+
Search

ताजा अपडेट +

पपुलर +

जनचेतना वृद्धिसँगै स्वास्थ्य सेवा सुधार

जनचेतना वृद्धिसँगै स्वास्थ्य सेवा सुधार
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । मातृ तथा शिशु मृत्युदर, सङ्क्रामक रोगको जोखिम घटाउने, खोपको पहुँच विस्तार, स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालनलगायत कारणले रसुवाको स्वास्थ्य सेवामा सुधार हुँदै गएको छ । खोपमा पहुँचको कमी तथा स्वास्थ्यसम्बन्धी चेतनाको कमी मुख्य चुनौतीका रूपमा देखिएकामा जनचेतना अभिवृद्धि, छलफल तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएसँगै जिल्लाको स्वास्थ्य सेवामा सुधार हुँदै गएको जनस्वास्थ्य कार्यालयका प्रमुख झमप्रसाद आचार्यले बताउनुभयो ।

जिल्लामा स्वास्थ्य सेवा विस्तार र सुधारका प्रयाससँगै खोपको महत्त्व, स्वस्थ जीवनशैली, मातृ तथा शिशु स्याहारसम्बन्धी चेतनामूलक कार्यक्रम, प्रजनन स्वास्थ्यबारे जानकारीलगायत कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । गत हप्ता चालू आर्थिक वर्षमा गरेका स्वास्थ्य सेवाको समीक्षासम्बन्धी कार्यक्रममा कार्यालयले साउनदेखि पुस मसान्तसम्म सञ्चालित कार्यक्रम, उपलब्धि र चुनौतीका विषयमा सरोकार भएका निकाय, पत्रकारलगायतसँग छलफल गरी जानकारी गराएको थियो । हिमाली भूगोल, दुर्गम बस्ती सडक तथा यातायातको सीमित पहुँचका कारण पहिला यहाँका नागरिकलाई सामान्य उपचार सेवा लिन पनि लामो दूरी पैदल हिँड्नुपर्ने बाध्यताका कारण उपचारबाट वञ्चित हुने गरेको थियो । जनस्वास्थ्य प्रमुख आचार्यले बताएअनुसार मातृ तथा शिशु मृत्युदर रोक्न जनचेतना विस्तार तथा मातृ तथा शिशु स्वास्थ्यको आवश्यक जानकारी, सङ्क्रामक रोगको जोखिम, सचेतना अभिवृद्धि, खोपमा पहुँच विस्तार तथा स्वस्थ जीवनशैलीबारे जानकारीलगायत विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएसँगै पछिल्ला वर्षमा स्वास्थ्य सेवामा सुधार हुँदै गएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य, स्वास्थ्य पूर्वाधार विस्तार तथा समुदायमा आधारित कार्यक्रमले स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य प्रमुख आचार्यका अनुसार चालू आवमा जिल्लाभर क्षयरोग नियन्त्रण, कीटजन्य रोग नियन्त्रण, बाल स्वास्थ्यअन्तर्गत खोप तथा पोषण कार्यक्रम सञ्चालन गरिएको छ । मातृ तथा नवजात शिशुसेवा, किशोरकिशोरी स्वास्थ्य, एचआइभी/एड्स तथा यौनरोग नियन्त्रण, नर्सिङ तथा सामाजिक सुरक्षा, औषधि तथा उपकरण व्यवस्थापन, आकस्मिक महामारी नियन्त्रणलगायत कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । हाल जिल्लामा एउटा प्रदेशिक अस्पताल, दुईवटा आधारभूत अस्पताल, चारवटा आयुर्वेद स्वास्थ्य संस्था, १६ वटा स्वास्थ्य चौकी, १६ वटा सामुदायिक स्वास्थ्य इकाइ, तीनवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, १८ वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । कार्यालयको मातहतमा गाउँगाउँमा सेवा विस्तार गर्न २४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालित छन् भने सुरक्षित गर्भपतन गराउने तीनवटा क्षेत्रीय केन्द्र सञ्चालनमा छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा दुई सय ३१ बालबालिकालाई पूर्णखोप लगाइसकेको, जिल्लामा खोप लगाउने बालबालिकाको कुल सङ्ख्या सात सय १६ पुगेको छ । चीनसँग जोडिएको रसुवागढी अन्तर्राष्ट्रिय नाकाबाट आवतजावत गर्ने नागरिकमार्फत सर्न सक्ने सङ्क्रामक रोगको जोखिमलाई ध्यानमा राख्दै नाकामा नियमित स्वास्थ्य परीक्षणको व्यवस्थासमेत कार्यालयले गरेको छ । सो क्षेत्रमा राखिएका हेल्थ डेक्सले सङ्क्रमण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका जनस्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो । विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै रसुवाका २० वटा माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरी प्राथमिक उपचार, स्वास्थ्य परामर्श र स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविकामार्फत धामीझाँक्रीप्रतिको निर्भरता घटाउँदै वैज्ञानिक उपचारप्रति नागरिकलाई आकर्षित गर्न कार्यालयले अभियान निरन्तर सञ्चालन गरिरहेको छ । रसुवामा रहेका ‘ख’ वर्गका १० वटा एम्बुलेन्समध्ये केही बिग्रिएकोसमेत कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी, ग्रामीण सडकको अवस्थाका कारण एम्बुलेन्स सेवा सञ्चालनमा चुनौती देखिए पनि रसुवामा ‘ख’ वर्गका १० वटा एम्बुलेन्समध्ये केही बिग्रिएको छ । नियमित र प्रभावकारी उपरोक्त कार्यक्रम सञ्चालनका लागि फागुन मसान्तसम्म रु.७३ लाख ७१ हजार सात सय तीन खर्च भएको जनस्वास्थ्य अधिकृत श्रृजा रिजालले जानकारी दिनुभयो । कार्यक्रमले रसुवाको समग्र स्वास्थ्य अवस्था क्रमशः सुदृढ हुँदै गएको निष्कर्ष निकालेको छ । नियमित स्वास्थ्य परीक्षण गर्ने, पानी उमालेर पिउने, सन्तुलित आहार खाने, बासी खाना नखाने, रोगका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जाने, सुर्ती, मदिरा तथा लागुपदार्थ सेवन नगर्न र योग, ध्यान तथा व्यायामलाई दैनिक जीवनको हिस्सा बनाउन आग्रह गरिएको छ । रसुवाको स्वास्थ्य सेवामा सुधारको यात्रासँगै अब आधारभूत उपचारबाट गुणस्तरीय स्वास्थ्य सेवातर्फ अघि बढिरहेको नेपाल रेडक्रस रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह