विदुर । कर्मचारी मिलन केन्द्र नुवाकोटले यही भदौ १६ देखि २२ गतेसम्म विविध कार्यक्रम गरी निजामती सेवा दिवस मनाउने तालिका सार्वजनिक गरेको छ । दिवसका अवसरमा सोमबार कर्मचारी मिलन केन्द्रको आयोजना र त्रिशूली अस्पतालको समन्वयमा नसर्ने रोगको स्वास्थ्य परीक्षण शिविर शुभारम्भ गरिएको थियो ।
अस्पतालका निमित्त निर्देशक डा.राजेन्द्र लामाका अनुसार जिल्लास्थित विभिन्न सरकारी कार्यालयका १८ जना कार्यालय प्रमुखको शिविरमा मधुमेह, रक्तचाप, तौलअनुसारको उचाइलगायतका जाँच गरी आवश्यक परामर्श र औषधिसमेत वितरण गरिएको थियो । शिविरको शुभारम्भ प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । स्वास्थ्य परीक्षणको आधारमा आगामी निजामती दिवसको समारोहमा ‘स्वास्थ्य कार्यालय प्रमुख पुरस्कार’ प्रदान गरिने डा. लामाले जानकारी दिनुभयो । दिवसकै कार्यक्रमअन्तर्गत मंगलबार जिल्ला प्रशासन कार्यालय प्रशासनमा सेवाग्राही तथा निजामती कर्मचारीको स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । उक्त शिविरको संयोजक कर्मचारी मिलन केन्द्रले र सहसंयोजन जनस्वास्थ्य कार्यालय, त्रिशूली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले गरेको थियो । दिवसको अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण नुवाकोट ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठान देवीघाटमा गरिने कार्यक्रम रहेको छ । निजामती दिवसलाई भव्य रूपमा मनाउन वृक्षरोपण, साहित्यिक कार्यक्रम, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, रक्तदान, कृषि तथा भेटेरेनरी सेवा शिविर, ब्याडमिन्टन प्रतियोगिता, सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनासम्बन्धी सचेतना कार्यक्रम, स्मारिका विमोचन र कार्यालयगत रूपमा उत्कृष्ट कर्मचारी छनोट तथा घोषणा गर्ने कार्यक्रम रहेको दिवस मूल समारोह समितिले जानकारी गराएको छ ।
प्रतिक्रिया