Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

सेयरबजारको आर्थिक विकासमा प्रभाव र चुनौती

सेयरबजारको आर्थिक विकासमा प्रभाव र चुनौती
शिवराम ढकाल
४ दिन अगाडी

सेयरबजार आधुनिक अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ हो, जसले वित्तीय स्रोतको प्रभावकारी परिचालन (गाउँका झुपडीमा बस्ने मानिसदेखि सहरका धनाढ्यसम्मका हरेक तहको पुँजीलाई) गरी पुँजी आवश्यक पर्ने व्यवसाय र लगानी गर्न इच्छुक व्यक्तिलाई एउटै प्लाटफर्ममा जोड्दछ । यसले व्यवसायलाई ऋणको भारविना पुँजी जुटाउने अवसर दिन्छ, जसका कारण उद्योग विस्तार, नवप्रवर्तन र रोजगारी सिर्जना सहज हुन्छ । साथै, नियमन, पारदर्शिता र सुरक्षा भएको वातावरणमा सञ्चालन हुने भएकाले यसले सुशासन, उत्तरदायित्व तथा सेयरधनी र सरोकारवालाको अधिकारको संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेल्दछ ।

विश्वमा सेयरबजारको सुरुवात सन् १६०२ मा डच इस्टइन्डिया कम्पनीले सर्वसाधारणलाई सेयर जारी गरेसँगै भएको मानिन्छ, जसपछि एम्स्टर्डम स्टक एक्सचेन्जको स्थापना भई आधुनिक पुँजी बजारको आधार तयार भयो । नेपालमा भने पुँजी बजारको औपचारिक विकास विसं २०३३ मा नेपाल स्टक एक्सचेन्ज स्थापना भएपछि सुरु भएको हो । प्रारम्भिक चरणमा सीमित कारोबार भए पनि हाल प्रविधिको विकास, विशेषगरी अनलाइन प्रणाली (सी-ट्रेड-टिएमएस)को प्रयोगसँगै यसको पहुँच र प्रभाव विस्तार हुँदै गएको छ । सेयरबजारको अभावमा व्यवसायले मुख्यतः बैंक ऋणमा निर्भर रहनुपर्ने हुन्छ, जसमा ब्याजसहित फिर्ता गर्नुपर्ने दायित्व रहन्छ । तर, सेयर जारी गरेर पुँजी सङ्कलन गर्दा यस्तो दायित्व हुँदैन, जसले व्यवसायलाई दीर्घकालीन योजना बनाउन र विस्तार गर्न सहज बनाउँछ । यसले उत्पादन वृद्धि, रोजगारी सिर्जना र सरकारको कर राजस्वमा वृद्धि गरी समग्र अर्थतन्त्रलाई सुदृढ बनाउँछ । त्यस्तै, सरकारले पनि सार्वजनिक परियोजना सञ्चालन गर्न बन्ड जारी गरी पुँजी जुटाउन सक्छन्, जसले करको भार घटाउँदै विकासलाई गति दिन्छ ।

विकसित, विकासोन्मुख तथा अतिकम विकसित देशमा सेयरबजारको प्रभाव फरक-फरक देखिन्छ । विकसित देशमा पुँजी बजारको आकार जिडिपीको सयदेखि एक सय ५० प्रतिशतभन्दा माथि हुने गरेको पाइन्छ, जसले अर्थतन्त्रमा अत्यधिक प्रभाव पार्दछ । विकासोन्मुख देशमा यो अनुपात करिब ४० देखि ८० प्रतिशतको बिचमा रहने गर्दछ भने अतिकम विकसित देशमा १० देखि ३० प्रतिशतको हाराहारीमा सीमित हुन्छ । नेपालमा नेपाल स्टक एक्सचेन्जको बजार पुँजीकरण जिडिपीको करिब ३० देखि ६० प्रतिशतको बिचमा उतार-चढाव हुने गरेको देखिन्छ, जसले पुँजी बजार अझै विकासको चरणमा रहेको स्पष्ट पार्छ । लगानीकर्ताका दृष्टिकोणबाट सेयर बजार एक तरल बजार हो, जहाँ दैनिक किनबेच सम्भव हुने भएकाले लगानीलाई सजिलै नगदमा परिणत गर्न सकिन्छ । मूल्य उतारचढावका कारण कम मूल्यमा किनेर बढी मूल्यमा बेच्ने अवसरले नाफा आर्जन गर्न सकिन्छ । साथै, केही कम्पनीले दिने लाभांशले नियमित आम्दानी पनि प्रदान गर्दछ, जसले लगानीकर्तालाई दीर्घकालीन रूपमा लाभ पुर्याउँछ ।

यद्यपि, सेयरबजार पूर्ण रूपमा जोखिमरहित हुँदैन, छैन पनि, हुनुहुँदैन पनि, उत्पादन नभई पुँजी बन्दैन, पुँजी नभई उत्पादन हुँदैन यो दुईबिच पुल बनी लगानीको प्रवेग र पुँजीको गुणक प्रभावले सबै मानिसलाई धनी बनाउने पुँजी बजारको सोच रहेको हुन्छ । ‘कोर्निङ’ (सीमित समूहले सेयर नियन्त्रण गरी मूल्य कृत्रिम रूपमा बढाउने), भित्री कारोबार (भित्री व्यापार) तथा कालो धनलाई सेतो बनाउने प्रयासजस्ता समस्या विश्वभर केही हदसम्म देखिन्छन् । यी समस्या नेपालमा मात्र नभई विकसित देशमा पनि पाइन्छन्, तर त्यहाँ कडा नियमन र प्रभावकारी कार्यान्वयनका कारण नियन्त्रणमा राखिन्छ । त्यसैले, पारदर्शिता, प्रविधि, कडा कानुनी व्यवस्था र सुदृढ नियामक निकायको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । सेयरबजारलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन कडा नियमन तथा अनुगमन प्रणाली विकास, प्रविधिको व्यापक प्रयोग, लगानीकर्ताको शिक्षा र सचेतना अभिवृद्धि, सुशासन प्रवद्र्धन तथा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने नीति आवश्यक हुन्छन् ।

अन्ततः पुँजी बजारलाई ‘अर्थतन्त्रको ऐना’ भनिन्छ किनकि यसले देशको आर्थिक अवस्था, लगानीकर्ताको विश्वास र भविष्यप्रतिको अपेक्षालाई प्रतिविम्बित गर्दछ । जब अर्थतन्त्र सुदृढ हुन्छ, सेयरबजार पनि सकारात्मक दिशामा अघि बढ्छ र जब आर्थिक अनिश्चितता बढ्छ, यसको प्रभाव बजारमा स्पष्ट रूपमा देखिन्छ । (लेखक बैंकर हुनुहुन्छ ।)

 

प्रतिक्रिया

लेखकको बारेमा

शिवराम ढकाल