‘नेपाली काङ्ग्रेसको सङ्क्षिप्त इतिहास’ विमोचन

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:२७

विदुर: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली काङ्ग्रेसको सङ्क्षिप्त इतिहास’ नामक पुस्तक विमोचन भएको छ । गत बिहीबार काठमाडौंमा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवम् पूर्वमन्त्री केसीद्वारा लिखित सो पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा नेपाली काङ्ग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वबारेको चर्चा गरिएको छ ।


नुवाकोट जिल्लाबाट प्रतिनिधित्व गरेका पूर्वसांसद लेखक केसीले पुस्तकभित्र आफूले २६–२७ वर्षयता स्वदेश तथा विदेशमा नेपाली काङ्ग्रेसबारे उठाइएका खुल्दुलीलाई समेट्ने प्रयत्न गरेको जानकारी दिए । नेता केसीले पुस्तकमा नेपाली काङ्ग्रेसमाथि उठ्ने गरेका प्रश्न र लाग्ने गरेका आरोप तथा नेपाली काङ्ग्रेसको अहिलेसम्मको कार्यदिशा, पार्टीका संस्थापक नेता बिपी कोइरालाले देखाएको समाजवाद र नेपाली काङ्ग्रेसको सन्तुलित परराष्ट्रनीतिबारे विस्तृत रूपमा उजागर गरिएको बताए । उनले यस पुस्तकबाट नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले नेपाली काङ्ग्रेसबारे धेरै कुरा जान्न र बुझ्न सक्ने उल्लेख गरे । पुस्तकमा काङ्ग्रेसको महाधिवेशन, महासमिति बैठक, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, मजदुर सङ्गठन आदि भ्रातृ संस्था स्थापनाको युग प्रवर्तक पक्षलाई पनि समेटिएको छ ।


त्यस्तै, आदिवासी–जनजाति, दलित, मधेसी, मुसलमान, सुदूरपश्चिम, मजदुर किसान आदि वर्ग र समुदायसँग काङ्ग्रेसको सम्बन्धबारे पुस्तकले काङ्ग्रेसको नीति स्पष्ट पारेको छ । कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण, कम्युनिस्टका नीतिगत खोटलाई लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा हेरिएको विवरण, समाजवादबारे, काङ्ग्रेसको मध्यमार्ग, काङ्ग्रेसविरुद्ध चलाइएका अनर्गल प्रचारबाजी तथा भ्रम आदिबारे पनि पुस्तकले सङ्क्षिप्त जानकारी गराउने प्रयास गरेको छ । पुस्तकको अन्तिम खण्डमा २००३ सालदेखि २०७८ सम्मका काङ्ग्रेसका ऐतिहासिक गतिविधि वा घटनाको तिथिमितिसहित उल्लेख गरिएको छ भने पार्टीका महत्वपूर्ण नेताहरूको निधनलाई पनि उल्लेख गरिएको छ ।