सधैँ सम्झिरहने हजुरआमा

  • त्रिशूली प्रवाह
  • ८ बैशाख २०७९, बिहीबार १५:१९
  • फुर्पा तामाङ

एकजना हजुरआमाको सम्झना मलाई सधैँ आइरहन्छ । हजुरआमा हुन् ल्हाक्पा ग्याल्मो घले । हाम्रा पिताजीका माइलो मामा कर्पुदे घलेकी धर्मपत्नी हुन् उनी । पिताजी कैसाङ तामाङ र उहाँका माइलो मामा कर्पुदे एकदमै मिल्ने मामा-भान्जा रहेछन् । उमेरले पनि उहाँहरू धेरै फरक नभएकाले होला सायद यसरी मिलेका । धुन्चे आउँदा पिताजी प्रायः हजुरबुबा कर्पुदकोे घरमा पस्नुहुन्थ्यो । जेठो बुबा छोवाङ सोनाम र पिताजी धुन्चे आउनुहुँदा उहाँकोमै वास बस्नु बस्नुहुन्थ्यो ।

हजुरआमासँग मेरो नजिक हुन पुग्नुको कारण पनि पिताजी र हजुरबुबाबीचको घनिष्ठता नै हुनुपर्छ । दाजु ल्हाक्पा र दिदी किप्पा याङ्जेनले एसएलसी दिनुभएपछि धुन्चेमा बसेर पढ्ने म एक्लै हुने भएँ भनेर पिताजी र आमालाई खुब चिन्ता परेको रहेछ । डेरा खोजेर एक्लै पढ्न राख्ने उहाँहरूको मन रहेनछ । ‘बाबुआमाको मन छोराछोरीमाथि’ भन्ने उखानझैँ छोराले दुःख पाउला भनेर होला सायद मैले कक्षा ८ उत्तीर्ण गरेपछि कक्षा ९ मा पढ्ने बेला यस्तो अवस्था आइपरेको थियो । विद्यालय खुलेपछि पिताजीले मलाई हजुरबुबाको घरमा लैजानुभयो । उहाँहरू दुवैजनाको कुराकानीपछि मैले हजुरबुबाको घरमा बसेर ९ र १० कक्षा पढ्न अवसर पाएँ । पिताजीले रासनपानी किन्नुभयो र मलाई हजुरबुबाको जिम्मा लगाएर उहाँ घर जानुभयो । जिम्मा हजुरबुबालाई लगाए पनि त्यस दिनदेखि मेरो रेखदेखको जिम्मा हजुरआमाले पाइन् । हजुरआमाले बिहान, बेलुकी खाना पकाएर दिनुहुन्थ्यो । दिउँसो खाजा दिनुहुन्थ्यो । कहीँ जानुभयो र केही मिठो खानेकुरा पाउनुभयोे भने ल्याएर मलाई दिनुहुन्थ्यो । त्यो घरमा मैले दुई वर्ष बसेर पढ्दा हजुरआमाको असल व्यवहारले घरबाट टाढा भएर बसेको महसुस गर्नै परेन ।

कहिलेकाहीँ लगातार हप्तौँसम्म मकैको ढिँडो खानुपर्ने हुन्थ्यो । म र हजुरआमाकी कान्छी छोरी देकी ल्हामो एउटै कक्षामा पढ्थ्यौँ । हामी दुईजनालाई ढिँडो उति मन पर्दैनथ्यो । ढिँडो खान मन नगरेको देखेपछि हजुरबुबाले हप्काउनुहुन्थ्यो, ‘तिमीहरूलाई सधैँ चामलको भात कहाँ पाउँछ ? हाम्रो धान खेत छ र ? ढिँडो पनि खान सिक्नुपर्छ ।’ कुरा त ठिकै हो हजुरबुबाले गर्नुभएको । हजुरआमाले हाम्रो पक्षमा बोल्दै हजुरबुबालाई भन्नुहुन्थ्यो, ‘त्यस्तो भन्नुहुन्न । केटाकेटीलाई जे रुचि लाग्छ त्यो दिनुपर्छ । नत्र भोकै हुन्छन् ।’ हजुरआमाले चामल भएसम्म भातै पकाएर दिनुहुन्थ्यो । चामल छैन भने छिमेकी आफन्त कसको घरमा भात पकाएको रहेछ खोजेर भए पनि भातै दिनुहुन्थ्यो । यस्तो माया गर्ने हजुरआमालाई मैले कसरी बिर्सन सक्छु ? म आज सम्झिन्छु, हजुरआमा त साँच्चिकै महान् पो हुनुहुँदोरहेछ । हजुरबुबासँग वैवाहिक सम्बन्धले जोडिन आइपुगेकी हजुरआमाको मन कति विशाल । आकाशजस्तो । यही भएर त होला म घरीघरी हजुरआमालाई सम्झने गर्छु । हजुरबुबा कहिलेकाहीँ रक्सी पिउनुभएपछि हामी सबैलाई त्यसै पनि कराउनुहुन्थ्यो । हप्काउनुहुन्थ्यो । हामी डरले चुपचाप बस्थ्यौँ । त्यस्तो अवस्थामा पनि हजुरआमा किन कराउनुभएको केटाकेटीलाई भनेर हाम्रो पक्षमा बोल्नुहुन्थ्यो ।

हजुरआमाले निकै माया गर्नुभएकाले म पनि उहाँसँग झ्यामिँदै गएको थिएँ । प्रायः हजुरआमा एक्लैले खेताला लगाएर बारीमा काम गर्नुहुन्थ्यो । घरका अन्य सदस्य अर्कै व्यवसायमा व्यस्त हुन्थे । उहाँहरूको खेतबारी धेरै थियो । कामको बेला खेताला पाउन गाह्रो हुन्थ्यो । हजुरआमालाई म कहिलेकाहीँ बारीको काममा सघाउँथेँ । कहिलेकाहीँ जङ्गलबाट दाउरा खोजेर ल्याउँथेँ । धुन्चेमा घरघरमा पानीधारा थिएन । धारामा गएर पानी ल्याइदिन्थेँ । म अल्छी नमानी सकेजति हजुरआमाको काममा सघाउँथेँ । अनि उहाँका लागि म पनि प्यारो हुने नै भएँ । हजुरबुबाको घरमा दुई वर्ष बसेर पढ्दा एकप्रकारले म त्यो घरको सदस्यजस्तै भइसकेको थिएँ । हजुरआमा, हजुरबुबा, ठूलो मामा लामा रिन्जेन, उहाँकी श्रीमती, दिदी याङ्जेन, कान्छो मामा तेम्पा रिसाङ सबैले मलाई निकै माया गर्नुहुन्थ्यो । हजुरआमाकी कान्छी छोरी देकी ल्हामो र म एउटै उमेरका, एउटै कक्षामा पढ्ने भएकाले हामी दुईजना कहिले मिल्ने, कहिले झगडा पनि गथ्र्याैँ । तर, उनी नौ कक्षामा पढ्दा-पढ्दै विवाह गरेर गइन् । पछि म उच्च अध्ययनका लागि काठमाडौं आएँ । क्याम्पस छुट्टीको बेला हजुरआमा र हजुरबुबालाई भेट्न जान्थेँ । हजुरबुबा र हजुरआमालाई भेट्न पाउँदा मलाई खुब खुसी लाग्थ्यो । उहाँहरू पनि म भेट्न आएकोमा असाध्यै खुसी मान्नुहुन्थ्यो । कहिलेकाहीँ लामो समयसम्म भेट नहुँदा मलाई न्यास्रो लाग्थ्यो । उहाँहरूले पनि मेरोबारेमा सोधखोज गर्नुहुँदोरहेछ । उहाँहरूसँग भेट भएकाले मलाई त्यो कुरा सुनाउँथे ।

हजुरबुबा बिरामी भएर मृत्यु हुने बेलासम्मै खोइ मेरो नाति फुर्पा भनेर खोज्नुहुन्थ्यो रे ! अन्तिम सास छोड्नुअघि उहाँको मलाई भेट्ने इच्छा रहेछ । तर, त्यो इच्छा पूरा हुन पाएन । हजुरबुबाको मृत्युको खबरले मलाई कैयौँ दिनसम्म नरमाइलो बनायो । तैपनि हजुरआमा रहनुभएकाले म बेलाबेलामा हजुरआमालाई भेट्न जान्थेँ । म हरेकपटक उहाँलाई भेट्न जाँदा उहाँको अनुहारमा एक किसिमको खुसी झल्किन्थ्यो । जहिल्यै खुसीको मुहार बनाउन सक्ने खुबी उहाँमा थियो । मलाई लाग्छ– वास्तवमा उहाँ एक ज्ञानी महिला हुनुहुन्थ्यो । हरेक सुख र दुःखमा सन्तुष्टि लिन सक्ने स्वभावकी हजुरआमा हुनुहुन्थ्यो । धर्तीमा सबै मानिस असल र ज्ञानी हुन्छन् भन्न सकिँदैन । तीमध्येकी उहाँ एकजना ज्ञानी हजुरआमा हुनुहुन्थ्यो । उनै हजुरआमा पनि अहिले हामीबीच हुनुहुन्न । उहाँ स्वर्गवास भएको दशकभन्दा बढी भयो । मानिसले गर्ने कर्मको आधारमा सम्झिने र बिर्सिदिने हुँदोरहेछ । मैले हजुरआमालाई कहिल्यै बिर्सिन सकिनँ । सायद यो जन्मभरि मात्र होइन अर्को जुनीमा पनि बिर्सिन्न होला ।

ठूलोभार्खु, रसुवा

phurpatamang10@gmail.com