विदुर । आइतबार गृहजिल्लाको भ्रमणमा आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले जनतालाई केन्द्रमा राखेर काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ । जनताको सेवामा कुनै राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्दै उहाँले व्यक्तिगत लाभ वा स्वार्थका लागि काम नगर्न सचेत गराउनुभयो । मन्त्री तिमिल्सिनाले अहिलेको सरकार कामकेन्द्रित र नतिजामुखी भएको बताउँदै सबै क्षेत्रलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । ‘अब कर्मचारी, विद्यार्थी र पत्रकारले राजनीति गर्ने होइन, आफ्नो भूमिकामा केन्द्रित हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा कर्मचारीसँग भएको छलफलमा उहाँले राजनीतिक परिवर्तनको उद्देश्य बुझेर जिम्मेवार ढङ्गले काम गर्न आग्रह गर्नुभयो । मन्त्री तिमिल्सिनाले भन्नुभयो, ‘राजनीतिक परिवर्तन किन भयो र नयाँ सरकार किन बन्यो भन्ने सबैले बुझ्न जरुरी छ । इमानदार भएर जवाफ खोजे मात्रै अब कसरी बढ्ने भन्ने स्पष्ट हुन्छ ।’ समस्या देखाउन सजिलो भए पनि आत्ममूल्याङ्कन आवश्यक रहेको उहाँको भनाइ थियो । ‘अरूलाई मात्रै औँला ठड्याउने होइन, अब आफैँतिर पनि औँला ठड्याउनुपर्छ । आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिएको छ कि छैन भनेर आत्ममूल्याङ्कन गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘हरेक नागरिक जिम्मेवार हुनुपर्छ, कसैलाई गैरजिम्मेवार हुने छुट छैन ।’ सेवा प्रवाहमा प्रविधि प्रयोग बढाउनुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन हुने स्पष्ट पार्नुभयो । उहाँले संसद्को मुख्य काम कानुन निर्माण भएको उल्लेख गर्दै दशकौँ पुराना कानुनका कारण काममा समस्या आएको बताउनुभयो । नयाँ कानुन निर्माण र पुराना कानुन परिमार्जन गर्दै प्रशासनलाई प्रविधिमैत्री बनाइँदै लगिएको उहाँले जानकारी दिनुभयो । मन्त्री तिमिल्सिनाले सरकारी कार्यालयले जनतालाई सेवा दिनकै लागि रहेको अनुभूति दिलाउन निर्देशन दिनुभयो । ढुङ्गा, गिट्टी र बालुवासम्बन्धी समस्या कानुनी रूपमा छिट्टै समाधान गरिने र जुनकुनै काम गर्ने वेला समस्या देखिएमा आवश्यक सहजीकरणका लागि आपूm सधैँ तयार रहने उहाँले उल्लेख गर्नुभयो । ‘पाँच वर्ष यसरी काम गर्नुहोस् कि कर्मचारीलाई आफ्नो कामप्रति गर्व होस्,’ उहाँले भन्नुभयो । जनताको सेवामा कुनै राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्दै उहाँले व्यक्तिगत लाभ वा स्वार्थका लागि काम नगर्न सचेत गराउनुभयो । मन्त्री तिमिल्सिनाले अहिलेको सरकार कामकेन्द्रित र नतिजामुखी भएको बताउँदै सबै क्षेत्रलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । ‘अब कर्मचारी, विद्यार्थी र पत्रकारले राजनीति गर्ने होइन, आफ्नो भूमिकामा केन्द्रित हुनुपर्छ,’ उहाँले भन्नुभयो । जनताको मतादेशबाट विचलित नहुने उल्लेख गर्दै उहाँले नुवाकोटलाई नमुना जिल्ला बनाउन समन्वय आवश्यक रहेको बताउनुभयो । नेपालले खोजेको नयाँ मार्गमा बढ्न सबैलाई आग्रह गर्दै उहाँले विभिन्न पूर्वाधार आयोजनाको अवस्थाबारे जानकारी पनि लिनुभयो । मन्त्री तिमिल्सिनाले बजेट कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने, नियमित रूपमा प्रगति विवरण सार्वजनिक गर्नुपर्ने र शून्य फाइल अभियान सफल बनाउन निर्देशन दिनुभयो । सेवा प्रवाहलाई छरितो, सहज र झन्झटरहित बनाउन तथा हुलाक सेवासमेत प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.अच्युत्तम लामिछानेले सम्बन्धित कार्यालय प्रमुख कामप्रति जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले नुवाकोटलाई शून्य बेरुजु जिल्ला बनाउने, सबैलाई समान अवसर सुनिश्चित गर्ने र कुनै पनि विभेद हुन नदिनुपर्नेमा जोड दिनुभयो । छलफलमा सार्वजनिक सेवामा सुधार, शान्तिसुरक्षा सुदृढीकरण, पूर्वाधार निर्माणलगायत विषयमा छलफल भएको थियो । सूचना प्रकाशनमा पारदर्शिता हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रहँदै जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्नुभएको छ ।
जिल्ला भ्रमणको क्रममा सोही दिन विदुर नगरपालिका-४ बट्टारमा आयोजित पत्रकार भेटघाटमा मन्त्री तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण भए पनि त्यसको नाममा भ्रामक सामग्री फैलाउनु उचित नहुने स्पष्ट पार्नुभयो । उहाँले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मअनुशासन र आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो । ‘सरकार सबै समस्या समाधान कारबाहीबाट मात्रै खोज्ने पक्षमा छैन, सञ्चार क्षेत्र आफैँ जिम्मेवार बन्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘हरेक समाचारले पार्ने असरबारे गम्भीर विश्लेषण गर्नुपर्छ । भ्रामक सूचनाले छोटो समयमै ठुलो क्षति पुर्याउने हुँदा त्यसमा सचेत रहनुपर्छ ।’ सरकारी विज्ञापन र सूचना प्रकाशनमा पारदर्शिता ल्याउन सरकारले नयाँ नीति कार्यान्वयनमा ल्याएको उहाँले दाबी गर्नुभयो । उहाँका अनुसार सरकारी सूचना सरकारी सञ्चारमाध्यममार्फत प्रवाह गर्ने व्यवस्था पारदर्शितासँग जोडिएको विषय हो । सञ्चार जगत् आफैँले उठान गरेका यस क्षेत्रका अनियमितता हटाउन सरकार अघि बढेको उहाँको भनाइ थियो । सञ्चार क्षेत्र बलियो र जिम्मेवार नभएसम्म सरकार पनि प्रभावकारी बन्न नसक्ने उल्लेख गर्दै उहाँले श्रमजीवी पत्रकारको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने सूचना सत्य हो कि होइन छुट्याउन नागरिक सचेत हुनुपर्ने बताउनुभएको छ । सोही दिन बिहान लिखु-६, छहरेबजारमा स्थानीयसँग भेटघाट गर्दै उहाँले गलत सूचना सरकारप्रति अनावश्यक अविश्वास फैलाउने नियतले आएका हुन सक्ने पनि बताउनुभयो । सरकार जनताको करबाट उठेको पैसा सही प्रयोग गर्न प्रतिबद्ध रहेको बताउँदै उहाँले दुरुपयोग देखिए नागरिकले प्रश्न उठाउनुपर्ने पनि बताउनुभयो । ‘सत्यमा आधारित प्रश्नले सरकारलाई थप जवाफदेही बनाउँछ । जिम्मेवार भएर खबरदारी गर्न र प्रश्न गर्न छाड्न हुँदैन,’ उहाँले भन्नुभयो, ‘तर खराब नियतले गलत सूचना सम्प्रेषण भएको छ भने त्यसलाई पहिचान गर्न आवश्यक छ ।’ अहिले सरकार भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता नीतिमा अघि बढेको पनि उहाँले बताउनुभयो । अब बोल्नेभन्दा काम गरेर देखाउने समय आएको उल्लेख गर्दै उहाँले परिणाममुखी काममा जोड दिइने बताउनुभयो ।







प्रतिक्रिया