Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

लाङ्टाङ पर्वतारोहण प्रशिक्षण केन्द्र र रसुवा सङ्ग्रहालय स्थापना गर्न पहल गर्दैछु

लाङ्टाङ पर्वतारोहण प्रशिक्षण केन्द्र र रसुवा सङ्ग्रहालय स्थापना गर्न पहल गर्दैछु
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

मोहन आचार्य
प्रतिनिधिसभा सदस्य, रसुवा

यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार देशभरबाट निकै पराजित भइरहँदा रसुवाबाट भने मोहन आचार्यले निर्वाचनमा विजयको ‘ह्याट्रिक’ गर्नुभएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा आचार्यले विसं २०७४, २०७९ र यसपटक जितेर काङ्ग्रेसको विरासत जोगाउनुभएको छ । इन्जिनियर आचार्यले २०७४ को निर्वाचनमा १४ हजार चार सय ५३, २०७९ मा १८ हजार दुई सय ३५ र यसपटक १० हजार ६ सय ५६ मत प्राप्त गरी प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सुनामीलाई छेकेर बागमती प्रदेशका १३ जिल्लाका ३३ मध्ये एक स्थान पुरानो दललाई दिलाउन सफल हुनुभएको छ । त्यसैगरी, सिन्धुपाल्चोकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एक स्थान जित्यो भने बाँकी रास्वपाले जितेको छ । काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका आचार्य रसुवा र नेकपाका युवराज दुलाल सिन्धुपाल्चोक २ बाट विजयी हुनुभएको हो ।

हालै सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार उत्तरगया-५, लहरे, बरथुम्कानिवासी ४९ वर्षीय आचार्य पिता अनन्तप्रसाद र माता ईश्वरीदेवी आचार्यका कोखबाट कान्छा सुपुत्रका रूपमा कालिकामाई, लहरेपौवामा जन्मनुभएको हो । उहाँले फिलिपिन्सबाट इन्जिनियरिङको पढाइ पूरा गर्नुभएको छ । सानैदेखि सामाजिक सेवामा अभिरुचि राख्ने आचार्य राजधानी काठमाडौँको नजिकै भएर पनि आधारभूत सुविधाबाट जिल्लावासी वञ्चित भएकामा चिन्ता व्यक्त गर्नुहुन्छ । आचार्य भन्नुहुन्छ, ‘जलविद्युत् र पर्यटन क्षेत्रको विकास गर्दै जिल्लामै बहुप्राविधिक शिक्षालय स्थापना गर्ने मेरो पहल हुन्छ ।’ उहाँले प्रत्येक गाउँपालिकामा कम्तीमा एक नमुना विद्यालयको विकास, आधुनिक प्रयोगशाला र पुस्तकालय व्यवस्था गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्माण व्यवसायी आचार्य भन्नुहुन्छ, ‘रसुवाको प्राकृतिक स्रोत र अलग्गै पहिचान हाम्रो सम्पत्ति हो । भौगोलिक संरचना कठिन भएकाले अन्य जिल्लामा जस्तो विकासका पूर्वाधार पूरा गर्न यहाँ कठिन छ ।’ पर्यटकीय गतिविधि र अन्य क्षेत्रको विकासका लागि निकुञ्ज ऐन परिमार्जन गरी जनमैत्री बनाउन विगतदेखि आफू लागिपरेको उहाँ बताउनुहुन्छ । आचार्य भन्नुहुन्छ, ‘यसपटक मेरो पहिलो प्राथमिकता राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन परिमार्जन गर्नुहुनेछ ।’

धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रका रूपमा रसुवा विश्वमै परिचित छ । यही परिचयलाई प्रचारप्रसार गरेर अघि बढाइने जनाउँदै उहाँ थप्नुहुन्छ, ‘धार्मिक महत्त्व रहेको गोसाईँकुण्डको व्यवस्थापन, यहाँ जाने मार्ग, आवासको व्यवस्था र यसको महत्त्वबारे अझ बढी प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजना छ ।’ ‘प्राकृतिक सौन्दर्ययुक्त लाङटाङ क्षेत्रमा पर्यटक भित्र्याउन योजनाबद्ध काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘रक क्लाइम्बिङका लागि अब सोलुखुम्बु जानुपर्दैन, यहीँ रमाउन सकिन्छ । साहसिक खेलका लागि रसुवा अन्य भन्दा उपयुक्त जिल्ला हो ।’ रसुवा छिमेकी मुलुक चीनसँग जोडिएको छ । त्यसैले पनि रसुवा नाकासम्म विनाअवरोध सडक निर्माणको आवश्यकता छ । ‘अहिले भएको सडक स्तरोन्नति गरी व्यवस्थित पार्न सके यसले जिल्लाको मात्र नभएर देशकै आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान दिन सक्छ,’ आचार्यले भन्नुभयो, ‘रसुवा नाकालाई व्यवस्थित गर्न नीतिगत रूपमै काम गर्ने तयारी सुरु गरिसकेको छु । जिल्लाका महत्त्वपूर्ण सडकमा १० भन्दा धेरै पुल निर्माण गरी यातायातको सेवा विस्तार गर्नुपर्नेछ । सबैलाई खानेपानीको पहुँच पुर्याउन सकिएको छैन । आधारभूत सेवासुविधा दिन मेरो भूमिका रहन्छ,’ सांसद आचार्यले भन्नुभयो । जिल्ला अस्पताललाई स्तरोन्नति गरी विशेषज्ञ चिकित्सक, आधुनिक आइसियू सेवा सुनिश्चित गर्नाका साथै सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रमलाई अनिवार्य गराउने तयारी गरिएको उहाँले बताउनुभयो । लाङटाङमा पर्वतारोहण प्रशिक्षण केन्द्र स्थापना गर्ने, गोसाईँकुण्ड धार्मिक परिपथ पदमार्ग व्यवस्थित गर्ने, धर्मशाला निर्माण र प्राथमिक तथा आकस्मिक उपचार शिविर र सुरक्षा चौकीको व्यवस्था गर्ने पनि उहाँको प्राथमिकतामा छ । रसुवाको ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणका लागि एक आधुनिक सङ्ग्रहालय निर्माण गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह