आइपिपीको प्रभावकारी कार्यान्वयनबारे अन्तक्रिया

आइपिपीको प्रभावकारी कार्यान्वयनबारे अन्तक्रिया
त्रिशूली प्रवाह
८ घण्टा अगाडी

धुन्चे । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाअन्तर्गत एफपिक कार्यान्वयनका लागि गठित आइपिपी गभर्निङ बोर्डको पुनर्गठन भई गाउँगाउँमा भएको आदिवासी जनजाति योजना सल्लाहकार परिषद्को गठनपछि आइपिपी गभर्निङ बोर्डको नयाँ कार्यसमिति चयन भएको छ ।

नवगठित आइपिपी गभर्निङ बोर्डका अध्यक्षमा मानबहादुर तामाङ निर्वाचित हुनुभएको छ । उहाँ आइपिपी गभर्निङ बोर्डमा थांकु गाउँबाट प्रतिनिधित्व गर्नुहुन्छ । नवगठित बोर्डको कार्यकाल दुई वर्ष ६ महिना रहेको छ । सो अवधिका लागि समितिको वरिष्ठ उपाध्यक्षमा विजय तामाङ, उपाध्यक्षमा मिङ्मार तामाङ, महासचिवमा पासाङमेन्दो तामाङ, सचिवमा सुब्बा तामाङ र कोषाध्यक्षमा फुलीमाया तामाङ चयन हुनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घको सहजीकरणमा भएको निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति चयन भएको थियो । मानबहादुर तामाङले यसअघि पहिलो कार्यालयमा पनि अध्यक्ष चयन भई काम गरिसक्नुभएको छ भने उहाँ माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) प्रभावित क्षेत्रको जग्गाधनी अधिग्रहणमा परेको परिवारका सदस्य पनि हुनुहुन्छ । यही भदौ ११ गते, बुधबार आमाछोदिङ्मो-१ हाकुबेँसीमा नवगठित आइपिपी बोर्डले निर्देशिकामा भएको व्यवस्थाबमोजिम कार्यप्रक्रिया अघि बढाउने विषयमा अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा आइपिपी बोर्डका कार्यसमितिका पदाधिकारीसहित बहुसङ्ख्यक सदस्य स्थानीय सरकारका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला शाखा रसुवाका अध्यक्षलगायत प्रतिनिधि एवम् नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रतिनिधि र स्थानीय समाजसेवी सहभागी भएका थिए । अन्तक्रियाको सहजीकरण महासङ्घका जिल्ला अध्यक्ष लाक्पा तामाङले गर्नुभएको थियो । कार्यक्रममा आइपिपी गभर्निङ बोर्डका अध्यक्ष मानबहादुरले आफ्नो कार्यकालमा समुदायको हकहितको संरक्षण, पारदर्शिता र प्रभावकारी योजना कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले आइपिपी कार्यान्वयनका लागि नवगठित टिमको विशेष भूमिका रहने र स्थानीयको तर्फबाट कम्पनीको निर्माण कार्यमा पनि सहज वातावरण बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । अन्तक्र्रियामा सहभागी उत्तरगया-१ का अध्यक्ष मारसिंङ तामाङ, आमाछोदिङ्मो-१ का अध्यक्ष साङलामा तामाङ र वडा नं २ का अध्यक्ष लाक्पाकामी तामाङले आइपिपीले आदिवासी समुदायलाई राम्रो सहयोग पुगेको र आगामी दिनमा अझै गाउँमा प्राप्त हुने स्रोतलाई प्रभावकारी एवम् पारदर्शी ढङ्गले व्यवस्थापन गरी उदाहरणीय काम गर्न सुझाव दिनुभयो ।

रसुवामा सञ्चालित जलविद्युत् आयोजनामध्ये माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाले नयाँ अभ्यासअन्तर्गत सुुरुवात गरेको स्वतन्त्र अग्रिम र सुसूचित जानकारीसहितको मन्जुरी (एफपिक) गरी आयोजना प्रभावित स्थानीय आदिवासी तामाङ समुदायको भाषा, धर्म, संस्कृति प्राकृतिक स्रोतको संरक्षण एवम् संवद्र्धन ग्रामीण समुदायको विकास आदि कार्यका लागि करिब रु.१४ करोड दिने २०७५ कात्तिकमा त्रिपक्षीय सम्झौता भएको थियो । हाल एफपिक कार्यान्वयनका लागि निर्देशिका तयार भई सोअन्तर्गत आदिवासी जनजाति योजना (आइपिपी) कार्यान्यवनको चरणमा छ । आइपिपी कार्यान्वयनका लागि प्रभावकारी बनाउन प्रत्येक प्रभावित १३ गाउँमा समान विकास गर्न र स्रोतमा पहुँच पु¥यााउनका लागि १३ गाउँबाटै नै प्रतिनिधित्व रहने गरी आइपिपी गभर्निङ बोर्ड गठन भई परिचालनमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह