कच्चा : पल, पूजा र प्रचण्ड

  • कपिल केसी
  • २६ फाल्गुन २०७८, बिहीबार ०८:५७

कलाकार पल शाह र एक नाबालिक गायिकाबीचको प्रेम–प्रसङ्ग आशङ्काको घेरामै थियो । विभिन्न मिडिया र सम्बन्धित क्षेत्रमा चर्चा र शङ्कामा रहेको यो प्रसङ्गले भने पछिल्लो समय सामाजिक सञ्जाल र सडकलाई एकाएक ततायो । जुन मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीले तताएको सडक, सदन र विभिन्न सामाजिक सञ्जालभन्दा कम थिएन । विभिन्न समयमा दुवैले प्रेम सम्बन्धलाई नकार्ने प्रयास नगरेका भने होइनन् । तर, जब पल शाह र ती नाबालिक गायिकाबीचको कुराकानीको अडियो बाहिरियो त्यसले प्रेम–सम्बन्ध मात्र होइन दुईबीच शारीरिक सम्बन्ध पनि थियो भन्ने सत्यलाई स्थापित गरिदियो ।


यो अडियो बाहिरिएसँगै नाबालिक गायिका कानुनी लडाइँमा लागिन् भने पल शाह कानुनी प्रक्रियाबाट भागे । कानुनी प्रक्रियाबाट भागेसँगै त्यो समयमा विभिन्न नाटक मञ्चन गरियो जसले पल शाहलाई पवित्र देखाउने गलत प्रयास गरिरह्यो । पल स्वयम्ले पनि कानुनी प्रक्रियाबाट आफूलाई निर्दोष साबित गर्नुको साटो विभिन्न अडियो सार्वजनिक गर्दै आफूलाई निर्दोष साबित गर्ने गलत बाटो समाते । यो समयमा उनले कानुनी प्रक्रियाबाट भाग्ने काम मात्र गरेनन् स्टारडमको गलत प्रयोग गर्दै दर्शकलाई इमोसनल ब्ल्याकमेलिङ पनि गरे भन्दा अतिशयोक्ति नहोला । जुन उनले केही दिनपछि तनहुँ प्रहरीमा उपस्थित भई कानुनी प्रक्रियामा सामेल भएपछि तनहुँ प्रहरी परिसरमा देखिएको कानुनलाई दखल दिन अनावश्यक भिड र गलत प्रयोग गरिएको सामाजिक सञ्जालले प्रस्ट पार्छ । तसर्थ एउटा स्थापित कलाकार आफ्नो कर्तव्यबाट विमुख हुँदा र आफूलाई सही साबित गर्न पनि गलत बाटो अङ्गाल्न पुग्दा समाजमा त्यसको गलत प्रभाव त परेको छ नै उनको क्रियाकलापले उनीमाथि औँला ठड्याउने प्रशस्त ठाउँ दिएको छ ।


त्यस्तै, अर्को कच्चा र गैरजिम्मेवार पात्र हुन्– पूजा शर्मा । कुनै बेला मेरो भावनामाथि खेलवाड ग¥यो भन्दै एक पुरुष मित्रलाई गलत साबित गर्न मिडियासामु आँसु खसाल्ने यी नायिकाको ब्रम्ह्ले अर्को नारीको भावना र शरीरमाथि खेलबाड गर्ने नायकलाई गलत देखेन । पल शाहको हरेक पलको साक्षी वा भनौँ पलको हरेक क्रियाकलापको प्रत्यक्षदर्शीजस्तै उनले पल निर्दोष रहेको ठोकुवै गरिदिइन् । त्यतिमा मात्र रोकिइनन् पूजा शर्मा, पल शाह रिलको मात्र होइन रियल हिरो रहेको र आफू अन्तिम समयसम्म पलको साथमा रहने मात्र भन्न भ्याइनन् बलात्कारको परिभाषा आफूलाई थाहा नभएकोसम्मको प्रतिक्रिया दिन भ्याइन् । म यस्तो गीत गाउँछु– २ को प्रिमियर शोमा पूजालाई पलको भन्दा पल प्रकरणले आफ्नो लगानी रहेको चलचित्र डुब्ने हो कि भन्ने चिन्ता बढी रहेको कुरा उनको हाउभाउ र व्यवहारले प्रस्ट झल्किन्थ्यो । त्यसैले त उनले फागुन ११ गते कीर्तिपुरस्थित कीर्तिपुर सिने फ्लेक्समा भएको चलचित्रको प्रिमियर शोमा आफ्नो चलचित्रमाथि कसैको नजर लागेकोसम्म भन्न भ्याइन् । पूजा शर्मामाथि फिल्म चलाउन दर्शकलाई इमोसनल ब्ल्याकमेलिङ गरेको आरोप मात्र लागेको छैन, एउटा स्थापित कलाकारले पल शाह प्रकरणमा दिएको प्रतिक्रिया, जम्मा पारेको हुल, व्यवहार र पललाई निर्दोष साबित गर्न वा आफू चर्चामा रहन उनले अँगालेको बाटोले पूजालाई कच्चा मात्र साबित गरेको छैन, उनको बौद्धिक, व्यावहारिक र व्यावसायिक हैसियत कुन कोटिको रहेछ भन्ने कुरा पनि छर्लङ्ग्याइदिएको छ ।


पार्टीको सिद्धान्तविपरीत आत्मकेन्द्रित र सम्झौतापरस्त व्यक्तिको रूपमा चित्रित हुदै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसिसी प्रकरणसम्म आइपुग्दा माओवादी पार्टी र आफ्नो राजनीतिक भविष्यअगाडि देखिएको कालो बादल कसरी हटाउन सकिन्छ भन्ने कुराले सबैभन्दा बढी चिन्तित छन् भन्दा अतिशयोक्ति नहोला । प्रधानसेनापति रुक्माङ्गद कटुवाल प्रकरणदेखि देखिएको उनको राजनीतिक कच्चापन एमालेसँगको एकता, विभाजन हुँदै एमसिसीसम्म आइपुग्दा सतहमै आइपुगेको छ । बाहिर एमसिसी कुनै पनि हालतमा पास गर्न नदिने, जबर्जस्ती एमसिसी टेबुल गरे सरकारबाट बाहिरिनेजस्ता प्रतिक्रिया दिएका उनले अन्ततः व्याख्यात्मक टिप्पणीको नाममा एमसिसी पास गराएर एमसिसीको पक्षमा उठेको विद्रोह सामसुम पारिदिए । पार्टीभित्र छलफल नै नगरी एमसिसी संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धतासहितको प्रधानमन्त्रीसँग मिलेर एमसिसी बोर्डलाई पठाएको पत्र बाहिरिएसँगै विवादमा रहेका प्रचण्ड र उनको पार्टी नेकपा माओवादीमा एमसिसी सम्झौता अनुमोदन गर्ने ०७८ फागुन १५ को केन्द्रीय कार्यालय बैठकको निर्णय र व्याख्यात्मक घोषणा साथ एमसिसी संसद्बाट अनुमोदन भएसँगै सङ्कट देखापरेको छ । नारायणकाजी श्रेष्ठ समूहले पार्टी विभाजनमा जानेसम्मको विकल्पमा छलफल थालेका छन् । तसर्थ पार्टीभित्र सामूहिक रूपमा छलफल नगर्ने, एकल निर्णय गर्ने र पार्टीको निर्णय एक्लैले उल्ट्याउनेजस्ता प्रचण्डको गतिविधिले गर्दा माओवादी जनयुद्धले स्थापित गरेको उनको उच्च र बलियो राजनीतिक छवि राजनीतिक जीवनको उत्तरार्धमा असफल र कमजोर रूपमा अन्त्य हुने देखिन्छ । एमसिसी प्रकरणले माओवादीको शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठक पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो समिति, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्न सकेन । बैठक आगामी जेठ २० सम्मका लागि स्थगित भएको छ । स्थानीय चुनावसम्म पदाधिकारी नहुने भएपछि अध्यक्ष प्रचण्डले स्थानीय चुनाव एकलौटी हाँक्ने गरी बैठक सकिएको छ । अन्त्यमा, पल प्रकरणको छिनोफानो स्टारडम, हुलहुज्जत र मिडियाबाजीले होइन प्रमाण र कानुनले गर्दछ भन्ने हेक्का रहोस् ।

विनपा– ८, नुवाकोट