राष्ट्रिय सभाको १९ पदको निर्वाचनमा नौ दल, ४३ उम्मेदवार बागमती दुईका लागि ६ उम्मेदवार

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:१०

काठमाडौं: राष्ट्रिय सभाको रिक्त १९ पदमा माघ १२ गते हुने निर्वाचनमा नौ दलका ४३ उम्मेदवार मैदानमा उत्रेका छन् । निर्वाचन आयोगले दिएको जानकारीअनुसार सातवटै प्रदेशमा मंगलबार उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रिय सभाको बागमती प्रदेशको दुई सिटमा ६ जनाको उम्मेदवारी परेको छ । बागमतीमा महिलातर्फ तीन र अन्यतर्फ तीन गरी ६ जनाको उम्मेदवारी दर्ता भएको छ । महिलातर्फ नेमकिपाबाट गीता काफ्ले, एकीकृत समाजवादीबाट गोमादेवी तिमिल्सिना, एमालेबाट नीरकुमारी कुँवर र अन्य समूहबाट नेमकिपाबाट कृष्ण तामाङ, काङ्ग्रेसबाट कृष्णप्रसाद पौडेल, एमालेबाट गोपाल शाक्य उम्मेदवार बनेका छन् । राष्ट्रिय सभाको ५९ सदस्यमध्ये १९ सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ । त्यसका लागि माघ १२ गते निर्वाचन हुन लागेको छ ।

राष्ट्रिय सभामा हाल अध्यक्षसहित नेकपा एमालेको २४, उपाध्यक्षसहित माओवादी केन्द्रका १४, काङ्ग्रेसका सात, एकीकृत समाजवादीका सात, जसपाका दुई, लोकतान्त्रिक समाजवादीका एक, स्वतन्त्र एक र मनोनीत तीनजना सदस्य रहेका छन् । निर्वाचनमा एमाले एक्लै र सत्तागठबन्धनमा रहेका पाँच दलबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचनमा एमालेबाट १९, नेपाली काङ्ग्रेसबाट ६, माओवादी केन्द्रबाट पाँच, एकीकृत समाजवादीबाट पाँच, जनता समाजवादी नेपालबाट दुई, राप्रपाबाट दुई, नेमकिपाबाट दुई, लोकतान्त्रिक समाजवादीबाट एक र राष्ट्रिय जनमोेर्चाबाट एकजनाको उम्मेदवारी परेको छ ।

मतभार कुन प्रदेश कति ?
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ९२ जना प्रदेश सभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख गरेर दुई सय ७२ जना मतदाता छन् । सो प्रदेशमा प्रदेश सभा सदस्यको मतभार चार हजार चार सय १६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुखको मतभार चार हजार आठ सय ९६ छ । यी दुवैतर्फ गरेर प्रदेश १ मा कुल मतभार नौ हजार तीन सय १२ हुन्छ । त्यसैगरी, प्रदेश २ मा जम्मा नौ हजार आठ सय १६ मतभार छ । प्रदेश २ मा प्रदेश सभा सदस्य एक सय चारजना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय ६८ जना छन् । प्रदेश सभाका सदस्यको कुल मतभार चार हजार नौ सय ९२ हुन्छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय ६८ जनाको मतभार चार हजार आठ सय २४ हुन्छ । यस्तै, बागमतीमा प्रदेशमा प्रदेश सभा सदस्य एक सय नौजना छन् । उनीहरूको मतभार पाँच हजार दुई सय ३२ हुन्छ । यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय ३७ जना रहेका छन् । उनीहरूको मतभार चार हजार दुई सय ६६ हुन्छ । दुवैतर्फका गरी बागमती प्रदेशमा कुल मतभार नौ हजार चार सय ९८ रहेको छ ।

त्यसैगरी, गण्डकीका प्रदेशमा पाँच हजार आठ सय ९२ कुल मतभार छ । जसमा प्रदेश सभा सदस्य ५९ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख एक सय ७० जना रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा सात हजार सात सय ५८ कुल मतभार रहेको छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ८१ जना तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय १५ जना रहेको निर्वाचन आयोगले जनाएको छ । कर्णाली प्रदेशमा चार हजार चार सय ८८ कुल मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ३५ जनाको मतभार एक हजार ६ सय ८० तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख एक सय ५६ जनाको मतभार दुई हजार आठ सय आठ रहेको छ । सुदूरपश्चिम प्रदेशमा कुल मतभार पाँच हजार ६ सय ४६ रहेको छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ५२ जनाको मतभार दुई हजार चार सय ९६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख एक सय ७५ जनाको मतभार तीन हजार एक सय ५० रहेको छ ।