प्रकाशकीय : अबको यात्रा

  • त्रिशूली प्रवाह
  • २ बैशाख २०७९, शुक्रबार १५:०४

सर्वप्रथम नयाँ वर्ष २०७९ को शुभकामना ! त्रिशूली प्रवाह साप्ताहिक आजबाट २३ वर्ष प्रवेश गरेको छ । ०५७ वैशाख १ गते बिहीबारबाट प्रकाशन सुरु भएको यो पत्रिकाले यो अवधिमा धेरै आरोह-अवरोह पार गर्दै व्यावसायिक पत्रकारिताको स्पष्ट मान्यतामा अडिग रह्यो । २३औँ वर्ष प्रवेशको शुभअवसरमा सङ्घीय गणतान्त्रिक संविधानप्रति प्रतिबद्ध छौँ ।

हामी समस्त पाठक, विज्ञापनदाता, बिक्रेता, वितरक, शुभेच्छुक, सहकर्मी तथा पत्रकारलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ । सात दशकदेखिको राजनीतिक लडाइँ समाप्त भएर देश आर्थिक विकासको मार्गमा अघि बढिरहेको महसुस गरिरहेका तपाई-हामी फेरि राजनीतिक अस्थिरताले चिन्तित छौँ । देशमा अस्थिरताको बीजारोपण सुरु भएको छ । हिजो सँगै राजनीतिक परिवर्तनमा होमिएका दलहरू एकले अर्कोलाई निषेध गर्ने संस्कार स्थापित गर्न उद्यत् देखिन्छन् । यो भनेको हजारौँको बलिदानले प्राप्त लोकतान्त्रिक गणतन्त्रका लागि अशुभ सङ्केत हो ।

देशको कुल विदेशी विनिमय सञ्चितिमा कमी र शोधनान्तर घाटा बढ्दै जाँदा अर्थतन्त्र अहिले जोखिम मोडमा पुगेको छ । यो अवस्थामा नयाँ वर्षसँगै देशले स्थानीय तथा सङ्घीय र प्रदेशको निर्वाचन थेग्न परेको छ । आवधिक निर्वाचन अपरिहार्य भए पनि राजनीतिक दलहरूबीचको मैत्रीपूर्ण प्रतिस्पर्धाभन्दा एउटालाई सिध्याउन अरू सबै एक ठाउँमा जुट्ने प्रयास भइरहेको छ । यसले फेरि राजनीतिक द्वन्द्व बढाउनेछ भने कोरोना महामारीले थिलथिलिएको अर्थतन्त्रले बिस्तारै लय समातेको थियो । त्यसलाई फेरि उल्टो बाटोमा धकेल्नेछ । सात दशकदेखिको राजनीतिक मुद्दा टुङ्गो लागेर देश आर्थिक विकासको मार्गमा अघि बढिरहेको थियो । जनतामा अब देशमा केही हुन्छ भन्ने आशामा तुषारोपात गर्न राजनीतिक दलहरू लागिरहेका छन् । दक्षिण एसियाली दुई मुलुक श्रीलङ्का र पाकिस्तानको राजनीतिक नेतृत्व सही नहुँदा असफल राष्ट्रमा दर्ज भएका छन् । यसबाट पाठ सिक्दै दलहरूले समयमा बुझ्न सकेनन् भने समृद्ध नेपाल र सङ्घीयता धरापमा पर्नेछ ।

समृद्ध मुलुक निर्माणको आगामी यात्रामा हाम्रो प्रतिबद्धता कायम छ । मुलुक निर्माणको मुद्दासँगै जनताको सुसूचित हुन पाउने अधिकार स्थापित गराउन पनि औँला ठड्याउन हामी सक्रिय र चनाखो रहनेछौँ । अबको यात्रा राजनीतिक स्थिरतासँगै विकास निर्माण र सामाजिक रूपान्तरण हाम्रो प्राथमिकता हुनेछ । समयअनुसार बदलिएको पाठकको चाहना पूरा गर्न हामी अझ परिष्कृत ढङ्गबाट आउनेछौँ । प्राविधिक विकाससँगै सूचनाप्रति जनताको चासो पूरा गर्ने यो हाम्रो अभियानमा विगतमा झैँ पाठकको साथ र सहयोग पाउनेछौँ भन्ने अपेक्षासहित निरन्तर प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दछौँ । राज्यले सहयोग गरे पनि, नगरे पनि विरोधीले दुःख दिए पनि जनतालाई सुसूचित गर्ने कार्यमा निडरताका साथ प्रकाशन जारी रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

शरण उत्सुक सापकोटा
प्रकाशक/सम्पादक