अलैँची खेतीबाटै डोल्माको घरखर्च

  • त्रिशूली प्रवाह
  • २० माघ २०७८, बिहीबार १६:४५

धुन्चे: ६ वर्षअघि अलैँची खेती गरेर घरखर्च पुर्यायाउन सक्छु भन्ने नसोचेकी रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ५ ठूलोभार्खुकी दाबाडोल्मा घले अहिले अलैँची खेतीबाटै मनग्गे आयआर्जन गरिरहेकी छिन् ।


०७२ असारदेखि सुरु गरेको अलैँची खेतीबाट गत वर्ष ५२ किलो अलैँची ६ सयको दरले बिक्री गरेको बताउँछिन् । ६ वर्षअघि एक सय ५० वटा बिरुवा १५ रुपैयाँको दरले तत्कालीन कृषि विकास कार्यालयबाट व्यक्तिगत रूपमा किनेर रोपेको बिरुवा फलेर हाल चार सयभन्दा बढी रहेको छ । यस वर्ष ८० किलो अलैँची एक हजारको दरले बिक्री भएको दाबाडोल्माले त्रिशूली प्रवाह साप्ताहिकलाई बताइन् । फल्न त एक सय ६० किलो फलेको थियो, आधीजस्तो भालुले खाइदियो, बाली नास भयो भनेर निकुञ्जमा निवेदन दिएको अहिलेसम्म केही अत्तोपत्तो नभएको उनको गुनासो छ । ६ वर्षको दौरानमा सुरुमा किन्दा एक सय ५० बाट एक सय ७५ हुँदै हाल चार सय अलैँचीको बोट रहेका छन् । कृषि पेसा अँगालेरै नौजनाको परिवार उनले सहजसँग पालेकी छिन् । श्रीमान् र उहाँ मिलेर अलैँचीलगायत अर्गानिक खेती काउली, बन्दा, मुला, गोलभेँडा, साग, लसुन, खुर्सानीलगायत मौसमी÷बेमौसमी तरकारी खेतीसँगै कुखुरासमेत पालेकी छिन् ।


गरे के हुँदैन र भन्ने उदाहरणीय बनेकी छिन् दाबाडोल्मा घले । गोसाइँकुण्ड गाउँपालिका– ५ खोपाङमा रहेको दुई रोपनी भिरालो आफ्नै जग्गामा अलैँचीलगायत अरू तरकारी लगाएर आय–आर्जन गरिरहेकी दाबाडोल्माले पढेकी छैनन्, तैपनि पढेलेखेसरह नै काम गर्न सक्छु भन्छिन् । कुनै सङ्घ–संस्था र सरकारी निकायको अनुदान नलिई आफ्नै व्यक्तिगत खर्चले व्यावसायिक कृषक बनिरहेकी दाबाडोल्माले काम गरे विदेश यहीँ छ, दुःख जहाँ गए पनि गर्नैपर्छ भनेर गाउँका दाजुभाइ, दिदीबहिनीलाई हौसला दिने गरेकी छिन् ।