+
Search

ताजा अपडेट +

पपुलर +

बाँदर–बँदेलको हैरानी

वनमन्त्रीसँग जङ्गली जनावर नियन्त्रण माग

बाँदर–बँदेलको हैरानी
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट जिल्लाका किसानको खेतबारी जङ्गली जनावरको कब्जामा भएपछि जङ्गली जनावर नियन्त्रणका लागि किसानले बागमती प्रदेशका वनमन्त्री भरतबहादुर केसीलाई आफ्ना गुनासो सुनाएका छन् ।  डिभिजन वन कार्यालय नुवाकोटमा आयोजित अन्तक्रियामा सहभागीले केही वर्षदेखि जिल्लाका अधिकांश भेगमा जङ्गली बँदेल, बाँदर र मृगका हुलले खाद्यान्न बालीमा नोक्सान पुयाउने र आक्रमणसमेत गर्ने गरेको गुनासो गरेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

Suzuki New Bike & Scooter

‘खेतीतिरभन्दा पनि अब जङ्गली जनावर धपाउनेतिर ध्यान दिनुपर्ने अवस्था आयो,’ अन्तक्रियामा सहभागीको गुनासो थियो । कार्यालयमा भेला भएका सरोकारवाला र पीडित किसानले गाउँमै खेती गर्ने कि बाँदर-बँदेलसँग हरेक दिन युद्ध गर्ने भनी प्रश्न गरेका थिए । बँदेलका झुन्डले पाक्न लागेको मकै मास्ने, बाँदरका हुल पसेर मिनेटमै किसानको भित्र्याउन ठिक नभएको खाद्य स्वाहा पार्ने गरेको गुनासो गरेका छन् । फलफूल खाद्यान्नलगायतका कृषि उपज टिप्ने मात्र होइन, घरको छानो उतारेर घरभित्रैबाट लैजाने गरेकाले गाउँ छाडेर बसाइँसराइ नै गर्नुपर्ने अवस्था आएकोसमेत बताउनुभयो ।  सहभागीको गुनासो सुनेपछि वनमन्त्री केसीले भन्नुभयो, ‘बाँदर नियन्त्रण गर्ने नीति त बनेकै हो, तर प्रक्रिया भने पालन गर्नुपर्छ ।’ मन्त्रीको भनाइमा बाँदर र बँदेल नियन्त्रण गर्न स्थानीय प्रतिनिधिको रोहवरमा सरकारी दस्तुर तिरेर मात्रै सम्भव हुने रहेछ । उनको भनाइमा खेतबारीमा बाँदर धपाउन र नियन्त्रणमा लिनुअघि स्थानीय प्रतिनिधिको रोहवरमा निश्चित राजस्व बुझाउनुपर्ने हुन्छ । मन्त्रीले थप्नुभयो, ‘पहिले जङ्गलमै फलफूल, गिठ्ठाभ्याकुर थिए, अहिले ती कन्दमूल नाश भए । खानेकुरा हराएपछि बाँदर गाउँ र बजार पसे । त्यसैले अब जङ्गलभित्रै फलफूल कन्दमूल लगाउनुपर्ने, बाँदरलाई गाउँ पस्न नदिने ।’ अन्तक्रियामा रूख–बिरुवाको भविष्यबारे पनि कुरा उठ्यो । कुहिन लागेको साल काटेर बेच्ने छुट दिई, आफ्नै जग्गामा उम्रिएका साल बिरुवा पनि उत्पादनको रूपमा बेच्न पाउने वातावरण बनाउन स्थानीयले माग गरे । स्थानीयले सरकारी झन्झटिलो नीति सुधारको माग पनि गरे ।

डिभिजन वन प्रमुख रोशना पोखरेलदेखि विदुरकी पूर्वप्रमुख सन्जु पण्डित, एमालेका पूर्वउपाध्यक्ष बुद्धिबहादुर प्रधान, वडाध्यक्ष दीपक कायस्थ, सामुदायिक वन महासङ्घकी अध्यक्ष सम्झना सेढाईं, वन अधिकारकर्मी नारायण नेपाल, स्थानीय नेतादेखि वन अधिकृतसम्म सबैको धारणा मानिस र जनावरबिचको युद्धको समाधान खोजौँ भन्ने थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह