Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

वनबाटै समृद्धि खोज्ने अभियान सुरु

वनबाटै समृद्धि खोज्ने अभियान सुरु
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । वन संरक्षण मात्र होइन, वनबाटै समृद्धि खोज्ने लक्ष्यसहित रसुवामा वनबाट समृद्धि खोज्ने अभियान सुरु गरिएको छ । यो अभियानले ‘हरियो वन नेपालको धन’ भन्ने पुरानो नारालाई आधुनिक आर्थिक रूपान्तरणसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ ।  वन्यजन्तु र मानवबिचको द्वन्द्व अन्त्यका लागि फलफूलका बोट रोप्ने गृहकार्य डिभिजन वन कार्यालय रसुवाले वनलाई आधुनिक आर्थिक रूपान्तरणसँग जोड्ने प्रयासका रूपमा अगाडि बढाएको छ । रोपेका फलफूलबाट बाँदर आहारा खेतबारीकै छेउछाउमै तयार हुँदा अन्नबाली क्षतिमा न्यूनीकरण हुने अपेक्षा कार्यालयले लिएको छ । कुनै समय ‘हरियो वन नेपालको धन’ भन्ने राष्ट्रिय नाराले देशभर वन संरक्षणको चेतना फैलाएको थियो भने पछिल्लो समय जङ्गलको संरक्षणबाट बाँदरलगायतका अन्य वन्यजन्तुको सङ्ख्या बढेपछि तिनीहरूलाई आहारा सङ्कटले खेतबारीमा लगाइएका बालीनाली क्षति पुर्याउन थालेकोले रसुवामा नयाँ थप कार्यक्रम कार्यालयले प्रस्ताव गरेको हो ।

स्थानीय समुदायको जीवन, पानीका मुहान, कृषि उत्पादन र जैविक विविधताको आधार बनेका वन अहिले जलवायु परिवर्तन, डढेलो, अवैध सिकार तथा प्राकृतिक क्षयीकरणका चुनौतीसँग जुधिरहेको छ । यिनै चुनौतीलाई अवसरमा बदल्दै रसुवामा वन र अन्नबाली संरक्षणका लागि आयआर्जनसँग जोड्ने नयाँ अभियान सुरु गरिएको छ । डिभिजन वन कार्यालय रसुवाले जिल्लास्तरीय विकास कार्यक्रम तर्जुमा गर्दै वन संरक्षणसँगै स्थानीय बासिन्दाको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले विभिन्न आयमूलक योजना अघि सारेको छ । कार्यक्रमबारे छलफल गर्न प्रदेश सभा सदस्य इन्द्रप्रसाद गोतामेको प्रमुख आतिथ्यमा गत हप्ता सरोकारवाला निकाय र उपभोग गर्ने सङ्घसंस्थाबिचमा अन्तरक्रिया तथा सुझाव सङ्कलन गरिएको थियो । कार्यक्रममा वन क्षेत्रमा लोक्ता रोपण गरी नेपाली हातेकागज उत्पादनका लागि स्थानीयलाई सिपमूलक तालिम प्रदान गर्ने प्रस्ताव अगाडि सरिएको छ । यसले वन संरक्षणसँगै घरेलु उद्योग प्रवद्र्धन र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । वन संरक्षणसँगै आयआर्जन अभियान दक्षिण-पश्चिम रसुवाको डाँडागाउँ, वनथली, फिकुरी र बौसेलगायत क्षेत्रमा वनस्पति संरक्षणसँगै आयआर्जनका कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरिएको छ । कालो यार्चा गुम्बा संरक्षण, निहुँरो प्रवद्र्धन तथा सिस्नु पाउडर उत्पादनमार्फत स्थानीय आय बढाउने योजना अघि सारिएको छ । त्यस्तै, सतुवा, कुड्की, निर्मसी, जटामसीजस्ता बहुमूल्य जडीबुटी खेती विस्तार, च्याउखेती, बाँस तथा निगालोखेती विकाससाथै खुर्पानी, एभोकाडो र लप्सीखेती विस्तार गर्न कार्यक्रमका सहभागीले सुझाव दिएका छन् ।

वनको इतिहासदेखि वर्तमान चुनौती
रसुवाका वन क्षेत्र विगतदेखि नै पानीको स्रोत संरक्षण, पशुपालन, जडीबुटी र पर्यटनको आधारका रूपमा चिनिँदै आएका छन् । तर, पछिल्ला वर्षमा बढ्दो डढेलो, वर्षा प्रणालीमा आएको परिवर्तन र चोरी सिकारका कारण वनमा दबाब बढेको छ । पछिल्ला केही वर्षदेखि डिभिजन वन कार्यालयका प्राविधिक कर्मचारीले वन क्षेत्रको निरन्तर अनुगमन तथा निगरानी बढाएका कारण निगालो जङ्गलसहित वन क्षेत्र संरक्षण सुदृढ बन्दै गएको छ । जैविक विविधता र रोजगारीमा केन्द्रित योजना कार्यक्रममा आगामी वर्षका लागि जैविक विविधता संरक्षण, वन्यजन्तु सेवा उपयोग, रोजगारी सिर्जना, जीविकोपार्जन सुधार, संवेदनशील जलाधार क्षेत्र संरक्षण तथा उच्च मूल्यका जडीबुटी पहिचान गर्ने लक्ष्य तय गरिएको छ । जलवायु जोखिम न्यूनीकरणका लागि अनुकूलन कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले जानकारी दिनुभयो । आमाछोदिङ्मो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले गत्लाङ क्षेत्रमा अल्लो खेती विस्तार गर्न र धुपीका बिरुवा संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । त्यसैगरी, वन उपभोक्ता समितिका प्रतिनिधि खाम्सिङ छिरिङ तामाङले सामुदायिक वनमा अनाधिकृत रूपले ढुङ्गा दोहन भइराखेका कारण तुरुन्त रोक्ने काममा सहयोग गर्न आग्रह गर्नुभयो । यस वर्ष पर्याप्त हिउँदे वर्षा भएका कारण डढेलोको प्रभाव न्यून रहेको डिभिजन वन कार्यालयले बताएको छ ।

प्राकृतिक संरक्षणमा नयाँ प्रविधि
वन क्षेत्रमा हुने भूक्षय रोक्न बाँस तथा निगालो रोपेर प्राकृतिक जैविक इन्जिनियरिङ प्रविधि प्रयोग गर्न सहभागीले सुझाव दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, उत्तरगया-२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीलगायत वन क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा सरोकारवालाको सहभागिता रहेको थियो । वन संरक्षण मात्र होइन, वनबाटै समृद्धि खोज्ने लक्ष्यसहित रसुवामा सुरु भएको यो अभियानले ‘हरियो वन नेपालको धन’ भन्ने पुरानो नारालाई आधुनिक आर्थिक रूपान्तरणसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह