अध्यक्ष र उपाध्यक्षका कारण गजुरी गाउँपालिकामा बजेट विवाद

अध्यक्ष र उपाध्यक्षका कारण गजुरी गाउँपालिकामा बजेट विवाद
त्रिशूली प्रवाह
८ घण्टा अगाडी

धादिङबेँसी । धादिङ जिल्ला, गजुरी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ मा गाउँसभामार्फत ल्याइएको बजेटभन्दा बेग्लै शीर्षक र योजना थपेर गाउँपालिकाको बजेट किताब छापिएको भन्दै गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले विरोध जनाउनुभएको छ । गत १० असारमा गाउँसभामार्फत ल्याइएको बजेटको विषयमा अध्यक्ष र उपाध्यक्षबिच विवादले बजेट कार्यान्वयनमा समस्या आएको छ ।

‘असार १० मा सम्पन्न १६औँ गाउँसभाबाट रु.६७ करोड २२ लाख ९२ हजार बजेटको सार्वजनिक गरिएको भए पनि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आफूखुसी खर्च गर्ने गरी बजेटको आकार बढाइयो,’ उपाध्यक्ष बिसुरालले विज्ञप्ति जारी गर्दै भन्नुभयो, ‘रु.तीन करोड सात लाख थप गरी गाउँपालिकाको बजेट किताब प्रकाशन गरिएको छ ।’ गाउँसभामा प्रस्तुत गरिएको तथ्याङ्क एवम् लिखितलाई कोही व्यक्तिविशेषले परिवर्तन गर्न नपाउने भन्दै उहाँले सभामा प्रस्तुत गरिएकोभन्दा बढी बजेट राखेर अनुमतिविना नै आफ्नो हस्ताक्षर प्रयोग गरी पुस्तक छापेको उहाँको दाबी छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँसभामा पेस गरिएको बजेटभन्दा बाहेक तोडमोड गरी बजेट किताब प्रकाशन गर्नेलाई कानुनी दायरामा ल्याई तत्काल गाउँसभाको आह्वान गरी पुनः बजेट सार्वजनिक गर्न उहाँले माग गर्नुभएको छ । उपाध्यक्ष बिसुरालले गाउँपालिकामा पछिल्लो समय उपाध्यक्षको हैसियतले संवैधानिक प्रावधानअनुरूप गर्न पाउने विभिन्न विषयगत काम-कारबाहीमा पनि बारम्बार अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबाट हस्तक्षेप भइरहेको आरोपसमेत लगाउनुभएको छ । पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले भन्नुभयो, ‘उपाध्यक्ष बिसुरालले लगाएको आरोप मनोगत र पार्टीप्रेरित छ ।’ एक भिडियो व्यक्तव्य जारी गरी अध्यक्ष श्रेष्ठले बजेट किताब प्रकाशन विषयमा आफूलाई जानकारी नै नभएको र उपाध्यक्षसँग छलफल नै नभएको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

सबै वडाध्यक्षसँग छलफल गर्नुका साथै उपाध्यक्षलाई जानकारी दिएरै रु.६७ करोडबाट बजेट रु.७० करोड बनाएको स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले सङ्घ र प्रदेशबाट आउने बजेट असारको अन्तिममा आउने र अघिल्लो वर्षमा जस्तै यस वर्ष पनि अल्या गरेर बजेट थप गरी किताब प्रकाशित गरिएको बताउनुभयो । बजेट आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई पालिकाभित्रै खर्च गर्ने गरी बढाइएको र बढेर आउँदा पनि उपाध्यक्षले विरोध गर्नुको कुनै औचित्य नभएको उहाँले बताउनुभयो । उपाध्यक्षलाई गाउँपालिकाबाट पर्याप्त सेवा-सुविधा दिइरहे पनि पटकपटक अध्यक्षको विरोध गरिरहेको आरोपसमेत उहाँले लगाउनुभयो । गजुरीमा अध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष नेपाली काङ्ग्रेसकी हुन् । यो पालिकामा काङ्ग्रेस र माओवादीको गठबन्धन भएको थियो । गजुरीमा अध्यक्ष र उपाध्यक्षबिचको विवाद पहिलो भने होइन । गत फागुनमा जनयुद्ध दिवसका दिन बिदा दिएको र बिदा नदिएको विषयमा अध्यक्ष र उपाध्यक्ष दुवैले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी विवादमा आएका थिए । त्यस्तै, गत साउन १९ मा अध्यक्ष श्रेष्ठले विदेश गएका वेला आफूनिकटका वडाध्यक्षलाई कार्यवाहक अध्यक्ष दिएपछि विवाद थप चर्किएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह