विद्युत् खपत कसरी बढाउने ?

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७८, शुक्रबार १२:५०


  • हरिप्रसाद रिमाल

नेपालमा विद्युत् उत्पादन यस वर्षदेखि निर्यात गर्न पुग्ने गरी उत्पादन भएको छ । सरकार विद्युत् निर्यात गर्न खोजे पनि भरपर्दो हुने गरी विद्युत् निर्यातको प्रस्ताव नआउँदा उत्पादित विद्युत् खेर जाने हो कि भन्ने चिन्तामा रहेको छ । विद्युत्लाई पेट्रोलियम पदार्थको विकल्पको रूपमा प्रयोग गर्न सर्वत्रबाट सल्लाह र सुझाव आइरहेको छ । प्राप्त सल्लाह र सुझावलाई सरकारले ग्रहण गरेर दीर्घकालीन योजना बनाउन सके नेपालको वैदेशिक व्यापार घाटा कम गर्न सकिनेछ । विद्युत् खपत बढाउनेबारे मैले केही सुझाव सरकार र सरोकारवाला निकायलाई दिने जमर्को गरेको छु ।


१. अहिले शासनसत्तामा बसेका जनतासँग आह्वान गरिरहेका छन्, ‘विद्युत् खपत बढाऊ ! विद्युत् खपत बढाऊ !’ कसरी बढाउने त जनताले विद्युत् खपत ? पहिले सर्वसाधारण जनताकै कुरा गरौँ न के भयो भने विद्युत् खपत् बढाउन सक्छन् त जनताले ? एकै वाक्यमा भन्ने हो भने सरकारले विद्युत् महसुल घटाइदियो भने जनताले अनिवार्य रूपमा प्रयोग गरिरहेका खाना पकाउने ग्यास विस्थापित हुन सक्छ र जनता विद्युतीय चुलोको प्रयोग गर्न थाल्छन् । त्यसका लागि पहिले सरकार उदार हुनुपर्यो ! महसुल घटाउनुपर्यो । छिमेकी सानो देश भुटानले कसरी विश्वमै सबैभन्दा सस्तो दरमा विद्युत् महसुल लिएर जनतालाई त्यसको प्रयोगमा उत्साहित गरिरहेको छ, त्यसबाट सिक्नुपर्यो । महसुल घटाउनचाहिँ दाँतबाट पसिना निकाल्ने अनि ‘विद्युत् खपत बढाऊ’ भन्ने हो भने सरकारका त्यस्ता नकच्चरा कुरा कसरी सुन्न र सोअनुसार गर्न सक्छन् त जनता ? महसल कम भयो भने ग्यासको आयातमा खर्च हुने विदेशी मुद्रा मज्जासँग बचत गर्न सकिन्छ ।


२. विद्युत् खपत बढाउने अर्को महत्वपूर्ण उपाय विद्युतीय यातायातका साधनको प्रयोग हो । दुर्भाग्य यस देशमा यस्ता विद्यावारिधिधारी अर्थशास्त्री व्यक्ति पनि अर्थमन्त्री भए, जसले आफ्ना मानिसलाई पोस्न चकलेटमा भन्सार महसुल घटाएर विद्युतीय साधनको आयातमा भन्सार महसुल बढाइदिए । अर्का त्यस्तै उपाधिधारी अर्थशास्त्री अर्थमन्त्रीले विद्युत् साधनको आयात बढे तिनमा प्रयोग भएको व्याट्री कहाँ लगेर थन्क्याउने भन्ने लबस्तरो तर्क अघि सारेर विद्युतीय सवारीसाधनलाई निरुत्साहित पारे । अब सरकारले हिम्मतिलो आँट गरेर निजी र सार्वजनिक साधनको प्रयोग बढाउन त्यस्ता साधनमा भन्सार महसुल घटाइदिनुपर्छ । त्यसो भयो भने पेट्रोलियम पदार्थको आयात ह्वात्तै घटाउन सकिन्छ र त्यसबाट विदेशी मुद्राको सञ्चिति बढ्नाका साथै वातावरणीय क्षेत्रमा समेत उल्लेखनीय सकारात्मक प्रभाव पर्छ ।


३. राणाकालमा सञ्चालन भएको हेटौँडा–काठमाडौं रोपवे (केबुलकार) व्युँताउने र अन्यत्र पनि कहाँ–कहाँ सकिन्छ पहाडी भेगमा केबुलकार स्थापना प्राथमिकताका साथ गर्न सके विद्युतीय खपत बढ्नुका साथै ढुवानी भाडा पनि मजासँग घट्ने थियो । पेट्रलियम पदार्थ कम खपत भएर यसबाट पनि विदेशी मुद्राकै बचत हुन्थ्यो ।


४. उद्योगधन्दालाई प्रोत्साहन गर्दा पनि विद्युत् खपत बढ्थ्यो । तल्लो भागबाट पानी तान्न पम्पको मूल्यमा अनुदान दिएर विद्युत् महसुल घटाउँदा सिँचाइको सुविधा बढी कृषि उत्पादन बढ्थ्यो र विदेशबाट आयात गरिने तरकारी, फलफूल र अन्नबालीमा कमी आउँथ्यो ।


५. यति गरिसकेपछि विद्युत् खपत भएन भने अनि निकासीको कुरा गरे हुन्थ्यो । अहिले त कामभन्दा कुरा नै बढी भइरहेको छ । सरकारमा बस्नेले काम कम र कुरा बढी गरिरहेका छन् । सार्वभौम राष्ट्रका निम्ति कसैले दिन लागेको ५५ अर्बको दान के हो र ? त्यसलाई ५५ अर्ब डलर मात्र होइन कि खर्ब डलरजस्तै ढङ्गले व्याख्या गरिएको छ । त्यसलाई पनि विद्युत् विकाससँगै लगेर जोडी त्यो अनुदान नलिए यस देशमा विद्युत्को विकास नै ठप्प हुनेजस्तो गरी कोकोहोलो मच्चाइएको छ ।

सामरी, नुवाकोट
हाल : कामपा–५, हाँडीगाउँ
(लेखक : पूर्वप्रशासक, आध्यात्मिक चिन्तक तथा साहित्यकार हुन् ।)