+
Search

ताजा अपडेट +

पपुलर +

पेसा र राजनीतिलाई सँगसँगै लैजाने उपाय

पेसा र राजनीतिलाई सँगसँगै लैजाने उपाय
जितेन्द्र अर्याल
१ घण्टा अगाडी

राजनीति र पेसालाई सामान्यतया दुई भिन्न कित्तामा राखेर हेर्ने गरिन्छ । तर, यथार्थमा यी दुईबिच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्नेमा वर्तमानमा विरोधाभासपूर्ण अभिव्यक्तिहरू यदाकदा देखिन र सुनिन थालेको छ । समाजसेवाको उच्चतम रूप मानिने राजनीति जब ‘पेसा’ बन्न पुग्छ, तब विकृति सुरु हुन्छ भने अर्कोतर्फ, पेसागत दक्षताविनाको राजनीतिले नीतिगत तहमा बौद्धिक खडेरी निम्त्याउँछ । यसै सन्दर्भमा रहेर पेसा र राजनीतिका सँगसँगै लानुपर्ने र लानु नहुने पक्षका केही चिरफार गर्ने जमर्को गरेको छु ।

राजनीति र पेसाको पक्षका सम्बन्धमा तर्क-दक्षता र विज्ञता : यदि राजनीतिज्ञ कुनै पेसा (कृषि विज्ञ, अर्थशास्त्री, प्राध्यापक वा व्यापारी)मा आबद्ध छ भने उसले बनाउने नीति व्यावहारिक र परिणाममुखी हुन्छन् । आफूले स्वयम् भोगेका दुःख र कठिनाइ समस्या समाधानतर्फ केन्द्रित भएर नीति निर्माण गर्न काबिल हुन्छन् ।

आर्थिक स्वावलम्बन : आफ्नै पेसा वा व्यवसाय भएको व्यक्ति आर्थिक रूपमा परनिर्भर हुँदैन, जसले गर्दा भ्रष्टाचारको जोखिम न्यून हुन्छ ।

अनुशासन : पेसाले व्यक्तिलाई समयपालक, मर्यादापालक र परिणामप्रति जिम्मेवार बनाउँछ, जुन गुण हालको परिवेशमा स्थापित राजनीतिमा अत्यावश्यक छ । राजनीति र पेसाको विपक्षमा (सँगसँगै लानु नहुने) तर्क स्वार्थको द्वन्द्व पेसागत स्वार्थ र राजनीतिक निर्णय आपसमा बाझिन सक्छन् । नीति निर्माण आफू  र आफ्ना पेसाअनुकूल बनाउने सम्भावना बढी हुन्छ । जस्तै एक निर्माण व्यवसायी राजनीतिमा आउँदा ठेक्कापट्टामा प्रभाव पर्न सक्छ ।

समय व्यवस्थापन : राजनीति पूर्णकालीन सेवा हो । पेसामा बढी समय दिँदा जनसरोकारका मुद्दा ओझेलमा पर्न सक्छन् । चुनावका वेला गरिएका वाचा पूरा गर्न समय अभाव हुन सक्छ ।

      नुवाकोटको भूगोल र विशेषगरी विदुर नगरपालिकाको राजनीतिक इतिहासलाई हेर्दा यहाँका नेताले विगतमा शैक्षिक र सामाजिक विकासमा महत्त्वपूर्ण प्रयास नगरेका होइनन् । जिल्लाको सदरमुकामसमेत रहेको विदुरमा सडक सञ्जालको विस्तार, शैक्षिक संस्थाको स्थापनामा विगतका नेतृत्वको भूमिका सराहनीय छ । विगतमा गरिएका प्रयास र पहलकदमीका लागि तत्कालीन नेतृत्वलाई सम्मान र स्मरण गर्नैपर्छ र शिर झुकाई नमन पनि गर्न चाहन्छु । तर, पछिल्लो समयक्रमलाई केलाउने हो भने व्यापारी र ठेकेदार राजनीतिमा प्रवेश गरेका छन् । हुन त उहाँ पनि पेसाकर्मी नै हुनुहुन्छ, तर विकास निर्माण र जनजीविकाका सवालमा विदुर उपल्लोस्तरमा उठ्न नसक्नु आममानिसको चासोको विषय बन्न पुगेको छ । सतही रूपमा देखिएको गम्भीर समस्या भनेको ‘राजनीति नै पेसा’ अर्थात् ‘आय आर्जनको माध्यम’ बन्नु हो । विदुरकै सन्दर्भमा हेर्ने हो भने कतिपय युवा नेतृत्व र कार्यकर्ता जसको कुनै ठोस पेसा वा आम्दानीको स्रोत छैन, उनीहरूको जीवनशैली एकदमै भद्दा र विलासी देखिन्छ । जब राजनीतिलाई नै कमाइखाने भाँडो बनाइन्छ, तब कार्यकर्ता पाल्नका लागि प्राकृतिक स्रोत (नदीजन्य पदार्थ) को दोहन, ठेक्कापट्टामा कमिसन र योजनाको बाँडफाँडमा आफ्ना मान्छे रोज्ने र जसले गर्दा कमाउधन्दा प्रवृत्ति बढ्दै गएको दृश्यावलोकन सम्पूर्ण विदुरवासीमा छर्लङ्ग छ । पेसागत पृष्ठभूमि नभएका कारण अक्षमता प्रदर्शन गर्दै विदुर नगरपालिकाको शैक्षिक क्षेत्रमा लहडबाजी र मनोमानी, सहरी व्यवस्थापनमा लापरबाही, फोहोरमैला व्यवस्थापन र साना उद्योग प्रवद्र्धनमा ठोस र प्राविधिक दृष्टिकोण पुग्न सकेको छैन । गुन्डागर्दी गर्ने, धम्की दिने, जाइलाग्ने र झोले प्रवृत्तिका व्यक्तिलाई पक्षपोषण गरी भोटबैंक तयार पार्ने रणनीतिअनुरूप रोजगारी प्रदान गर्नु पनि पेसागत विज्ञताको अभाव भन्ने स्पष्ट हुन आउँछ । अरूका गल्ती र कमजोरी मात्र आफ्ना राजनीतिक हतियार बनाउन हुन्न भन्ने चेत र विकासको स्पष्ट मार्गचित्र पनि देखाउन सक्ने अब्बलता आगामी नेतृत्वमा हुनु नितान्त अपरिहार्य छ ।

अबको गन्तव्य : पेसा र राजनीतिलाई सँगै लैजाने उपाय राजनीतिलाई शुद्धीकरण गर्न र पेसासँग जोड्न निम्न उपाय अवलम्बन गर्न सकिन्छ :

आर्थिक पारदर्शिता र सक्रियता : प्रत्येक राजनीतिकर्मीको जीवननिर्वाहका लागि कुनै न कुनै वैध पेसा (जस्तै :  आधुनिक कृषि, शिक्षण, विज्ञताको पद वा व्यापार-व्यवसाय) हुनुपर्छ । यसले गर्दा कार्यकर्ताले ‘नेता पाल्नुपर्ने’ र नेताले ‘कार्यकर्ता पाल्न भ्रष्टाचार गर्नुपर्ने’ अवस्था अन्त्य हुन्छ । राजनीतिज्ञले आफ्नो सम्पूर्ण आय र सम्पत्ति विवरण पारदर्शी ढङ्गले पेस गर्नुपर्ने र सक्रिय पेसागत शुद्धताको ग्यारेन्टी गर्नुपर्दछ ।

पेसागत सङ्गठनको सदुपयोग : विदुरभित्रका विभिन्न पेसा गरिरहनुभएका जस्तै : कृषक (हालसम्म उपेक्षित वर्ग), शिक्षक, व्यापारी, निर्माण व्यवसायी, डाक्टर, इन्जिनियर र कृषिविज्ञलाई राजनीतिको र विदुर निर्माणको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता गराउनुपर्छ ।

आचारसंहिताको निर्माण : राजनीतिक पदमा रहँदा आफ्नो पेसाबाट प्रत्यक्ष लाभ लिने कार्यलाई पूर्णतः निषेध तथा दण्ड-जरिवाना गरिनुपर्छ । राजनीतिलाई निश्चित अवधिका लागि गरिने समाजसेवा र पेसालाई जीवनभरको पहिचानका रूपमा स्थापित गर्नुपर्छ ।

अन्त्यमा, विदुर नगरपालिकाको समृद्धिका लागि अबको नेतृत्व ‘पेसाविहीन’ हुनुहुँदैन । विदुरको स्तर वृद्धि गरी उपमहानगर र महानगरपालिका बनाउने सोच र भिजन भएको, केवल भाषण गर्ने नेता होइन, एउटा निश्चित कार्यदक्षता भएको र आफ्नो खुट्टामा उभिएको नेतृत्व आवश्यक छ । जबसम्म राजनीतिलाई आर्जनको माध्यम बनाइन्छ, तबसम्म समाजले सही निकास पाउँदैन । त्यसैले, ‘पेसामा इमानदारिता र राजनीतिमा निःस्वार्थ’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्नु नै आजको आवश्यकता हो । (लेखक नुवाकोट आदर्श बहुमुखी क्याम्पसका प्राध्यापक हुनुहुन्छ ।)

प्रतिक्रिया

लेखकको बारेमा

जितेन्द्र अर्याल