सिन्दुरे र देवीजात्रा सम्पन्न

  • त्रिशूली प्रवाह
  • ८ बैशाख २०७९, बिहीबार १५:१३
  • रिना खनाल

बट्टार, देशको सङ्घीय राजधानी काठमाडौंको नजिक रहेको नुवाकोट जिल्लाको प्रमुख जात्रामध्येको देवी र सिन्दुरेजात्रा यसै हप्ता सम्पन्न भएको छ ।

विदुर नगरपालिका-२ नुवाकोट दरबारपरिसरमा बर्सेनि आयोजना हुने शताब्दीऔँ पुराना जात्रामध्ये सिन्दुरेजात्रा पनि एक हो । यो नुवाकोटको आफ्नै सांस्कृतिक पहिचान हो । सिन्दुरेजात्रा अर्थात् देवीजात्रा नुवाकोटमा विशेष महत्वका साथ हेरिन्छ । नेपालको इतिहासलाई पल्टाउने हो भने साततले दरबारको दक्षिणतर्फ रहेको देवी भैरवीलाई देशको रक्षक मानिन्छ । नेपाल–चीन युद्ध हुँदा राजा रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवीशक्तिका कारण विजय प्राप्त गरेको भन्ने विश्वास रहेको छ । भैरवीको सिन्दुरेयात्राको छुट्टै मौलिकता छ । हरेक चैत्रशुक्ल पूर्णिमाका दिन यो जात्रा धुमधामका साथ मनाइन्छ । यो यात्रा फागु पूर्णिमादेखि सुरु भएर महिना दिनसम्म चल्छ । यो जात्राको अवधिभर यसका पुजारीले जहाँ पायो त्यहाँ खाँदैनन् । जात्रा चलिरहँदा नारायणजात्रा पनि धुमधामका साथ मनाइन्छ । घोडेजात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्ने यो जात्रालाई मिनी सिन्दुरेजात्रा पनि भनिन्छ ।

सिन्दुरेजात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्वारे (सरकारका प्रतिनिधि), कुमार, गणेश, तथा गुठियारको व्यवस्था हुँदै आएको छ । हालका धामी हरिमानसिंह डङ्गोलको बाह्रौँ पुस्ताका धामी हुन् । यस वर्ष चैत्रशुक्ल चतुर्दशी (वैशाख २ गते) को दिन बेलुका कुमारीको हातबाट लिएको धामीको स्नान कार्यसँगै जात्रा विधिपूर्वक सुरु हुन्छ । बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोसाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदि वेशभूषामा धामी निकै आकर्षक देखिन्छन् । त्यसपछि धामी द्वारेको घरमा पुग्ने चलन छ । त्यसपछि द्वारेको घरमा गुभाजुले तान्त्रिक विधिमार्फत धामी-धमिनीमा भैरव-भैरवी चढाउने कार्य गरिन्छ अनि गाजल लगाइन्छ । सो कार्य सम्पन्न भएपश्चात् बुढी भैरवी (देवी भैरवीकी आमा) र भैरवी मन्दिरको पछाडि एक–एकवटा लिङ्गो (४२ हात लामो) गाड्ने गरिन्छ । पहिले लिङ्गो गाड्ने काम स्थानीयबाट हुन्थ्यो । केही वर्षयता नेपाली सेनाले गाड्ने गरेको छ । सामान्य बुद्धि लगाएर लिङ्गो गाड्न सकिँदैन । यो लिङ्गो वैशाख कृष्ण नवमी र दशमीका दिन क्रमशः ढालिन्छ । पूर्णिमाको दिन (वैशाख ४ गते) विशेष बाजागाजाका साथ धामी-धमिनी र गणलाई तलेजु मन्दिरतर्फ लगियो । त्यहाँ बज्राचार्य (गुभाजुद्वारा) आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण-पश्चिमपट्टि सूर्यमती र गण्डकीको सङ्गमस्थल देवीघाट (जालपा मन्दिर)तर्फ प्रस्थान हुन्छ । खटमा भैरव-भैरवी र अष्टमातृकाका मूर्तिहरू राखिएको हुन्छ । बाटोमा पर्ने स्थानमा रथको तथा जीवित देवताको रूपमा पुजिने धामी-धमिनीको दर्शन तथा पूजा गर्न भक्तजनको भिड लाग्छ । मध्यरातमा देवीघाट पुगेका धामीले करिब २४ घन्टाको बसाइमा बिहान विशेष पूजाआजासहित जालपा मन्दिरपरिसरमा जिउँदो पशुचौपाया तथा माछाको भोग खाएर नयाँ सालको देशमा हुने घटनाक्रमका भविष्यवाणी गरिन्छ ।

यो भविष्यवाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलकले मात्र पाउँछन् । उक्त भविष्यवाणीलाई नेपाल सरकारका राष्ट्रप्रमुखसमक्ष पु¥याइने प्रचलन रहेको द्वारे (महेन्द्रकुमार शाही)ले बताए । देवीघाटको मेला सकिएपछि धामी–धमिनीलगायत अन्य गण बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट फर्कन्छन् । देवीघाट, ठूलो बगैँचा, माझीटार, बट्टार हुँदै धरमपानी पु¥याइन्छ । बट्टारमाथि रहेको बाराही मन्दिर र धरमपानीको बीचमा विशेष जात्राभोज ख्वाइन्छ र रथलाई धरमपानीमा सर्वसाधारणलाई पूजाआजाका लागि राखिन्छ । द्वितीयाको दिन यस वर्षको (वैशाख ५ गते) धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखको उपस्थितिमा नेपाली सेना (जबरजंग गण)ले दुई सलामी (निशान झन्डा र भैरवी सलामी) बढाइँ दिइन्छ । यो यात्रा देवी भैरवी मन्दिर दक्षिणतर्फ रहेको महिषासुर मर्दिनी (दुर्गा) मन्दिरको अगाडि बज्राचार्यले विशेष पूजाआजा गरेपछि विजयोत्सवको रूपमा द्वारेले धामीलाई सिन्दूर र गाजल लगाइदिन्छ । जसले सिन्दूरेजात्राको रूप लिन्छ । किंवदन्तीअनुसार जालपा देवी (भैरवीको दिदी) आएको अवसरमा सिन्दुरेजात्रा गरी हर्षबढाइँ गरिएको मानिन्छ ।