स्थानीय तह निर्वाचन पालिकाका उपप्रमुखको प्रमुखमा दाबी

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७८, शुक्रबार ०९:०१

विदुर: स्थानीय तहको निर्वाचन मिति नजिँकिदै छ । नेपाल सरकारले ०७९ वैशाख ३० गते निर्वाचनको मिति तोकेको छ । गत २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पदावधि सकिन तीन महिना मात्र बाँकी छ । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन ८६ दिन बाँकी छ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारका आकाङ्क्षीको सङ्ख्या नुवाकोटमा बढिरहेको छ ।


गत स्थानीय तह निर्वाचनमा निर्वाचित नुवाकोटका १२ वटै पालिकाका उपप्रमुख प्रमुख पदका लागि आकाङ्क्षी देखिएका छन् । १२ वटै पालिकाका उपप्रमुखले पाँच वर्ष काम गरेको अनुभवको आधारमा आफूलाई प्रमुखका लागि सक्षम रहेको दाबी गरिरहेका छन् । संवैधानिक व्यवस्थाअनुसार एउटै दलबाट स्थानीय तहमा उम्मेदवार बनाउँदा प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य रहेको छ । उक्त व्यवस्थाअनुसार राजनीतिक दलले नुवाकोटका १२ वटै पालिकामा उपप्रमुखमा मात्र महिला उम्मेदवार उठाएका थिए । गत निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका सातवटा पालिकामा उपप्रमुख, नेकपा एमालेको तर्फबाट तीनवटा पालिकाको उपप्रमुख र नेकपा माओवादी केन्द्रको तर्फबाट दुईवटा पालिकाको उपप्रमुख जितेको थियो । पालिकाका बहालवाला उपप्रमुखले पार्टीले जिम्मेवारी दिएमा प्रमुख पदमा उम्मेदवार दिने इच्छा व्यक्त गरेका छन् ।

गत स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको तर्फबाट उपप्रमुख पदमा उम्मेदवार दिएर विजयी भएकी किस्पाङ गाउँपालिकाकी बहालवाला उपप्रमुख मायादेवी न्यौपाने, म्यागङ गाउँपालिकाका उपप्रमुख शान्ति लामा गुरुङ, तादी गाउँपालिकाका उपप्रमुख ईश्वरी उप्रेती, दुप्चेश्वर गाउँपालिकाकी उपप्रमुख अञ्जु आचार्य, पञ्चकन्या गाउँपालिकाकी उपप्रमुख सीता पराजुली खड्का, शिवपुरी गाउँपालिकाकी उपप्रमुख मञ्जु केसी, सूर्यगढी गाउँपालिकाकी उपप्रमुख मञ्जु बुढाथोकीले महिलालाई कमजोर ठान्न नहुने, महिला प्रमुखका लागि सक्षम रहेको बताए । प्रमुख भएर काम गर्न सक्ने क्षमता र योग्यता रहेकाले आगामी वैशाखमा हुन गइरहेको पालिका चुनावमा उम्मेदवार हुनका लागि मञ्जु बुढाथोकी, मञ्जु केसी, अञ्जु आचार्य र शान्ति लामा गुरुङले नेपाली काङ्ग्रेस पार्टीमा दबाब दिइरहेका छन् ।


त्यसैगरी, एमालेको तर्फबाट तारकेश्वर गाउँपालिकामा गत स्थानीय चुनावमा विजयी भएकी उपप्रमुख तारादेवी रिमाल, लिखु गाउँपालिकाकी उपप्रमुख रोजिना राई, विदुर नगरपालिकाकी उपप्रमुख गीताकुमारी दाहाल अर्यालले पनि प्रमुख भएर काम गर्न सक्ने दाबीसहित आकाङ्क्षी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट बेलकोटगढी नगरपालिकाको उपमेयर (उपप्रमुख) कविता ढुङ्गाना र ककनी गाउँपालिकाको उपप्रमुख सीता लामाले पनि सधैँ पुरुषलाई मात्र प्रमुखको उम्मेदवार बनाउन नहुने तर्क गर्दै प्रमुख पदमा दाबी रहेको बताएका छन् । राजनीतिक दलका नेताहरूमा पुरुषले मात्र प्रमुख पदमा जित्न सक्छ भन्ने भ्रम नहटेसम्म महिलाले प्रमुख पदमा उम्मेदवारी हुन अझै नुवाकोटमा केही समय कुर्नुपर्ने अवस्था रहेको छ । पुरुष प्रभुत्वको कारण राजनीतिक रूपमा सक्षम भएर नेतृत्वमा जान खोजेको महिलालाई पुरुषप्रधान समाज भएको र आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार नहुँदा अघि बढ्न बाधा रहेको कानुन व्यवसायी एवं नुवाकोट बार एसोसिएसनका पूर्वअध्यक्ष देवराज कँडेलले बताए । महिलाले दलभित्र अवसरको लागि गुनगुन मात्र गरेको देखिन्छ । अघि बढ्ने आँट र क्षमता नगर्दा महिलालाई अझै प्रमुख पदमा उम्मेदवार बनाउन प्रमुख राजनीतिक दल अग्रसर देखिँदैन । दलहरूले महिलालाई संवैधानिक व्यवस्था पूरा गर्न देखाउनकै लागि उम्मेदवार उठाउने प्रवृत्तिमा परिवर्तन गर्न महिला नै अग्रसर हुनुपर्ने नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।