माओवादीको अध्यक्षमा दाहाल नुवाकोटबाट तीनजना केन्द्रीय सदस्य

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०९:०९

विदुर: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध निर्वाचित गरेको छ । सोमबारको बैठकमा नेता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरेका थिए ।

बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो । अहिलेको सन्दर्भमा पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डको नै नेतृत्व अपरिहार्य रहेको निष्कर्षसहित बैठकले अध्यक्ष स्वीकार गरेको नेता श्रेष्ठले बताए । प्रचण्ड नेतृत्वमा ‘जनयुद्ध’ जनआन्दोलन, शान्ति–प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र सङ्घीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएकाले अब बाँकी कार्यभार पूरा गर्ने सङ्कल्प गर्नुपर्ने प्रस्ताव बैठकले गरेको थियो । उनको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको छ । आठौँ महाधिवेशनबाट चयन भएका दुई सय ४४ जना केन्द्रीय सदस्यमध्ये नुवाकोटका तीनजना रहेका छन् । नुवाकोटबाट सांसद हितबहादुर तामाङ, संविधानसभा सदस्य विमला सुवेदीसहित बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ चयन भएका छन् । महाधिवेशनबाट चयन भएका दुई सय ४४ जना केन्द्रीय सदस्यको शपथग्रहण आइतबार सम्पन्न भएको छ । माओवादीको विधानअनुसार १५ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । तर, महाधिवेशनमा प्रचण्डले दुई सय ९९ केन्द्रीय सदस्यमध्ये दुई सय ३६ जनाको नाम प्रस्ताव गरेपछि बन्दसत्रले पारित गरेको थियो । विधानअनुसार माओवादीको अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

झन्डै ३३ वर्षदेखि एकल नेतृत्व गरिरहेका प्रचण्ड ०११ साल मङ्सिर २६ गते कास्कीको साबिक ढिकुरपोखरी गाविस– २ लेवाडेमा जन्मिएका हुन् । ०४५ सालमा नेकपा मसालका महामन्त्रीको जिम्मेवारी सम्हालेदेखि अहिलेसम्म एकल नेतृत्व गरिरहेका छन् । मुक्तिराम र भवानीका जेठा छोरा प्रचण्डको प्रारम्भिक शिक्षा कास्की जिल्लाको ढिकुरपोखरीमै भएको थियो । न्वारानको नाम छविलाल भएकाले उनलाई परिवारले छवि भन्थे । घरको प्यारो नाम बाबु थियो । प्रचण्डले कक्षा १० मा पढ्दा छविलाल नाम परिवर्तन गरी पुष्पकमल राखेका थिए । भूमिगत कालमा उनले नाम परिवर्तन गरी ‘प्रचण्ड’ राखेका थिए । सशस्त्र द्वन्द्वको १० वर्ष उनलाई उपनाम प्रचण्डले बढी चिनिन्थ्यो । पार्टीमा उनलाई ०३८ देखि ०६३ सम्म कल्याण, विश्वास, निर्माण र प्रचण्ड उपनामले चिनिन्थ्यो । प्रचण्डले थुप्रै पुस्तकसमेत लेखेका छन् । नेपाली क्रान्तिका समस्या (भाग–१, २ र ३) सांस्कृतिक, कला र सौन्दर्य चिन्तन प्रचण्डका छानिएका रचना हुन् । उनको राजनीतिक गुरु मोहनविक्रम सिंह हुन् । ‘क्रान्ति र पार्टी दुवै हाँक्ने जोस प्रचण्डमा छ, तर उनी धेरै नै महत्वाकाङ्क्षी भएकोले सजग हुनुपर्छ’ भन्ने गरेको स्मरण अहिले माओवादी केन्द्रका समकालीन नेताले गर्छन् ।