Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

बागमती सरकारको खर्चभन्दा आय बढी

बागमती सरकारको खर्चभन्दा आय बढी
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

काठमाडौँ बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा पुँजीगत खर्चभन्दा राजस्व सङ्कलन बढी गरेको छ । प्रदेश सरकारले साउनदेखि चैत मसान्तसम्म स्वीकृत बजेटको रु.१९ अर्ब ४२ करोड ५७ लाख ८६ हजार बजेट खर्च गर्दा सोही अवधिको फागुनसम्म रु.३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन गर्न सफल भएको छ । यो अवधिमा प्रदेश सरकारको खर्चभन्दा राजस्व आम्दानी रु.पाँच अर्ब ६ करोड ४५ लाख एक हजार बढी छ ।

चालू वर्षमा प्रदेश सरकारको वार्षिक लक्ष्यको ३६.२९ प्रतिशत अर्थात् रु.२४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि फागुनसम्म रु.३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने लक्ष्य राखिएको थियो । यो लक्ष्यको तुलनामा ४५.१३ प्रतिशत अर्थात् रु.१३ अर्ब ९३ करोड ९७ लाख १५ हजार राजस्व सङ्कलन भएको प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आव २०८२/०८३ मा घरजग्गा रजिस्ट्रेसन शीर्षकबाट रु.सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पहिलो आठ महिनामा रु.दुई अर्ब ५६ करोड दुई लाख चार हजार राजस्व सङ्कलन भएको छ ।

प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट-पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/०८३ मा रु.आठ अर्ब २५ करोड अनुमान गरिएकामा रु.चार अर्ब ४४ करोड ९३ लाख ४० हजार राजस्व सङ्कलन गरेको छ । यस्तै, प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु.आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकोमा सो अवधिसम्ममा रु.पाँच अर्ब चार करोड ६५ लाख १७ हजार सङ्कलन भएको छ । अन्तःशुल्क करबापत रु.चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकामा रु.एक अर्ब ७५ करोड तीन लाख ३६ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु.१४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा आठ महिनाको अवधिमा त्यसको ५३.६० प्रतिशत अर्थात् रु.सात अर्ब ९४ करोड २७ लाख ५६ हजार प्राप्त भएको अधिकृत पौडेलले बताउनुभयो । चालू आव २०८२/०८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु.चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा आठ महिनाको अवधिमा लक्ष्यको ५२.३५ प्रतिशत अर्थात् रु.दुई अर्ब ५० करोड १२ लाख १८ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद-बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायतका कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको उहाँको भनाइ छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा २३.०९ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालू आव २०८२/०८३ को साउनदेखि चैतसम्ममा कुल बजेटको २८.७९ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत इन्द्रराज सन्ज्यालका अनुसार चालू आव २०८२/०८३ को नौ महिनामा प्रदेश सरकारले चालूतर्फ ३७.८६ प्रतिशत र पुँजीगततर्फ २३.०९ प्रतिशत बजेट खर्च गरेको छ । चालू आव २०८२/०८३ का लागि प्रदेश सरकारले रु.६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकोमा नौ महिना सकिँदा रु.१९ अर्ब ४२ करोड ५७ लाख ८६ हजार बजेट खर्च भएको उहाँले बताउनुभयो । विनियोजित बजेटमध्ये प्रदेश लोेकसेवा आयोगले ४७.६९ प्रतिशत, स्वास्थ्य मन्त्रालयले ४५.१८ प्रतिशत, श्रम रोजगार तथा यातायात मन्त्रालयले ४४.७९ प्रतिशत, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४३.१२ प्रतिशत, प्रदेश सभा सचिवालयले ४२.७१ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ३८.१५ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १४.०१ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । जेन-जी आन्दोलनका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वयन हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको अधिकृत सन्ज्यालले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह