स्थानीय तह निर्वाचनका लागि दलहरू सक्रिय

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार ०८:४९

विदुर: स्थानीय तहको दोस्रो निर्वाचन मिति आगामी २०७९ वैशाख ३० गते तोकेसँगै नुवाकोटमा रहेका प्रमुख राजनीतिक दल गाउँकेन्द्रित कार्यक्रम बनाएर गाउँ पसेका छन् ।


जिल्लाको १० वटा गाउँपालिका, दुईवटा नगरपालिका, ८८ वडामा चुनावकेन्द्रित कार्यक्रम गर्न राजनीतिक दललाई अहिले भ्याई–नभ्याई छ । सत्तागठबन्धनमा रहेका पाँच दल सरकार सञ्चालनमै अल्मिलिइरहेको भए पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने निर्वाचन घोषणा गर्न भन्दै एक महिनाअघिदेखि नै गाउँगाउँमा भेला गर्दै जनता, कार्यकर्ता भेटघाट र प्रशिक्षणमा लागेको थियो ।


गत ०७४ को स्थानीय तह निर्वाचनमा १० वटा गाउँपालिकामध्ये तारकेश्वरमा मात्र जित हात पारेको नेकपा एमालेले लिखु गाउँपालिकामा उपाध्यक्ष र अन्य आठवटा गाउँपालिकामा हार व्यहोर्नुप¥यो । दुईवटा नगरपालिकामध्ये विदुरमा मेयर, उपमेयर र बेलकोटगढीमा मेयर जितेको एमालेले जिल्लामा निर्वाचित चार सय ६२ जनप्रतिनिधिमध्ये एक सय ९० उम्मेदवारलाई विजयी गराएर पहिलो पार्टी बनेको थियो । त्यसैको बलमा गत सङ्घीय र प्रदेश निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर जिल्लाको चारवटा प्रदेश क्षेत्रमध्ये दुईवटा प्रदेश र दुईवटा सङ्घीय निर्वाचन क्षेत्रमध्ये एक सङ्घीय निर्वाचनमा एमालेले जित्न सफल भयो । एमाले र माओवादी गठबन्धनले गर्दा काङ्ग्रेसलाई नुवाकोटको सङ्घीय र प्रदेश निर्वाचनमा धुलो चटाएको थियो । आसन्न स्थानीय तहको निर्वाचनमा एमाले आफ्नो गुमेको विरासत पुनः आफ्नो पार्न चाहन्छ । त्यसैले एमाले स्थानीय तह निर्वाचनको तयारीमा सक्रिय बनिसकेको छ । जिल्लाको १० वटा पालिका र दुई नगरपालिकामा आफ्नो पकड कायम राख्ने योजनासहित एमाले गाउँकेन्द्रित भइसकेको छ । नुवाकोट एमालेका सचिव सुदर्शन नेपाल भन्छन्, ‘चुनावलक्षित योजनाअनुसार हामी गाउँकेन्द्रित भइसकेका छौँ ।’


१० स्थानीय तहमध्ये नेपाली काङ्ग्रेसले सूर्यगढी, तादी, दुप्चेश्वर, म्यागङ, किस्पाङ, शिवपुरीमा प्रमुख–उपप्रमुख र लिखु गाउँपालिकामा प्रमुख जितेको थियो भने दुईवटा नगरपालिकामा हार व्यहोर्नुपर्यो । काङ्ग्रेसले जिल्लामा निर्वाचित चार सय ६२ जनप्रतिनिधिमध्ये एक सय ८६ जनप्रतिनिधिलाई जिताएर दोस्रो पार्टी बन्न सफल भयो । काङ्ग्रेसले ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाको तीनवटै क्षेत्रमा जितेर चारतारे झन्डा फहराउन सफल भए पनि त्यसबेलाको विरासत स्थानीय तह निर्वाचनमा कायम राख्न सकेन । स्थानीय तह निर्वाचनमा दोस्रो भएको काङ्ग्रेसले गत ०७४ को सङ्घीय र प्रदेशको निर्वाचनमा पराजय भोग्नुपरेको थियो । विगतमा गुमेको विरासत जोगाउन नुवाकोट काङ्ग्रेस अहिले विगतका गुट÷उपगुट मिलाएको दाबी गर्दै निर्वाचनको तयारीमा जुटेको छ । एमसिसी प्रकरणले पार्टी गतिविधि कहीँ कम भए पनि अहिले काङ्ग्रेसले जिल्लाको ८८ वटै वडामा टोल कमिटी बनाएर कार्यकर्ताको मनोबल बढाउँदै छ । त्यसो त काङ्ग्रेसलाई अहिले कम्युनिस्ट पार्टीमा आएको छिन्नभिन्नले गर्दा पनि जिल्लाको बहुमत आफ्नो पक्षमा पार्ने अवसर पनि छ । त्यसलाई काङ्ग्रेसले अवसर देखेको छैन । आफ्नो सङ्गठनको मजबुतीलाई काङ्ग्रेसले जितको एक मात्रै आधार मानेको जिल्ला सभापति रमेश महतले बताएका छन् । त्यसैले नुवाकोट काङ्ग्रेस अहिले चुनावकेन्द्रित अभियानअन्तर्गत सङ्गठन विस्तारमा होमिएको छ । ‘हामीहरू टोल समिति गठनदेखि पार्टीको जिल्ला वडा, क्षेत्रीय, नगरदेखि वडा समितिका बैठक नियमित गरिरहेका छौँ,’ काङ्ग्रेस जिल्ला सभापति महतले भने, ‘यी सबै छलफल अनि बैठक तथा टोल समिति गठनको अभियान चुनावी तयारीसँगै सम्बन्धित कार्यक्रम हुन् ।’ काङ्ग्रेस केन्द्रीय कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एकमहिने निर्वाचन विशेष अभियान सुरु गर्न लागेको छ । ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ भन्ने नारा लिएर काङ्ग्रेसले एकमहिने निर्वाचनलक्षित अभियान गर्न लागेकोसमेत जिल्ला सभापति महतले जानकारी दिए ।


गत स्थानीय तह निर्वाचनमा जिल्लामा तेस्रो स्थान प्राप्त गरेको नेकपा माओवादी केन्द्रलाई विगतको विरासत थाम्न कठिन देखिन्छ । गत निर्वाचनमा जिल्लाको १० वटा गाउँपालिकामध्ये ककनी गाउँपालिकामा प्रमुख, उपप्रमुख र पञ्चकन्या गाउँपालिकामा प्रमुख जितेको थियो । दुईवटा नगरपालिकामध्ये विदुरमा वडासदस्यसमेत जित्न नसकेको माओवादी केन्द्रले बेलकोटगढी नगरपालिकामा भने उपमेयरसहित दुई वडाध्यक्ष जितेको थियो । गत ०७४ को सङ्घीय र प्रदेश निर्वाचनमा एमालेसँग गठबन्धन गरेर दुईवटा सङ्घीय क्षेत्रमध्ये क्षेत्र नं. १ मा र चारवटा प्रदेशमध्ये दुईवटा प्रदेश जितेको थियो । वर्तमान सत्तागठबन्धनको अपेक्षामा रहेको नेकपा माओवादी केन्द्रले पनि स्थानीय चुनावकेन्द्रित तयारीलाई अहिले व्यापक बनाएको छ । गठबन्धनको अपेक्षामा रहे पनि अहिले भने आफ्नो एकल तयारीमा माओवादी गाउँमा खटिएको छ । माओवादी नुवाकोटले अहिले चुनावको उम्मेदवार चयनको विषयलाई प्राथमिकता दिएको छ । गत स्थानीय तहको निर्वाचनमा विजयी ककनी र पञ्चकन्या गाउँपालिकामा बहालवाला जनप्रतिनिधिलाई निरन्तरता दिने गरी निर्वाचनको तयारीमा माओवादी केन्द्र लागेको छ । अन्य पालिकामा पनि समाजमा राम्रो प्रभाव राख्न सक्ने व्यक्तिको अध्ययन गर्न र क्षमतावान उम्मेदवार चयन गर्न मातहतका कमिटीलाई निर्देशन गरेको एक नेताले जानकारी दिए । अहिले १२ वटै पालिकामा चुनावकेन्द्रित छलफल भइरहेको जिल्ला सङ्गठन समन्वय समितिका अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिए । हाम्रो जिल्ला कमिटी भनेको समन्वयात्मक कमिटीजस्तै हो, पालिकास्तरीय कमिटीले उम्मेदवारका आकाङ्क्षीबीच छलफल गराएर उम्मेदवार चयन गर्ने अधिकार रहेको अध्यक्ष खतिवडाले बताए । जिल्ला, सङ्घ, प्रदेश र पालिका इन्चार्ज चयन गरेर जिम्मेवारी तोकिसकेकाले कमिटी अब चलायमान हुने उनले बताए । अन्य दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउने रणनीति अघि बढाएको माओवादी केन्द्रले गठबन्धनमाथि पूर्ण विश्वास गरेको देखिँदैन । त्यसैले अहिले उसले आफ्नो पार्टीको आन्तरिक तयारीलाई मात्र हेरेको छ । ‘गठबन्धन हुने निश्चित छैन, फलतः हामीले पार्टीको आन्तरिक तयारीलाई तीव्र पारिरहेका छौँ, उम्मेदवार चयनको प्रक्रियामा छौँ,’ जिल्ला संयोजक पुष्प लामिछानेले भने, ‘तर भोलि गठबन्धन हुने अवस्था आयो भने त्यहीअनुसार व्यवस्थापन गरेर अघि बढ्ने कुरा हुन्छ ।’


नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादी पनि जिल्लाको वडा तहसम्मै चुनावी तयारीमा सक्रिय बन्दै गएको छ । तर, गठबन्धनकै भरमा रहेको समाजवादीले गठबन्धन नभत्कने गरी तयारीमा लाग्न तल्लो तहका कमिटीलाई निर्देशन गरेको छ । जिल्लादेखि वडा तहसम्म नै गठबन्धनलाई समस्या नपर्ने गरी समाजवादीले उम्मेदवारी चयन गर्न थालेको छ । जिल्ला तहमा समाजवादीले एमालेसँग तालमेल गर्ने रणनीति पनि तय गरेको छ । एमालेले शिवपुरी, तादी, सूर्यगढी गाउँपालिकामा समाजवादीलाई छाड्ने हो भने अन्य नौवटा पालिकामा एमालेले सघाउने गरी छलफलसमेत जिल्ला तहमा भइरहेको समाजवादीका जिल्ला पदाधिकारीले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । राप्रपाले पनि नुवाकोटको १२ वटै पालिका र ८८ वटै वडामा उम्मेदवार चयन गर्न छलफल सुरु गरेको जिल्ला अध्यक्ष कुलबहादुर खड्गीले बताए । डा. प्रकाशचन्द्र लोहनी नुवाकोटबाट आगामी सङ्घीय निर्वाचनमा उम्मेदवार बन्ने चर्चासँगै राप्रपा अहिले जुर्मुराएको छ । आसन्न स्थानीय तह निर्वाचनमा एमाले र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएकाले दुवै दल रणनीति बनाउन व्यस्त देखिन्छन् । काङ्ग्रेस अन्य दलसँग गठबन्धन गरेर जाने मनिस्थिति नबनाएको जिल्ला सभापति रमेश महतले बताएका छन् । काङ्ग्रेसलाई चारजना केन्द्रीय सदस्यले अघि सारेको उम्मेदवारलाई व्यवस्थापन गर्नमै सकस हुने अवस्था रहेको छ । एमालेले पनि भूगोलमा काम गरेर जनताको विश्वास जितेका नेतालाई उम्मेदवार बनाउन सकेन भने पहिलो स्थानमा पुग्ने सपना भताभुङ्ग हुने अड्कल स्वतन्त्र विश्लेषकले गरेका छन् । केन्द्रमा जे–जस्तो भए पनि एमालेको एउटा धारले नुवाकोटमा माओवादी, समाजवादीसँग गठबन्धन गरेर चुनावमा जानुपर्ने प्रस्ताव गरिरहेको छ । उक्त प्रस्तावलाई जिल्ला नेतृत्वले खासै ध्यान दिइरहेको छैन ।