त्रिशूली प्रवाह साप्ताहिक ‘क’ वर्गमा

  • त्रिशूली प्रवाह
  • २० माघ २०७८, बिहीबार १६:३४

विदुर: नेपालभित्र प्रकाशित हुँदै आएको दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिक, पत्रपत्रिकाको दुई आर्थिक वर्षको प्रेस काउन्सिल नेपालले वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । उक्त नतिजाअनुसार त्रिशूली प्रवाह साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । त्रिशूली प्रवाह विगत १६ वर्षदेखि ‘क’ वर्गमा पर्न सफल भएको छ ।


काउन्सिलले गत दुई आ.व. ०७५/७६ र ०७६/७७ को पत्रपत्रिका वितरण संपरीक्षण समितिको प्रतिवेदनको आधारमा वर्गीकरणको नतिजा सोमबार सार्वजनिक गरेको थियो । नुवाकोटबाट प्रकाशित हुने पत्रपत्रिकामध्ये त्रिशूली प्रवाह साप्ताहिक मात्र ‘क’ वर्गमा वर्गीकृत भएको छ । जिल्लाबाट दैनिक पत्रिका एक, साप्ताहिक सातवटा र दुईवटा मासिक पत्रिका प्रकाशन हुँदै आएका छन् । काउन्सिलले दिएको जानकारीअनुसार आ.व. ०७५/७६ को वर्गीकरणका लागि आवेदन दिने आठ सय ८३ पत्रपत्रिकामध्ये ‘क’ वर्गमा त्रिशूली प्रवाहसहित दुई सय १९ पत्रपत्रिका वर्गीकृत भएका छन् । त्यसैगरी, आ.व. ०७६/७७ को वर्गीकरणका लागि आवेदन दिने आठ सय ८७ वटा पत्रपत्रिकामध्ये त्रिशूली प्रवाह साप्ताहिकसहित दुई सय ३९ वटा पत्रपत्रिका ‘क’ वर्गमा वर्गीकृत भएका छन् ।