समृद्धि सोच: आजको आवश्यकता जडीबुटी खेती व्यवसायीकरण

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार ११:१७

नेपालको आर्थिक विकासका लागि जडीबुटीलाई सदैव पाँचौँ स्थानमा राखिन्छ, तर यसको विकासका लागि आजसम्म पनि उपयुक्त योजना तथा कार्यक्रम बनाइएका छैनन् । हालसम्म पनि नेपालमा विद्यमान औषधिजन्य जडीबुटीको सङ्ख्या विवादस्पद नै छ । वनस्पति विभागका अनुसार यहाँ करिब दुई सय प्रजातिका जडीबुटी व्यावसायिक रूपमा औषधिका लागि प्रयोग गर्न सकिने कुरा अवगत भए पनि उक्त सङ्ख्याभन्दा धेरै गुणा बढी जडीबुटी यहाँ पाइने कुरामा आयुर्वेदिकका ज्ञाता विश्वस्त छन् । उनीहरूका अनुसार विभिन्न पारिस्थितिक प्रणालीबाट जैविक विविधताका कारण विश्वमै नपाइने जडीबुटी यहाँ प्रचुर मात्रामा पाइन्छन् ।


हालसालै भारतको पतञ्जली योग पीठ देहरादुनमा विश्वकै विशाल जडीबुटी नर्सरी बनाइएको छ । जसमा रोपिएका जडीबुटीमध्ये धरैजसो नेपालबाट लगिएका छन् । परन्तु, यहाँ रहेका जडीबुटीको सदुपयोग गर्न सकिएको छैन । वस्तुतः जडीबुटीको उत्पादन, उपभोग, प्रशोधन र निर्यातसम्बन्धी प्रस्ट नीति नभएका कारण हालसम्म यहाँका जडीबुटी थोरै मूल्यमा निर्यात गरिन्छ । वर्तमान समयमा यहाँको जडीबुटीको मुख्य बजार भारत हो जसले बारम्बार लगाउने गैरभन्सारजन्य अवरोधको कारण समस्या झेल्नुपरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा मात्र यहाँबाट अन्य देशमा एक अर्ब ४३ करोड ४८ लाख रुपैयाँको जडीबुटी ४० करोड ८० लाख रुपैयाँको सुगन्धित तेलको निर्यात गरिएको थियो । उक्त केन्द्रले यहाँको जडीबुटी निर्यात २७ प्रतिशतले बढाएको देखाए पनि यो सम्भाव्यता निर्यातको ५० प्रतिशत छैन । गत वर्ष भारतले लगाएको एकीकृत कर प्रणालीको कारण नेपालबाट जडीबुटीको निर्यात गरिएको थियो ।


दुःखको कुरा त के छ भने हालसम्म पनि यहाँको जडीबुटी कौडीको मूल्यमा भारतलगायत अन्य देशमा निर्यात गरिन्छ भने उक्त जडीबुटीेबाट बनेका औषधि बढी मूल्यमा खरिद गर्नुपरेको छ । यथार्थतः यहाँ आयुर्वेदिक औषधिको ठूलो बजार छ । परन्तु, विडम्बना त के छ भने यहाँ स्थापित आयुर्वेदिक औषधि उत्पादन गर्ने र प्रशोधन गर्ने स्वदेशी उद्योग धमाधम बन्द भइरहेका छन् । सिंहदरबार वैद्यखाना र जडीबुटी उत्पादन तथा प्रशोधन लिमिटेडजस्ता सरकारी संस्था मात्र होइन, निजी क्षेत्रका जडीबुटीजन्य उद्योग पनि सङ्कटमा छन् । यस्ता स्वदेशी कच्चा पदार्थमा आधारित र मुलुकका हितमा उपयोग गर्न सकिने उद्योग सञ्चालनका लागि स्वस्थ वातावरण बनाउन वर्तमान सरकारले यथाशीघ्र उपयुक्त नीतिगत, कानुनी र वित्तीय व्यवस्था बनाउन जरुरी छ ।
जडीबुटी उत्पादक तथा व्यवसायी सङ्घका अनुसार सात वर्षअघि जडीबुटीजन्य उद्योगमा निजी क्षेत्रको सात अर्ब लगानी थियो । हाल सोही क्षेत्रको लगानी पाँच अर्बमा सीमित छ । लगानीमैत्री वातावरण नहुनु तथा प्रतिफलको सुनिश्चितता नहुनु नै यसको मुख्य कारण हो । यसबाहेक स्वदेशी उत्पादन घट्ने, श्रमिकको अभाव हुनु, बिमा सुविधा नहुनु, अनुदानको व्यवस्था नहुनु आदि समस्याले पनि जडीबुटी उद्योगमा निजी क्षेत्रको आकर्षण घटेको छ । वास्तवमा जडीबुटीजन्य उद्योगको संरक्षण तथा प्रवद्र्धनबाट यहाँको आर्थिक विकास मात्र नभई सर्वसाधारणलाई रोजगारीका अवसर पनि प्राप्त हुनेछ । यसैले हालसाल वन तथा वातावरण मन्त्रालयले जडीबुटी खेती तथा उद्योगमा निजी क्षेत्रको लगानीलाई विशेष जोड दिने भएको छ । नेपाल हब्र्स एन्ड हर्बल उद्योग सङ्घका अनुसार वर्तमान समयमा सरकारका नीति तथा कार्यक्रम उपयुक्त नभएकाले जडीबुटीजन्य उद्योगको लगानी विस्तारमा निजी क्षेत्रको आकर्षण घटेको छ । यसैगरी निर्यातसम्बन्धी उपयुक्त नीति तथा कार्यक्रम नहुँदा जडीबुटीजन्य वस्तुको निर्यात घटेको छ ।


वनस्पति विभागका अनुसार जडीबुटी विस्तारको सम्भावना ७७ वटा जिल्लामा भएकाले आगामी दिनमा उपयुक्त कार्यक्रम तथा कार्ययोजना बनाएर काम सुरु गरिनेछ । उक्त विभागका अनुसार जडीबुटी उत्पादन बढाउन अघिल्लो वर्ष कर्णाली प्रदेशका १० जिल्लालाई जडीबुटी क्षेत्र घोषण गरेर बजेट छुट्याएको थियो भने बिरुवा उत्पादन गर्न र कृषक समूह तथा सहकारीलाई अनुदान दिने काम भएको थियो । सोही विभागका अनुसार भविष्यमा जडीबुटी खेतीका लागि व्यवसायीकरणका कार्यक्रम पनि लागू गरिनेछ । यसबाट जडीबुटीजन्य उद्योगको प्रवद्र्धनमा टेवा पुगी यहाँको आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पर्नेछ । प्रत्येक नागरिकलाई सरकारको तर्फबाट आधारभूत सेवा निःशुल्क प्राप्त गर्ने हक वर्तमान संविधानले सुनिश्चित गरेको छ । यहाँ प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक भएकाले जडीबुटीजन्य औषधिको धेरै महत्व छ । तर, खेदको कुरा त के छ भने जडीबुटी प्रशोधन केन्द्रको अभावमा यहाँ उत्पादित जडीबुटी थोरै मूल्यमा निर्यात गर्नुपरेको छ । यति मात्र होइन, नेपाली व्यापारीले क्वारेन्टिन जाँचका लागि पनि समस्या झेल्दै गोदाममा थन्क्याउनुपरेको छ ।


देशको मौलिक चिकित्सा पद्धतिको रूपमा आयुर्वेदको विकासमा जोड दिने सरकारको नीति छ । यसबाहेक एकतर्फ जडीबुटीको समुचित प्रयोग गर्ने भनिएको छ भने अर्कोतर्फ आन्तरिक उत्पादनलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्दै गुणस्तरीय औषधिको सहज तथा प्रभावकारी आपूर्ति गर्ने नीति छ । तर, यी कुरा हालसम्म व्यवहारमा परिणत गर्न सकिएको छैन । धेरैजसो ग्रामवासी परम्परागत घरेलु उपचारमा विश्वास गर्दछन् । यस्तो औषधि सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्दैन भन्ने उनीहरूको विश्वास छ । यस्तो औषधि कम खर्चिलो र प्रभावशाली हुन्छ भन्ने कुरामा पनि उनीहरू विश्वस्त छन् । ग्रामीण क्षेत्रका वनजङ्गलमा जडीबुटीको प्रचुर उपलब्धता तथा तिनको औषधिजन्य उपयोगसम्बन्धी ज्ञान भएका कारण ग्रामवासी विभिन्न जडीबुटीलाई विभिन्न रोगको उपचारका लागि प्रयोग गर्दछन् ।


धेरैजसो ग्रामीण क्षेत्रमा पशु चिकित्सालय एवम् औषधि पसलको सुलभ उपलब्धता नहुनाको पशुपक्षीको उपचार सुलभ रूपमा गर्न सकिँदैन । ग्रामीण कृषकलाई स्थानीय जडीबुटीको प्रयोगसम्बन्धी केही ज्ञान भए पनि उनीहरूले आफ्ना पशुपक्षीको उपचारका लागि यथोचित किसिमबाट प्रयोग गर्न सकेका छैनन् । यदि उनीहरूलाई जडीबुटीको प्रयोगसम्बन्धी तालिम दिन सकेमा भविष्यमा उनीहरू आफ्ना पशुपक्षीको आफैँ उपचार गर्न सक्षम हुनेछन् र पशुपक्षीपालनबाट बढी लाभान्वित हुनेछन् । केही वर्षयता जडीबुटीको परम्परागत ज्ञान लोप हुने अवस्थामा छ । यस्तो ज्ञानलाई बचाइराख्न यस सम्बन्धमा नयाँ पुस्तालाई तालिम दिन आवश्यक छ । यसबाहेक परम्परागत तथा आधुनिक पशु चिकित्सा पद्धतिलाई व्यहारमा उतार्न पनि आवश्यक छ । पछिल्लो एक दशकको अवधिमा यहाँको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशतमा सीमित भए पनि वर्तमान सरकार भने दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने अभियानमा जुटेको छ जसका लागि जडीबुटी उद्योगले महत्वपूर्ण भूमिका खेल्न सम्छ ।


हालसालै व्यापारघाटा केही कम भए पनि विगत एक दशकको अवधिमा यहाँको व्यापार घाटा तीन सय प्रतिशतले बढेको कुरा सर्वविदित छ । वास्तवमा निर्यातजन्य उद्योग बन्द हुँदै जानु र स्वदेशी उत्पादन बढाउन नसक्दा यहाँको व्यापार घाटा बढेको छ । व्यापार घाटा कम गर्न जडीबुटीजन्य औषधिको उत्पादनले ठूलो योगदान पु¥याउन सक्छ । वास्तवमा यहाँ जडीबुटीजन्य औषधिको उत्पादनका लागि निजी कम्पनीले निकै चासो देखाएका छन् । त्यसैले यिनीहरूलाई सरकारले सहुलियत, संरक्षण र जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्न सहज वातावरण सिर्जना गर्न जरुरी छ । यसबाहेक उक्त कम्पनीले गरेको लगानीलाई नियमन एवम् व्यवस्थापन गरी सेवामूलक बनाउन आवश्यक छ ।


यहाँ सहजै पाइने तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाईको पात, कालो जिरा, बेसारलगायत स्थानीय रूपमा पाइने विभिन्न जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिन्छ । यदि यी कच्चापदार्थ सहजै उपलब्ध नभएमा यिनै जडीबुटी प्रयोग गरिएको आयुर्वेदिक औषधि चिकित्सकको सल्लाहअनुसार सेवन गर्न सकिन्छ । आयुर्वेद चिकित्सकको सल्लाहअनुसार घर–आँगनमा उपलब्ध तुलसीको पातसँगै असुरोको पात र थोरै बेसारको साथमा सानो एक टुक्रा चन्दन मिसाई उमालेर बिहान–बेलुका एक–एक कचौरा पिउने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढाउनेछ । उनीहरूका अनुसार यदि कसैको शरीरमा कुनै किसिमको भाइरस लागिसकेको छ भने पनि त्यसले भाइरसको मात्रा घटाउन मद्दत गर्छ ।
नेपालमा वि.सं. ०८५ सालसम्म गरिबीको रेखामुनिको जनसङ्ख्या ५ प्रतिशत र वि.सं. २१०० मा शून्यमा झार्ने लक्ष्य छ । जसको परिपूर्तिका लागि जडीबुटी खेती तथा जडीबुटीजन्य औषधि उत्पादनले ठूलो सघाउ पुग्न सक्छ । अर्थतन्त्रको महत्वपूर्ण परिसूचक विवरण र तथ्याङ्क समावेश गरिएको आर्थिक सर्वेक्षण ०७५÷७६ अनुसार आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् ०३० सम्ममा मध्यम आय भएका देशमा रूपान्तर हुँदै समुन्नत तथा समृद्ध समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला निर्माण गर्ने लक्ष्य छ । यसका लागि जडीबुटी खेती तथा जडीबुटीजन्य औषधि उत्पादनले धेरै मद्दत हुनेछ । कुनै पनि देशको सर्वतोमुखी विकासका लागि धेरै सम्भावनाको व्यावहारिक उपयोग गर्न आवश्यक हुन्छ । वनस्पति पनि महत्वपूर्ण सम्भावना भएको एक क्षेत्र हो । यसको महत्व के–कति छ भन्ने कुरा यार्सागुम्बा, लोठसल्ला, पाँचऔँले आदि वनस्पतिका उच्च बजार मूल्य र मागबाट नै स्पष्ट हुन्छ । वर्तमान समयमा उर्वर कृषि भूमिसमेत बाँझो एवम् झाडीमा रूपान्तरण भइरहेको सन्दर्भमा जडीबुटी तथा सम्बन्धित वनस्पतिको खेतीले यहाँको जमिनको सदुपयोग गर्न सघाउ पु¥याउँछ । यसबाहेक जडीबुटी तथा सुगन्धित वनस्पतिको व्यवसायीकरण गर्न सके धेरै लाभ लिन सकिन्छ ।


विगतमा विभिन्न निकायबाट जडीबुटी तथा सुगन्धित वनस्पति खेती प्रवद्र्धनका लागि केही कार्यक्रम सञ्चालन नगरिएका होइनन् । उपयुक्त योजना तथा कार्यक्रम सञ्चालन गर्न नसक्नाले यस क्षेत्रमा ठोस विकास गर्न सकिएन । हाल नेपालमा झन्डै २२ हजार सामुदायिक वन उपभोक्ता समूहलगायत ३० हजारभन्दा बढी समुदायमा आधारित वन समूह छन् । यसबाहेक केही कृषक समूह छन् । यस्ता समूहलाई जडीबुडी तथा सुगन्धित वनस्पतिको खेती गराई व्यवसायीकरण गर्न सके एकातिर वन संरक्षण गर्न सघाउ पुग्नेछ भने अर्कोतिर स्थानीय जनतालाई आय–आर्जन अभिवृद्धि गरी जीविकोपार्जन गर्न सहज हुनेछ । जडीबुटी तथा सुगन्धित वनस्पतिको व्यवसायीकरण गर्न सके प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । यसबाट यहाँको अर्थतन्त्रमा केही योगदान पुग्छ । जडीबुटी तथा सुगन्धित वनस्पतिलाई कच्चापदार्थको रूपमा मात्र नभई प्रशोधित गरेर पनि निकासी गर्न सकिन्छ । यसो गर्नाले मूल्य अभिवृद्धि भई व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ । यसका लागि जडीबुटी तथा सुगन्धित वनस्पतिको खेतीलगायतका सङ्कलन, प्रशोधन, भण्डारण र बजारीकरणका शृङ्खलालाई प्रविधिमैत्री बनाउन जरुरी छ । जडीबुटी तथा सुगन्धित वनस्पतिको बिमा गर्न सके खेर गएको जग्गाको उपयोग हुने मात्र होइन, जमिनको अनावश्यक खण्डीकरणमा समेत कमी आउन सक्छ । फलतः जग्गाधनीको आय–आर्जन वृद्धि हुनेछ । जडीबुटी तथा सुगन्धित वनस्पतिको व्यवसायीकरण त्यति कठिन छैन । यसका लागि सामान्य ज्ञान र थोरै रकम भए पुग्छ । परन्तु, यसका लागि अध्ययन–अनुसन्धान भने निरन्तर हुन आवश्यक छ ।

  • के.बी. बस्नेत