवन निर्वाहको सिलसिलामा प्रकृतिका अन्य जीव एकैखाले गतिविधिमा रहेर जीवन निर्वाह गरिरहेका देखिन्छन् । भिन्नभिन्न गतिविधि गरेर जीवन निर्वाह गर्ने क्षमता अन्य जीवमा हँुदैन । अन्य जीवमा एकै प्रकृतिको गतिविधि मात्र गरेर जीवन निर्वाह गर्दा त्यसैमा सन्तुष्ट हुने र आनन्द हुने स्वभाव हुन्छ । यदि अन्य जीव एउटै गतिविधिमा असन्तुष्ट र बेचैन हुने हो भने मानिसले जस्तो उपद्रो वा रिस पोख्दै आफ्नो वा अन्य जीवलाई आक्रमण गर्ने र सधैँभरि आक्रमणको स्थितिमा रहन्थ्यो होला । तर, अन्य जीवमा यस्तो अवस्था देखिँदैन । हिंस्रक भनेर जानिने खतरनाक जीवमा पनि उसको सुरक्षामा खलल नगरेसम्म अन्य जीवमा आक्रमण हुने स्वभाव देखिँदैन ।

अन्य जीवको जीवनयापनको गतिविधि केवल आफ्ना लागि मात्र केन्द्रित भएर गर्ने स्वभावको देखिन्छ । आफ्नो आजको सन्तुष्टिका लागि भोजन गर्ने र भविष्यका लागि सङ्ग्रह नगर्ने स्वभावले गर्दा अन्य जीवले खालि र बेचैन महसुस नगरेको हो । अन्य जीवले गर्ने सबैखाले गतिविधि चेतनशील ढङ्गले गरिरहेका हुँदैनन् । खान र बस्नका लागि एकैखाले गतिविधिमा सीमित भई गतिविधि गर्ने प्राकृतिक स्वभाव हुन्छ । मानिसको गतिविधि भने एउटाभन्दा बढी खाले गर्ने स्वभावको हुने र त्यो पनि चेतनशील हुने स्वभावको देखिन्छ । चेतनशील स्वभाव भनेको एकभन्दा धेरैखाले गतिविधि गर्न सक्ने क्षमता राख्ने स्वभाव भनिएको हो । अन्य जीवमा विभिन्नखाले गतिविधि गर्ने र विभिन्न स्वाद चाख्ने स्वभाव हुँदैन । त्यस्तै, अन्य जीवमा आफ्नो स्वाद र अन्य जीवको स्वाद वा चाहनाअनुसार भोजनलगायतका आवश्यक सरसामान बनाउने क्षमता पनि हँुदैन । मानिसमा आफ्नो स्वाद वा चाहना र अर्को मानिस वा अरू कुनै जीवको स्वाद र चाहनाबमोजिमको भोजनलगायतका मालसामान बनाउने क्षमतासमेत हुन्छ । यसै क्षमतालाई भाइटल पावर भनिएको हो ।
मानिसको यो प्राकृतिक गुण अन्य जीवमा भन्दा फरक छ । प्रकृतिले प्रदान गरेको यो गुणभन्दा बाहिर बसेर मानिसले आफ्नो भोजन वा गतिविधि गर्नुपर्दाको स्थितिमा मानिस असन्तुष्ट वा निरस वा बेचैन महसुस गर्दछ । यो स्थितिमा मानिस बढी खतर्नाक हुन्छ वा हिंसात्मक गतिविधि गर्न तयार हुन्छ । मानिसको यो प्राकृतिक गुण सधैैँभरि उसको पक्षमा मात्र हुँदैन । लगातार धेरै दिनसम्म एकैखाले भोजन मात्र गर्नुपर्ने स्थिति रहिरहन सक्दछ । लगातार वर्षौँ–वर्ष एउटैखाले काम वा गतिविधि गरेर जीवन निर्वाह गर्नुपर्ने स्थिति रहिरहन सक्दछ । विशेष गरेर औद्योगिक कलकारखानामा मानिसलाई एकैखाले काम मात्र गरेर जिन्दगी नै बिताउनुपर्ने स्थिति हुन्छ । यस्तो परिस्थितिमा मानिस सन्तुष्ट वा आनन्द हुन सक्दैन । यस्तो स्थितिमा मानिस निरस र बेचैन महसुस गर्दछन् । यदि धेरै कालसम्म यो स्थिति रहेमा मानिस हिंसात्मक गतिविधिमा प्रवेश गर्दछ । मानिसलाई यो स्थितिबाट बाहिर राख्न आवश्यक हुन्छ । मानिसलाई उसको प्राकृतिक स्वभावमा नछोड्ने हो भने ऊ हिंसात्मक गतिविधिमा उत्रन सक्छ । तसर्थ मानिसलाई उसको प्राकृतिक स्वभावमा राख्न एकैखाले भोजन वा एकैखाले गतिविधिमा बाँधेर राख्नुहुँदैन । मानिसलाई खुला र स्वतन्त्र छाड्न आवश्यक हुन्छ । मानिसलाई उसको प्राकृतिक स्वभावमा छाड्दा ऊ सन्तुष्ट र आनन्द महसुस गर्दछ ।

मानिससँग आफ्नो भोजन र जीवन निर्वाहका लागि आफ्नो स्वाद वा चाहनाअनुसार आफूलाई र अर्को मानिसको समेत चाहना र आवश्यकताअनुसार भोजनलगायत अन्य सरसमान वा मालवस्तु बनाउने क्षमता राख्दछ । यो क्षमताअनुसार निर्माण गरिएको सर–सामानमा मानिस सन्तुष्ट र आनन्द महसुस गर्दछ । एउटा त मानिस फरक–फरक स्वादको भोजनमा सन्तुष्ट र आनन्दको महसुस गर्दछ भने अर्को आफ्नो चाहनाको वा स्वादको आवश्यक सरसामान वा बस्तु र अरूको चाहनासमेतको आवश्यक सरसामान र वस्तु आफ्नै हातले निर्माण गर्न सकेको स्थितिमा वा सरसमान निर्माण गर्दा सन्तोष र आनन्द महसुस गर्दछ । त्यतिखेर मानिसले आफ्नो प्राकृतिक गुणको भरपूर उपयोग भएको महसुस गर्दछ । आफूले बनाएको भोजन वा सरसामानमा उसले आफूलाई अभिव्यक्त भएको महसुस गर्दै तृप्त भएको (Fulfilled) र आनन्दको महसुस गर्दछ । आफूले निर्माण गरेको वस्तुमा गौरवको महसुस गर्दछ । आफ्नो जीवन धन्य भएको महसुस गर्दछ । आफू धर्तीको सफल जीव भएकोमा गौरव गर्दै आफ्नो प्राकृतिक स्वभावमा आफूलाई समर्पित भएको महसुस गर्दै आनन्दित हुन्छ । यो स्थितिमा मानिस अस्थिर वा असन्तुष्ट हुँदैन । यो स्थितिमा मानिस खाली वा बेचैन पनि हुँदैन । यो स्थितिमा मानिस निरस पनि हुँदैन । मानिसलाई असन्तुष्ट, निरस र बेचैन हुनबाट जोगाउन उसलाई उसको प्राकृतिक स्वभावमा छोड्ने परिस्थितिको निर्माण गर्नुपर्ने हुन्छ । यो अवस्थामा मात्र मानिस सन्तुष्ट र आनन्दले रहन्छ । यदि मानिस आफ्नो प्राकृतिक अवस्थामा रहने परिस्थिति भएन भने हिंसात्मक गतिविधिमा प्रवेश गर्ने परिस्थिति निर्माण हुँदै जानेछ ।

मानिस प्रत्येक पल भरिने चाहना (Fulfilled) हुने तृष्णामा हुन्छ । यो स्थितिलाई मानिसको चाहना वा इच्छा भनेर भनिन्छ । मानिसको भरिन चाहने चाहना आफ्नै पौरखले निर्माण गरेको मालवस्तु (Products) मा पोखिन्छ । आफ्नो पौरखले केही उत्पादन गर्दाको स्थितिमा मानिस सन्तोष र आनन्द महसुस गर्दछन् । घरको करेसाबारीमा लहलहाउँदो साग वा मकैको घोका वा खेतमा लहलहाउँदो तोरी वा धानको बाला देख्दा मानिस अपार खुसी महसुस गर्दै आफूलाई धन्य र जीवन सार्थक भएको महसुस गर्दछ । यदि आफ्नो पौरखले उत्पादन भएको कुनै वस्तु आफ्ना लागि उपभोग गर्ने स्थिति नभई आफूबाट अलग हुने र कुनै अपरिचित व्यक्तिले उपभोग गर्ने परिस्थिति निर्माण हुँदै गइरहेको छ भने मानिस आफूलाई पीडा महसुस गर्दछ । आफ्नो पौरख अरू कसैले आफूबाट छिनिरहेको वा आफूबाट कतै टाढा जाने परिस्थिति निर्माण भइरहँदा मानिस छटपटी र बेचैन महसुस गर्दछ । यतिखेर मानिसले आफ्नो सन्तुलन गुमाउने परिस्थिति निर्माण हुन्छ । यो स्थितिमा मानिस निराशा र हिंसात्मक अवस्थाका प्रवेश गर्दछ । मानिसलाई उसको प्राकृतिक स्वभावमा छोड्दै आफ्नो पौरखले निर्माण गर्ने मालवस्तुमा गौरव र धन्य हुने परिस्थितिको समाज नै समाजवादी समाज हो ।