राजा महेन्द्र कम्युनिस्ट थिए त ?

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:१५

  • रामहरि बाजे रिमाल

कुनै पनि निष्ठ बन्नका लागि उक्त नामअनुसारको कार्यनिष्ठता अनिवार्य हुन्छ । मैले आफैँले देखेको, भोगेको अनुभवमा राजा महेन्द्रले गरेका, देशमा लागू गरेको जनमुखी कार्य हेर्दा उनी सच्चा जनवादी कम्यु–निस्ट–आदर्श नेता थिए ।


यसको प्रत्यक्ष प्रमाणको रूपमा ०२१ सालमा भूमिसुधार ऐनअन्तर्गत लेखाई–देखाई गरेका ७ नं. र १४ नं. फाराम सबैका घरमा राखेका कागजपत्रका पुराना पोका फुकाएर हेर्नुहोला । त्यहाँ भेटिएन भने भूमिसुधार कार्यालयको रुमालको पोको फुकाएर पढ्नुहोस्– जनवादी व्यवस्था ०२१ सालमै लागू भइसकेको थियो । (१) पहाडमा ९० रोपनी र तराईमा चार बिघा जग्गाभन्दा बढी जग्गा एक परिवारले ओगटेर भूमिलाई उर्वर हुनबाट वञ्चित गर्न नपाइने । बढी भएको जमिन श्रमजीवी–कृषक तर भूमिहीनलाई बढीमा चार बिघासम्म दिएर उर्वर भूमिको उत्पादन बढाएर देशको अनिकाल र गरिबीबाट मुक्त गर्ने । हरेक किसानले भूस्वामित्व पाएपछि स्व–इच्छित श्रमबाट गरेको उत्पादनबाट धनी–गरिबबीचको वैमनश्यता हटाएर जमिनदार र मुखियालाई मालिक…. भनेर गरिने सम्बोधन हटाएर आत्मसम्मान साथ बाँचेर जनसमानताको अनुभूति गराउने । त्यो १८ इन्च ×१८ इन्चको फारममा कति कोठा छन्, त्योभित्र प्रस्ट पारिएका किसान मजदुरका जनजीविका र आर्थिक विकासका गोरेटा साथै त्यो मार्गलाई अवरोध हुन नदिने गरी ८’ इन्च ×१२ इन्चको ७ नम्बर फारमसमेतबाट जनअधिकारलाई सुरक्षा गरिएको सोहीअनुसार भूमिसुधार ऐन बनाएका थिए । त्यसलाई क्रान्तिकारी भूमिसुधार लागू गर्ने विशेष अदालतसमेत गठन गराएर अन्तिम फैसला गर्ने अधिकारसहित दौडाहा टोलीसमेत गठन गरेर हरेक जिल्लाको भूमिसुधार र मालपोतको भ्रमण गराएर हाताहाती फैसला गराएर विधुवा छोरी, बुहारी, जेठी, कान्छी, आमालाई समेत गुजारालायक भू.सम्पत्ति दिलाएर मिलापत्र साथ स्थलगत फैसला अन्तिम हुने गर्दथ्यो । यस्ता घटनाले वैदिक साम्यवाद पुनस्र्थापना भएको अनुभव गराएको बेला आजजस्तो दिउँसै रात पारेर २० वर्षसम्म एउटै मुद्दालाई लङ्गारेर न्यायकर्मीले प्राडो गाडी चढ्ने र आलीशान साततले घर ठड्याउने चलन थिएन । तर्कमा झुलाएर न्यायकर्मीले प्राडो गाडी चढ्ने र साततले घर बनाउने चलन थिएन । यी वाक्यांशहरू नपत्याए प्रेम कैदी, भरत जंगम, सूर्यबहादुर सेनवली, नानीमैयाँ दाहालजस्ता पुराना कार्यकर्तासँग सिक्नुहोस् । राजा महेन्द्रको सिद्धान्त मौरीको जस्तो सदुपयोगवादी थियो । भूमिसुधार ऐनमा ग्रामीण बचत, धर्मभकारी, वडा–वडामा स्थापना गरेर हरेक किसानले आफ्नो खेतबारीमा जे–जे फलेको छ त्यही कमाइबाट गच्छेअनुसार एक पाथीदेखि मुरीसम्म जम्मा गरेर ग्रामीण धर्मभकारी भरेर राखिन्थ्यो । उक्त भकारीबाट अनिकाल पर्दा अनिकाल टारेर आ–आफ्ना खेतबारीमा लगनशील भएर खेती गर्ने प्रचलन थियो । भकारीबाट लिएको पौँचो खाएको अन्न तिर्ने चलनले गाउँमा अनिकाल लागेमा डराउनुपर्ने अवस्था थिएन । मौरीको धर्मकर्म पनि यही हो– वसन्तकालमा फूलबाट अनुशासित ढङ्गले सङ्कलन गरेको थोपा–थोपा महलाई आफैँले बनाएको चाकामा भरेर सुक्खा र जाडोमा सबैले मिलेर खाँदै आफ्नु (रानुलाई) समेत पुष्ट राख्छन् । धर्मभकारीको कन्सेप्ट पनि यही हो ।


प्रजा मोटा भया दर्बार बलियो हुने फर्मुला यही होइन र……? अर्को मुख्य काम– ०१८÷१९ सालमा सर्वहारा वाम राज्य चीनसँग हात मिलाएर कोदारी राजमार्ग, पृथ्वी राजमार्ग र भारतले थापेको बल्छीलाई तोडी नारायणघाटबाट पोखरा जान आठ हजार फिट अग्लो सिमभञ्ज्याङ चढेर नौबिसे हुँदै पोखरा जानुपर्ने धराप तोडेर मुङ्लेनी नारायणघाट ३० किलोमिटरले जोड्ने साहसलाई नेपाल–चीन मित्रता जिन्दावाद भन्नैपर्छ । १८ ठाउँको हिमाली क्षेत्रमा कब्जा जमाएर बसेका भारतीय सैनिक ब्यारेक फिर्ता पठाएर गरेको साहसलाई खाटी वामपन्थी नभन्ने त….. ? साझा भण्डार टेकु, हरेक जिल्लामा साझा पसल, नेसनलले ट्रेडिङ राष्ट्रिय विकास सेवा, गाउँफर्क अभियानजस्ता गाउँ र जनमुखी कामबाट पञ्चायतको चाहना, शान्ति र सिर्जना भन्ने नारा पुष्टि गराएन त…..? भ्रष्टाचारको कुरा गर्दा ०१९ सालमा पाटनढोकाको अलि तल तेर्सो बाटोमा तत्कालीन शक्तिशाली मन्त्री खड्गबहादुर सिंहले सिमेन्टीको पिल्लरमा दुईतले घर बनाउँदा…. खड्गबहादुरको उड्ने र गुड्ने घर भनेर समीक्षा र नयाँ सन्देश पत्रिकाले मूलपृष्ठभरिको विरोध लेखेर सार्वजनिक भएपछि कारबाही भएको थियो । तर, आज सर्वहाराको दुहाई दिएर सत्तामा पुगेका नेताहरूको व्यवहार कम्युनिस्ट छ त ? कुनै पेसा नभएका लठैत र तल्लो दर्जामा काम गर्ने सरकारी कर्मचारीले पाँचतले घर बनाउँदा सत्तासीनले तिनैलाई खोजेर तक्मा भिराउँछन्, यही हो त सर्वहाराको राजपाठ….? राजा महेन्द्रले १४–१५ वर्षको राज्यकालमा स्थापना गरेका उद्योग–धन्दा र परराष्ट्रनीतिमा स्थापना गरेको शालीनतालाई सबै लेख्ने हो भने आजको भुइँफुट्टाहरूले नपत्याउन सक्छन् । असंलग्न राष्ट्रको प्रथम विश्व सम्मेलनमा मार्शलटिटोको साथ उभिएर बोलेको परराष्ट्र नीतिले गर्दा नै नेपालको छुट्टै पहिचान विश्वमानचित्रमा राख्न सफल भएको छ । उनले नेपालको परिचय गराएर असंलग्नतामा गजुर थपेको बिर्सनुहुँदैन ।


महेन्द्रले यातायात, उद्योग, व्यापारतर्फ पनि नयाँ कार्य गरेर नेपाललाई सुगम र समृद्ध बनाउने अभियान थालेका थिए । पूर्व–पश्चिम राजमार्ग, टिम्बर कर्पोरेसन हेटौँडा, वीरगन्ज चिनी मिल, भृकुटी कागत, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, बुटवल धागो कारखाना, हेटौँडा कपडा उद्योग, गोरखकाली टायर, हिमाल सिमेन्ट, यातायात संस्थान, साझा बस, साझा प्रकाशन, हेटौँडा–काठमाडौं रोल्वे, ट्रलीबस, राप्तीदुन विकास, पुनर्वास योजना, भक्तपुर इँटा टायल, हरिसिद्धि इँटा टायल, पूर्वपहाडको खरिढुंगा उद्योग, लुम्बिनी चिनी मिल, बाँसबारी छालाजुत्ता, साझा भण्डार, साझा पसल, देशका सम्भावित क्षेत्रमा स्थापना गर्ने–गराउने पैसा कताबाट जुटाए त….? प्रथम बेलगे्रड सम्मेलनमा विश्वका राष्ट्रध्यक्षसँग गरेको असंलग्नताको नीतिको प्रस्तावले अमेरिका, सोभियत सङ्घ रुस, चीन, बेलायत, भारत, जापान, कोरिया, अस्ट्रेलिया, डेनमार्क, नर्वे, फिनल्यान्ड, स्विटजरल्यान्ड, जर्मनी, फ्रान्स, होल्यान्डलगायत देशले भूपरिवेष्टित देश नेपालको हितमा सहयोग गर्ने वातावरण बन्यो । राजा महेन्द्रले आफ्नो १५–१६ वर्षे राज्यकालमा ती राष्ट्रको सहयोगले गर्दा नेपालमा उद्योग, कल, कारखाना खोल्ने लहर चल्यो । यो सबै असंलग्न परराष्ट्रनीतिकै कमाइ थियो भनेर ठेकुवा गर्ने आँट गरेर हाम्रा देशका नेताहरूले अब कुनै देशको एकलौटी अन्धो समर्थन गरेर विदेशी मित्रमा भेददृष्टि अगाडि तेस्र्याएर अर्को मित्रसँग दुस्मनी गर्ने, गराउने कार्य बन्द गर्नुपर्छ ।
अन्त्यमा, अब यो देशमा च्याउजस्तै उम्रने पार्टीलाई खारेज गरेर संविधानमै दुई वा तीन दल मात्र रहने व्यवस्था गर्ने बहस चलाउने बेला आएको छ । बलिया–बाङ्गा गरिखाने युवालाई समेत बरालेर र तिहाइको सरकारसमेत वर्षैपिच्छे ढालेर अस्थिरता गर्नेबाट जोगाउन संविधानमै दुईभन्दा बढी दल बनाउन नपाउने गरी सीमित कार्यकर्ता पालेर बाँकी सबै युवालाई विकास निर्माणका रोजगारमा लगाउन सके देश छिट्टै समृद्ध हुनेछ ।

विनपा–४, ढुङ्गे, नुवाकोट