विदुर र बेलकोटगढी नगरपालिकामा मेयरका आकांक्षीको दौडधुप तालमेलको हल्लाले काँग्रेस र माओवादी अलमलमा

  • त्रिशूली प्रवाह
  • १७ चैत्र २०७८, बिहीबार १६:०७

मालेले पण्डित र खनाललाई पुनः अघि बढाउने

  • शम्भुराम दाहाल

बट्टार, नुवाकोट जिल्लाको दुईवटा विदुर र बेलकोटगढी नगरपालिकामा आगामी बैंशाख ३० गते हुन लागेका स्थानीय तह निर्वाचनको मिति नजिकिंएसँगै चुनावी सरगर्मी बढेको छ । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी दलबिच तालमेल हुने चर्चाले काँग्रेसका नेता÷कार्यकर्ता अलमलमा परेका छन् । उनीहरूले सत्ता गठबन्धनअनुसार तालमेल हुने केन्द्रिय नेतृत्वको आशय आएपछि उम्मेदवारका आकांक्षीको उत्साह घट्दै गएको छ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले भने आगामी स्थानीय तह निर्वाचनमा विदुर र बेलकोटगढी नगरपालिका मेयरलाई नै पुनः अगाडी बढाउने रणनीति तय गरेको छ । एमालेको केन्द्रिय कमिटिले निर्णय गरेर २०७४ मा निर्वाचित जनप्रतिनिधीलाई प्राथमिकतामा राखेको छ ।

नेपाली काँग्रेसले चैत्र महिनाभरी ‘‘घरघर जाऔं, काँग्रेस जिताऔं’’ अभियान सञ्चालन गरिरहेकोले दुवै नगरपालिका र वडामा उम्मेदवार चयन बैंशाख लागेपछि मात्र गर्ने बताएको छ । काँग्रेसले यो अभियानमा वडाको गाउँटोलसम्म पुगेर उम्मेदवारका आकांक्षीको नामावली समेत संकलन शुरू गरेको छ । काँग्रेसले जिल्लाको ८८ वटै वडामा अभियान सञ्चालन गरेर कार्यकर्तालाई परिचालन गरेको छ । जिल्लाको सदरमुकाम समेत रहेको पुरानो नगरपालिका विदुरमा २०४६ पछि भएको निर्वाचनमा एमालेले विजय हासिल गर्दै आएको छ भने राज्य पुर्नसंरचनामा गएसँगै बनेको कान्छो बेलकोटगढी नगरपालिकामा समेत एमालेले गत २०७४ को पहिलो स्थानीय निर्वाचनमा मेयरसहित १३ वडामध्ये १० वडा जितेको थियो । एमालेको केन्द्रिय कमिटीको गत हप्ता सम्पन्न बैठकले २०७४ को निर्वाचित जनप्रतिनिधीलाई आगामी निर्वाचनको लागि प्राथमिकतामा राखेको छ । एमालेको केन्द्रिय समितिको बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा बहालवाला जनप्रतिनिधीको कामको मूल्याङ्कनको आधारमा पुनः उम्मेदवार बनाउने योजना अघि सरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले त पटक–पटक निर्वाचित जनप्रतिनिधीलाई दायाँवायाँ नहेरी उम्मेदवार बनाउनु भन्ने निर्देशन दिईसक्नुभएको छ । ओलीको निदेृशन अदल–बदल गर्न सक्ने एमालेमा अहिले कोही छैन र ओलीको निर्देशन कार्यान्वयनमा गए विदुर र बेलकोटगढीमा पुनः सञ्जु पण्डित र राजेन्द्ररमण खनाल नै उम्मेदवार हुनेछन् ।

ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा उम्मेदवार छनोटका लागि ६ वटा आधार तय गरिएको छ । पार्टी, नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधीको कामको मूल्याङ्कन, लोकप्रियता र विजयीको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं अनुशासन र विकासप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेंशीताको पक्षलाई आधार बनाएर उम्मेदवारी चयन गरिने एमालेको योजना छ । एमालेले गाउँ, नगर, वडाध्यक्ष र सदस्य जिल्ला कमिटीबाट गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगर प्रमुख–उपप्रमुख प्रदेश कमिटीबाट तथा महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुख केन्द्रिय कमिटीबाट चयन गर्ने निर्णय लिएको छ । एमालेले पारित गरेको प्रतिवेदनमा स्थानीयस्तरको शक्ति सन्तुलन आकलन गरेर चुनावी रणनीति बनाउनुपर्ने उल्लेख छ । स्थानीय बास्तविकता र आवश्यकतानुसार तालमेल समेत गर्नुपर्ने बताईएको छ ।

काँग्रेसको पनि उम्मेदवार छनोट गर्न चारवटा समिति रहेको छ । काँग्रेस विधानअनुसार गाउँ, नगर वडाध्यक्ष र वडासदस्य क्षेत्रिय समितिमार्फत, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जिल्ला कार्यसमितिमार्फत, नगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुख प्रदेश संसदीय समितिमार्फत तथा महानगरपालिका प्रमुख र उपप्रमुख केन्द्रिय संसदीय समितिमार्फत उम्मेदवार चयन हुनेछन् । काँग्रेसले स्थानीयस्तरमा लोकप्रिय ब्यक्तिलाई उम्मेदवारको पहिलो प्राथमिकतामा राखेको छ । उम्मेदवार छनोटको अ‍ैपचारिक निर्णय नभएको काँग्रेसले बताए पनि उम्मेदवार हुन चाहनेको लोकप्रियतालाई परीक्षण शुरू गरेको छ । उम्मेदवार छनोटका सम्बन्धमा औपचारिक निर्णय नगरेपनि काँग्रेसले उम्मेदवार हुन चाहनेको लोकप्रियताको सुक्ष्म अध्ययन शुरू गर्दै बहालवाला जनप्रतिनिधीको सम्बन्धमा कार्य सम्पादनलाई आधार मानेर छनोट गर्ने जिल्ला कार्यसमितिका सभापति रमेश महतले बताउनु भयो ।

उम्मेदवार छनोटको लागि नेकपा माओवादी केन्द्रले पनि न्युनतम मापदण्ड तयार पारीसकेको छ । माओवादीले उम्मेदवार चयन गर्दा राजनीतिकसहित सामाजिक ब्यक्तित्व भएकालाई प्राथमिकता दिने बताएको छ । सामान्यता लोकप्रिय मान्छे छान्ने हो, पार्टी, विचार र जनताप्रति निष्ठावान हुनुपर्छ, राजनीतिकसहित सामाजिक ब्यक्तित्व भएकालाई प्राथमिकता दिने माओवादी केन्द्र नुवाकोटका प्रमुख हिरानाथ खतिवडाले बताए । माओवादीमा उम्मेदवार छनोट गर्दा गाउँ, नगर वडाध्यक्ष र सदस्यको उम्मेदवारी पालिका कमिटिले टुङ्ग्याउने छ । उहाँले भन्नुभयो, ‘‘नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी प्रदेश कमिटीलाई टुङ्ग्याउने जिम्मेवारी दिएको छ ।’’ एमाले विभाजनपछि ६ महिना अगाडी बनेको एकिकृत समाजवादीले पनि उम्मेदवारको न्युनतम आधार तयार गरेर उम्मेदवारको छनोट थालेको जिल्ला अध्यक्ष गोबिन्द नेपालीले बताए । समाजवादीले पनि अरू दलले जस्तै लोकप्रिय र जित्न सक्ने उम्मेदवारको खोजी थालेको छ ।
पार्टीको सम्पूर्ण शक्ति स्थानीय निर्वाचनमा केन्द्रित गरेको काँग्रेसले विदुर र बेलकोटगढीमा मेयरका आकांक्षी बढी भएकोले सर्वसम्वत उम्मेदवार छनोट गर्न नसक्ने अवस्था रहेको छ ।

विदुरमा काँग्रेसको तर्फबाट धु्रव अधिकारी, ताराबहादुर कार्की, फैसिंह तामाङ, मछिन्द्र नरसिंह प्याकुरेल, हरिलाल श्रेष्ठ, भरत खड्का, मोहनबहादुर खड्का, राजु थापा, राजनलाल श्रेष्ठ मेयरका आकांक्षी देखिएका छन् । तालमेल भए विदुरमा माओवादी केन्द्रलाई उपमेयर दिने हल्लासँगै उपमेयरको बारेमा खासै काँग्रेसमा चर्चा छैन । बेलकोटगढी नगरपालिकामा पनि मेयरका आकांक्षी बैकुण्ठबहादुर पाण्डे, प्रताप लामा, लेखनाथ मुडवरी, बद्री मुडवरी, विष्णु नेपाल, अक्कलबहादुर ढुंगाना (श्याम), कृष्णबहादुर पाण्डे, यादवप्रसाद नेपाल देखिएका छन् । बेलकोटमा पनि सत्ता गठबन्धनमा तालमेल गर्ने चर्चा भईरहेकोले उपमेयरको आकांक्षी ओझेलमा परेका छन् । बेलकोटमा मेयरका आकांक्षीमध्ये नेपाल रेडक्रसका पूर्व सभापति एवं सामाजिक अभियान्ता विष्णु नेपालको नाम काँग्रेस बृत्तमा बढी चर्चामा रहेको छ । माओवादीको तर्फबाट विदुरमा लिलानाथ न्यौपाने, विष्णुबहादुर बोगटी, रामकृष्ण बानियाँ, प्रभा बोगटी र बेलकोटगढीमा बहालवाला उपमेयर कविता ढुंगाना, संविधानसभा सदस्य बिमला सुबेदी, जगतबहादुर गुरूङ, राजकुमार रेग्मी (सन्देश), सुभद्रा नेपाल आकांक्षी देखिएका छन् । एकिकृत समाजवादीले भने तालमेल कुरेर बसेको छ । सत्ता गठबन्धन चार दलबिच तालमेल नभए माओवादी केन्द्रसँग सहकार्य गरेर विदुर र बेलकोटमा उम्मेदवार दिने बताएको छ । काँग्रेसले सदरमुकाम रहेको विदुरमा एमालेको २०४६ पछिको वर्चश्व तोड्न जस्तोसुकै तालमेल गर्न पनि पछि नपर्ने अड्कल राजनीतिक विश्लेषकले गरिरहेका छन् । विदुर र बेलकोटगढीमा एमालेलाई साखः बचाउन हम्मे–हम्मे पर्नेछ भने काँग्रेस माओवादी र समाजवादीलाई नयाँ इतिहास रच्ने चुनौती छ ।