+
Search

ताजा अपडेट +

पपुलर +

रसुवाको पर्यटन प्रवद्धनमा गोसाइँकुण्ड

रसुवाको पर्यटन प्रवद्धनमा गोसाइँकुण्ड
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । रसुवा जिल्लाको प्रमुख धार्मिक एवम् पदमार्गस्थल गोसाईँकुण्डमा अहिले पर्यटक मौसम सुरु भएको छ । चैत, वैशाख, जेठ र असार पदयात्राको अनुकूल समय भएकोले दैनिक पाँच दर्जनको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको धार्मिक एवम् पर्यटकीयस्थल गोसाईँकुण्डमा गंगादशहरा र जनैपूर्णिमामा विशेष मेला लाग्ने गरे पनि पछिल्ला केही वर्षदेखि वर्षभरि आन्तरिक र बाह्य पर्यटकको भिडभाड हुने गरेको गोसाईँकुण्ड मार्गको चन्दनबारीका होटेल व्यवसायी सुब्बा लामाले जानकारी दिनुभयो ।

त्रिशूली नदीको उद्गमस्थल त्रिशूलधारा, गोसाईँकुण्डसहित एक सय आठ कुण्ड, अमरसिंह गुफालगायत ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महत्त्व रहेको उक्त क्षेत्र प्राकृतिक दृश्यावलोकन र पदयात्राका लागि महत्त्वपूर्ण स्थल रहेको धुन्चेका होटेल व्यावसायी रामशरण गजुरेल (निशान) ले बताउनुभयो । यस क्षेत्रको भ्रमण गर्दा वन्यजन्तु, चराचुरुङ्गी, पुतली, जडीबुटी, गुम्बा, धार्मिक ठाउँ, विभिन्न सांस्कृतिक वेशभूषा र ज्ञानगुनका जानकारी पाउन सकिने भएकाले यस क्षेत्रको महत्त्व सबै वर्गका लागि उत्तिकै छ । जेठमा पर्ने गंगादशहरा र भदौमा पर्ने जनैपूर्णिमाको अवसरमा एक-एक हप्ता विशेष मेला लाग्ने गर्छ । विगत १० वर्षयता मेलामा भन्दा अन्य महिनामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको विवरण लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले वेलावेलामा सार्वजनिक गर्ने गरेको छ । समुद्र मन्थनबाट उत्पन्न कालकुट विषको डाह शान्त पार्न हिमालय खण्डमा आई भगवान् शिवले आफ्नो हातको त्रिशूलले भित्ता फोरेर निस्केको गंगाजल त्रिशूलधाराको पानीबाट गोसाईँकुण्ड बनेको सो कुण्डमा महादेव गंगा दशहरा र जनैपूर्णिमामा विराजमान हुने किंवदन्ती रहेको छ । जीवनमा एकपटक पुग्नैपर्ने धार्मिक एवम् पर्यटकीयस्थल गोसाईँकुण्ड पुग्नका लागि सहज पदमार्ग र पदमार्गमा घोडा, भरियासहित मौसम सहज भएको समयमा हेलिकोप्टरको सेवासमेत रहेको छ ।

क्षितिजमा उदाउँदै गरेको सूर्यको सुनौला किरण, छेवैमा गाढा निलो रङको कुण्डमा माथिको हिमालले ऐना हेरेर मुस्कुराएझैँ दृश्य, आसपासमा हिउँका सेताम्य रूप, गोसाईँकुण्ड पुग्नेलाई बिर्सनै नसकिने पल हो । गोसाईँकुण्ड पुग्नासाथ जोकोहीको मुखबाट फुत्त निस्कन्छ ‘ओ माई गड’ ! काठमाडौँबाट छोटो दूरीमा रहेको रमाइलो एवम् धार्मिक गन्तव्यका रूपमा विकसित छ गोसाईँकुण्ड । बाहिर सामाजिक सञ्जाल वा फोटो ग्यालरीतिर नजर डुलाउँदा पनि गोसाईँकुण्डको दृश्यले जोकोहीको मन लोभ्याउँछ । कञ्चन पानीसहित ऐनाझैँ बनेर बसिरहेको कुण्ड, आसपासमा बरफका ढिक्का, पहाडमा सेताम्मे हिउँको लोभ्याउँदो दृश्य देख्ने जोकोहीलाई गोसाईँकुण्ड जाउँजाउँ लाग्ने त्यहाँ पुगेर फर्किएका मञ्जुश्री ठाकुरले बताउनुभयो । कतिपय त सामाजिक सञ्जालमा देखिने मनै लोभ्याउने ती दृश्यलाई नजिकैबाट नियाल्नका लागि पनि गोसाईँकुण्ड पुग्ने गरेको बताउँछन् ।

काठमाडौँको बालाजु, माछापोखरीदेखि सार्वजनिक बस, माइक्रो, टाटासुमोमा रसुवाको धुन्चे पुग्न सकिन्छ । त्यहाँसम्म पुग्नका लागि सामान्यतयाः चार देखि ६ घण्टासम्म लाग्न सक्छ । धुन्चेबाट गोसार्इँकुण्डको पैदल यात्रा सुरु हुन्छ । धुन्चेबाट देउरालीसम्म चार देखि ६ घण्टामा पुग्न सकिन्छ । देउरालीबाट बिस्तारै उकालो लाग्दै जाँदा शान्त वातावरण, सुनसान जङ्गलमा केवल चराचुरुङ्गी र पशुपन्छीको चिर्बिराहटले मनै आनन्द बनाइदिएको अनुभव कुण्ड पुगेर फर्केका नुवाकोट विदुर-४ का भानु पाण्डेले सुनाउनुभयो । देउरालीबाट करिब डेढ घण्टा हिँडेपछि ढिम्सा पुगिन्छ । देउरालीबाट ढिम्सा पुग्न उकालो पर्ने भएकाले केही सकस पर्न सक्छ । यात्राका क्रममा लौरो बोकेर हिँड्नुपर्छ । ठाडो उकालोमा लौरोकै सहाराले यात्रालाई थप सहज बनाउँछ । ढिम्सा पुगेपछि भने बाटो सहज छ । ढिम्साबाट नजिकको ‘स्टे पोइन्ट’ चन्दनबारी हो । करिब डेढ घण्टाको पैदलयात्रामा पुग्ने चन्दनबारीमा आकर्षक होटेल रहेका छन् । त्यहीँका स्थानीय चौँरीको चिज तथा छुर्पीको स्वाद चाख्न पाइने चन्दनबारीमा दुग्ध विकास संस्थानको याक चिज फ्याक्ट्री सञ्चालनमा छ । यति मात्र नभएर चन्दनबारीमा चिसो ठाउँमा जानका लागि आवश्यक तातो कपडा पनि उपलब्ध छ । स्थानीय भेडा तथा चौँरीका ऊनबाट बनाइएका कपडा निकै आकर्षक हुन्छन् । यसले ‘टिपिकल’ कपडा लगाउन रुचाउनेका लागि थप खुसी र मनोरञ्जन प्रदान गर्छ । यति मात्रै नभएर स्थानीय कपडाको प्रवद्र्धनमा समेत सहयोग पुगिरहेको छ । चन्दनबारीका होटेल धेरै महँगा छैनन् । यहाँ रहेको विहारको दृश्य सुन्दर छ । गोसाईँकुण्ड धार्मिक पर्यटनले भरिपूर्ण क्षेत्र हो । धार्मिक पर्यटन भएका कारण चन्दनबारीबाट माथि जाँदै गर्दा मासुजन्य खानेकुरा धेरै पाइँदैनन् । तर, चन्दनबारीमा भने रमाइलोका लागि जानेलाई मासुजन्य परिकारकासाथै लोकल रक्सीको स्वादसमेत चाख्ने सुविधा छ ।

घाम लागे पनि जङ्गलको बाटो जानुपर्ने भएकाले रुखले छहारी दिन्छन् । विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन हेर्दै चन्दनबारीबाट उकालो लाग्दा हिँडेको थकान महसुस नहुने पदयात्री बताउँछन् । केही समय चन्दनबारीबाट हिँडेपछि अर्को स्टे पोइन्ट चोलाङपाटी पुगिन्छ । यहाँबाट विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । लाङटाङ, गणेश हिमाल, मनास्लुलगायतको रेन्ज यहाँबाट सुन्दर देखिन्छ । त्यसपछि लौरीबिनाको उकालो सुरु हुन्छ । लौरीबिना पाइलैअगाडि नबढ्ने भएकाले यो ठाउँको नाम नै लौरीबिनाको उकालो रहन गएको हो । लौरीबिनाको उकालो साँच्चै उकालो छ । गोसाईँकुण्डसम्मको बाटो लौरीबिना जानै सकिँदैन । यात्रुको सहजताका लागि सिँढी बनाइएको छ र समात्नका लागि रेलिङ राखिएको छ । यो उकालो कटेपछि मात्रै गोसाईँकुण्ड पुग्न सकिन्छ । लौरीबिनामा राति बास बसेर भोलिपल्ट गोसाईँकुण्ड जाँदा सहज हुने पदयात्री बताउँछन् । यात्राका क्रममा खानका लागि अचार वा अन्य केही साथमा लिएर गएमा त्यो उकालोमा खाँदै हिँड्न सकिन्छ । त्यसो गर्दा थकान भुलिन्छ भने ऊर्जा पनि शरीरमा थपिन्छ । लौरीबिनाबाट केही माथि बुद्धपार्क र बुद्ध मन्दिर पुग्न सकिन्छ । ठाडो उकालो भएकाले पार्कतर्फ अगाडि बढ्दै गर्दा लेक लाग्ने सम्भावना बढी हुन्छ । बुद्धपार्कमा गएर थकाइ मार्न सकिन्छ । शाक्यमुनि मन्दिर रहेको सो बुद्धपार्कबाट भने केही तेर्सो बाटो आउँछ । यात्राका क्रममा निकै खरतरनाक बाटो पनि भेटिन्छ । पहाड खनेर बनाइएको साँघुरो बाटो, तल छङ्गाछुर भिर । निकै सकसका साथ सो बाटो कट्छ । तर, यात्रुको सहजताका लागि सो बाटोमा अहिले रेलिङ राखिएको छ । बुद्धपार्कबाट केही पर हिँडेपछि त्यहाँबाट भैरवकुण्ड देख्न सकिन्छ । गोसाईँकुण्डको त्रिशूलसम्म बुद्धपार्कबाट केही अगाडि बढेपछि देख्न सकिन्छ । ती दृश्य हेर्दा लाग्छ – अब त गोसाईँकुण्ड आयो । त्यो दृश्यले त्यहाँ पुग्ने जो-कोहीलाई तान्छ । थकान भुल्दै करिब एक घण्टामा गोसाईँकुण्ड पुग्न सकिन्छ ।

गोसाईँकुण्ड माथि तस्बिरमा देखिएझैँ अटल, निश्चल, हाँसिरहेका हिमाल । यी दृश्यले साँच्चै जो-कोहीलाई भावुक बनाउँछ । त्यहाँ पुग्नेबित्तिकै जो-कोहीलाई बिर्सनै नसकिने गरी मनमा बसिदिन्छन्, ती दृश्य । गोसाईँकुण्डमा चिसो छ । हावा बेस्सरी चल्ने हुनाले केही गाह्रो पनि हुन सक्छ । त्यहाँ पुग्ने भन्छन्, ‘आसपासका पहाड-पहरामा देखिने हिउँका सेताम्य रूप, हाँसिरहेका विभिन्न हिमशृङ्खलाको अँगालोमा परेको त्यो पल, साँच्चै कुनै शिशुलाई लामो समयपछि आफ्नो आमा भेट्दाको खुसीभन्दा फरक लाग्दैन । त्यहाँ पुगेपछि लाग्छ – जीवनमा एकपटक भने पनि पुग्नैपर्ने ठाउँ हो गोसार्इँकुण्ड । गोसाईँकुण्डबाट केही माथि भगवान् शिवले त्रिशूल गाडेको त्रिशूलधारा रहेको छ । त्यहाँको जल पदयात्रीले फर्कँदा ल्याउने र सो जल छर्किँदा घर तथा मन्दिर पवित्र हुने धार्मिक विश्वास छ ।’ गोसाईँकुण्डबाट करिब एक घण्टामाथि सूर्यकुण्ड छ । थप दुई दिन समय छुट्याएर फुर्सदले सूर्यकुण्डसम्म पुगेर फर्कन सकिन्छ । गोसाईँकुण्डसहित सो आसपासमा एक सय आठ कुण्ड रहेका छन् । यी कुण्डको पानीले नुहाएर सारा दुःख, कष्ट एवम् पाप नष्ट हुने धार्मिक मान्यतासमेत रहेको छ । गोसाईँकुण्ड जानका लागि चारदेखि ६ दिनसम्मको तालिका बनाउन सकिन्छ । काठमाडौँबाट धुन्चे करिब ९८ किलोमिटर दूरीमा छ । त्यहाँबाट पैदल यात्राका लागि एक दिन समय छुट्याउने र बाँकी दिन घुम्ने गरी जाँदा उत्तम हुन्छ । सो ठाउँमा घुम्नका लागि प्रतिव्यक्ति रु.१० देखि रु.१२ हजार खर्च लाग्छ । यसबाहेक आफ्नो आवश्यकता र क्षमताअनुसार खर्च गर्न पनि सकिन्छ । पर्यटकीय एवम् धार्मिक महत्त्व रहेको गोसाईँकुण्डमा ज्येष्ठ शुक्ल प्रतिपदादेखि गोसाईँकुण्ड स्नान सुरु हुन्छ । विसं २०८३ मा यो तिथि जेठ १२ गते परेको छ । गोसाईँकुण्डमा जनैपूर्णिमामा पनि विशेष मेला लाग्ने गर्छ ।

के ल्याउने कोसेली
चन्दनबारीमा रहेको स्थानीय चौँरीको दुधको चिज, छुर्पी कोसेलीको रूपमा ल्याउन सकिन्छ । साथै, स्थानीय ऊनबाट बनाइएका ऊनीका कपडा पनि कोसेलीको रूपमा ल्याउन सकिन्छ ।

के ख्याल गर्ने
हिमालको काखमा रहेको गोसाईँकुण्ड काठमाडौँ वा अन्य कुनै सहरभन्दा चिसो छ । त्यसकारण चिसो ठाउँमा यात्रा तय गर्दा त्यसैअनुरूपको कपडा साथमा लैजानु आवश्यक हुन्छ । साथै, हिँड्नका लागि सहज हुने हलुका बुट पनि साथमा लैजानु उचित हुन्छ । यसबाहेक यात्रुले टेक्ने लौरी दुईवटा भयो भने फर्कने समयमा उकालोबाट झर्न सहज हुन्छ । प्राथमिक उपचारका सामान राख्नुपर्छ । नट्स, नुनिलोभन्दा पनि गुलियो चिज लग्दा उचित हुन्छ । लसुन, लसुनको अचारले अल्टिच्युड सिकनेसलाई कम गर्छ । यात्राका क्रममा धेरै गाह्रौँ सामान नबोकेकै उचित हुन्छ । कपडा पनि दुई सेटभन्दा बढी नलैजाँदा हुन्छ । गोसाईँकुण्ड जाँदा र फर्कँदा राष्ट्रिय निकुञ्जको चेकजाँच हुन्छ । ब्यागसमेत चेक हुने भएकाले गैरकानुनी तथा अवैध कार्य गर्नुहुँदैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह