हाम्रा कुरा: मलमा झेल गर्ने भ्रष्टाचारी नउम्किऊन्

  • त्रिशूली प्रवाह
  • २९ पुष २०७८, बिहीबार १३:२४

केही दिनअघि सरकारको मातहतमा रहेको कृषि सामग्री संस्थान लिमिटेडका सञ्चालकसहित १० जनामाथि अनियमितता गरेको प्रमाणित कागजपत्रसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको समाचार सनसनी रूपले फैलियो ।


सरकारको मातहतमा रहेको निकायले गरेको भ्रष्टाचारको शृङ्खला बाहिर आएसँगै कृषिमा आश्रित नेपालीको मनोबल गिराएको छ । धर्तीपुत्रका रूपमा रहेका किसानका लागि अत्यावश्यक मल तथा कृषि सामग्री वितरण गर्दै आइरहेको संस्थानले गुणस्तरहीन मल बिक्री गरेर अर्बौँ भ्रष्टाचार गरेको मुद्दा दायर भएपछि सरकारको कुन निकायले गुणस्तर र विश्वासनीय काम गरिरहेका छन् छुट्याउन र विश्वास गर्न गाह्रो भइरहेको छ । यो घटनाले सरकारी निकायप्रति जनताको विश्वास गिरेको छ । हुन त यस्ता घटना धेरै भएका छन् । विगतमा भएका घटनामा दोषीलाई मुद्दा दायर गर्न र सफाइ दिने प्रवृृत्ति हाबी थियो । मुद्दा दायर भएपछि धेरैले क्लिन चिटसमेत पाएका छन् ।

किसानले सामान्य खेतीपातीका लागि चाहिने मल पनि नपाइरहेको अवस्थामा संस्थानका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिनु भनेको सामान्य कुरा होइन । यसले संस्थानभित्र मौलाइरहेको भ्रष्टाचार र अनियमितता उजागार भएको छ । संस्थानका सञ्चालकले समयमा आवश्यक मल त किसानका माझमा पु¥याउन सकेका छैनन् नै, त्यसमा पनि गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रतिवेदन तयार गरी किसानको रगत–पसिनामाथि खेलबाड गर्ने गरिरहेको तथ्यसमेत उजागार भएको छ । सरकारी संयन्त्रले नै यसरी जनतामाथि र सिङ्गो देशको उत्पादनमाथि खेलबाड गर्दा यसले निम्त्याउने तत्कालीन र दीर्घकालीन परिणामको कल्पनासम्म पनि गर्न गाह्रो हुन्छ ।

तर, नेपालको कृषि तथा पशुपालनका क्षेत्रमा सरकारका तर्फबाट एकलौटी कारोबार गर्दै आएको संस्थान नै यसरी भ्रष्टाचारमा डुब्दा देशको आर्थिक उन्नतिका सपना र आत्मनिर्भर अर्थतन्त्र निर्माणको नीति तथा योजना कसरी कार्यान्वयन हुन सक्ला ? यसले आमजनतालाई आक्रोशित र अचम्मित बनाइरहेको छ । सरकारअन्तर्गतका निकाय जनताका लागि सबैभन्दा भरपर्दा र विश्वसनीय हुनुपर्छ । तर, यिनैले ठगी र भ्रष्टाचार गर्न थाले भने सिङ्गो देश र जनताको हालत के होला ? नेपाल आफैँमा कृषिप्रधान देश हो । अझै पनि नेपाली जीविकोपार्जनमुखी निर्वाह प्रणालीमा बाँचिरहेका छन् । सरकार र सरकारी संस्थाबाहेक यिनका लागि नजिकको सहारा कोही पनि छैनन् । बजारमा अहिले कालोबजारी मौलाउन पुगेको छ । सर्वसाधारण जनता र मुख्य गरी किसान सरकारको विश्वास र सहयोगको आसमा छन् । कृषि सामग्री संस्थाबाट वितरण हुने मललाई ‘सरकारी मल’ भनेर विश्वासका साथ किन्न जाने किसानमाथि कस्तो खालको व्यवहार भएको रहेछ भन्ने अहिलेको घटनााक्रमले छर्लङ्ग्याएको छ ।

बजारमा वितरण गरिने मल नक्कली हुन्छ । सरकारले वितरण गर्ने मल सक्कली हुन्छ भन्ने धारणा पालेका जनताले र किसान अबका दिनमा संस्थाबाट वितरण गरिने मल र बिउलाई कुन आधारले विश्वास गर्लान् र खरिद गर्लान् ? संस्थानका पदाधिकारी र कर्मचारीले यति ठूलो अपराध गरेका छन् कि जसको जतिसुकै भत्र्सना गरे पनि कमी हुन्छ । त्यसैले पनि उनीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । केही वर्ष पहिलेसम्म धान र गहुँलगायतका कृषि उत्पादनमा आत्मनिर्भर रही विदेशमा खाद्यान्न निर्यात गर्दै आइरहेको नेपाल अहिले खाद्यान्न आयातको डरलाग्दो अवस्थामा कसरी पुग्यो होला भन्ने पुष्टि यो घटनाले गरेको छ । यो यस्तो अपराधपूर्ण कार्य गर्नेविरुद्ध अख्तियारले मुद्दा दायर गरेर प्रशंसनीय कार्य गरेको छ । न्यायिक निकायले छिटोभन्दा छिटो ती भ्रष्टचारीलाई जेल पठाउन र जरिवाना गराउन सके मात्र किसानप्रति न्याय हुनेछ ।