त्रिशूली स्वच्छ र धार्मिक नदीमा रुपान्तरण हुँदै

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७८, शुक्रबार ०८:३९


विदुर: गत ०७४ को स्थानीय निर्वाचनमा विदुर नगरपालिकामा मेयर पदमा उम्मेदवार भएर सञ्जु पण्डित जनताको घरघरमा पुगेका थिए । उनले त्रिशूली नदीलाई स्वच्छ र धार्मिक नदी बनाउने प्रतिबद्धतासहित भोट मागे र विजयी पनि बने ।


निर्वाचनको दौरानमा जनतासामु व्यक्त प्रतिबद्धताअनुसार त्रिशूलीलाई स्वच्छ र धार्मिक नदी बनाउन मेयर पण्डितले शपथग्रहण गरेको दिनदेखि लागिपरिरहे । उनको प्रयास पाँच वर्ष कार्यकालको उत्तरार्धमा आएर मूर्तरूप लिने अवस्थामा पुगेको छ । मेयर पण्डित आफूले गरेका प्रतिबद्धताअनुसार नगरभित्रको बेत्रावतीदेखि देवीघाटसम्म त्रिशूली नदीलाई स्वच्छ र धार्मिक नदी बनाउने अभियान लिएर प्रदेश तथा सङ्घीय सरकार धाइरहे । विगतमा सीधै ढल त्रिशूली नदीमा मिसाउने गरिएको विदुरको बेत्रावती र देवीघाटबजारको ढल व्यवस्था गर्न र प्रशोधन केन्द्र बनाउन बागमती प्रदेश सरकारको सहयोगमा सुरु भयो । उक्त निर्माणकार्य अहिले अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको खानेपानी तथा ढल निकास विभागमार्फत मेयरको पहलमा सहरोन्मुख बस्तीमा ढल व्यवस्थापन गरी प्रशोधन गर्ने कार्यका लागि डिपिआरसहित टेन्डरको प्रक्रियासमेत अहिले अगाडि बढिरहेको छ ।


विभागले दिएको जानकारीअनुसार नगरपालिकाको वडा नं. १ त्रिशूलीबजार, ढुङ्गे, वडा नं. ९ को कोलनी, प्लास्टर र वडा नं. ४ को तल्लो विदुरको ढल निर्माण गरी प्रशोधन केन्द्र निर्माणका लागि डिपिआर तयार गरी ७० करोडको टेन्डर हुन लागेको छ । यो योजनामा वडा नं. १ र वडा नं. ९ को ढल सामरी दोभानमा र वडा नं. ४ को सिमचौरमा प्रशोधन केन्द्रमार्फत प्रशोधन गरेपछि शुद्ध पानी त्रिशूली नदीमा पठाइनेछ । मेयरले गरेको प्रतिबद्धताअनुसार ६० करोडको टेन्डर भएर ठेकेदारमार्फत विनपा– २ को बट्टार, विनपा– ४ को विदुर, बट्टार, वडा नं. ५ र ६ मा ढल निर्माण भई वडा नं. ६ को खम्पा क्याम्पमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । यो छिट्टै निर्माण सम्पन्न हुने नगरपालिकाले जानकारी दिएको छ । अब मेयर पण्डितले सुरु गरेको त्रिशूली स्वच्छ र धार्मिक नदी बनाउने अभियान छिट्टै पूरा हुने भएको छ ।


नगरपालिकाको फोहोरमैला व्यवस्थापन कार्यलाई परम्परागत प्रणालीलाई विस्थापन गर्दै हाल प्रयोगमा ल्याएको एकीकृत फोहोरमैला व्यवस्थापन प्रणाली (स्रोतबाट नै जैविक र अजैविक छुट्याउने) प्रणालीको सुरुवात भइरहेको छ । नगरपालिकाले निर्माण गरेको अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउसको सञ्चालन एक वर्षदेखि भइरहेको छ । सेग्रिगेसन हाउसको सञ्चालन भइसकेपछि नगर क्षेत्रबाट उत्सर्जन हुने १४ टन फोहर करिब ६ ट्रिप फोहोर डम्पिङसाइडमा खेर गइरहेको थियो । हाल सेग्रिगेसन हाउसको निर्माणपश्चात् दैनिक दुई ट्रिप फोहोर मात्र डम्पिङसाइडमा पठाइन्छ, बाँकी चार ट्रिप फोहोर मोहरको रूपमा बदलिएको छ । यसबाट नगरपालिकाका १५ जना नागरिकले रोजगारी प्राप्त गरेका छन । मेयर पण्डितले सेग्रिग्रसन हाउसको दिगो सञ्चालन र अझ व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक बजेटको समेत व्यवस्था गरेका छन् । उनले नगरवासीलाई आफ्नो घरबाट निस्कने फोहोरलाई घरबाट नै जैविक र अजैविक छुट्यायर मात्र पठाउन अनुरोधसमेत गरेका छन् ।