एमालेको घोषणापत्रको चिरफार

  • त्रिशूली प्रवाह
  • १५ बैशाख २०७९, बिहीबार १२:१७
  • सीताराम बोगटी

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्दै ६ वटा सङ्कल्प गरेको छ । ‘पार्टीका जनप्रतिनिधि जनताका सेवक बन्ने, विकासका अभियन्ता हुने, सदाचारको नीति लिने, भ्रष्टाचार नगर्ने र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने’ एमालेको घोषणापत्रमा उल्लेख छ । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेको स्थानीय निर्वाचनको चुनावी घोषणापत्रमा उक्त सङ्कल्प गरिएको छ । पार्टीका नेताले चुनाव जितेपछि लिने नीति र व्यवहारलाई एमालेले जनतासँग ‘सङ्कल्प’ भनेको छ । घोषणापत्रमा भ्रष्टाचार नगर्ने र गर्नेलाई कडा कारबाही गर्ने उल्लेख छ । छोटो समयमा नै मुलुकलाई समुन्नत र सबल राष्ट्र निर्माण गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर अध्यक्ष ओलीले सात प्रतिबद्धतासहित ४८ पेजको घोषणापत्र सार्वजनिक गरेका छन् । ‘सुशासन, समृद्धि र समाजवादीको आधार पालिका-पालिकामा एमालेको सरकार’ भन्ने नाराका साथ घोषणापत्र ल्याएको हो । रेल, पानीजहाजदेखि विद्युतीय बसको विषय घोषणापत्रमा उल्लेख छ । अशक्त अवस्थामा रहेको ज्येष्ठ नागरिकलाई घरमा नै भत्ता उपलब्ध गराउनेदेखि लोपोन्मुख, सीमान्तकृत, धार्मिक र लैङ्गिक अल्पसङ्ख्यक, जोखिममा परेको जाति र परिवारको संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता एमालेको छ । बालबालिका, ज्येष्ठ नागरिकका साथै युवाका एजेन्डालाई पनि घोषणापत्रमा राखिएको छ ।

सहज आवागमनको आधार, दिगो यातायात पूर्वाधार : सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवम् आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने प्रतिबद्धता एमालेको छ । सडक, हवाई, जल, केबलकार, रोपवे, दूरसञ्चारलगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ । प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, सडक निर्माण गर्दा यसको दिगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्नेछ । ठूला सहरमा रेल, बस ¥यापिड ट्रान्जिटलगायतका यातायात प्रणालीको विकास गर्ने, ठूला नदी प्रणालीमा जल यातायातको विकास गर्ने पनि एमालेको घोषणापत्रमा छ । विद्युतीय सवारीसाधनलगायत पर्यावरणमैत्री यातायात सञ्चालनलाई प्रोत्साहन गर्ने र मोटरबाटो पुग्न कठिन बस्तीमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने घोषणापत्रमा उल्लेख छ ।

निरोगी नेपाल, स्वस्थ नेपाली : एमालेले स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै निरोगी नेपाल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । गम्भीर रोगको पूर्वपरीक्षण ‘स्क्रिनिङ’ र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । प्रत्येक नागरिकको अनिवार्य बिमा गर्ने, ज्येष्ठ नागरिक, विपन्न दलित, एकल महिला र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा निःशुल्क गर्ने बताएको छ ।

स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी : प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्थामार्फत सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने जनाएको छ । एक घर एक धारालाई अभियानअन्तर्गत दुई वर्षभित्र सबै नागरिकलाई खानेपानी सुलभ आपूर्तिको सुनिश्चितता गर्ने घोषणापत्रमा उल्लेख छ । सार्वजनिक क्षेत्रमा शौचालय र ४० माइक्रोनभन्दा मुनिको प्लास्टिकको प्रयोग पूर्ण रूपमा निषेध गर्ने प्रतिबद्धता पनि एमालेको छ ।

आधुनिक ऊर्जा, उज्यालो पालिका : विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आयवृद्धि र पर्यावरणको संरक्षण गर्ने घोषणापत्रमा उल्लेख छ । प्रत्येक नागरिक विद्युत् सुविधा उपलब्ध गराउने र विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क उपलब्ध गराउने एमालेले जनाएको छ । सिँचाइको विस्तार, कृषि भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने प्रतिबद्धता एमालेको छ । रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।

विकसित पालिका, संरक्षित आवास : प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने प्रतिबद्धता एमालेको छ । सकुुमबासी तथा अव्यवस्थित बसोवासीको समस्या सदाका लागि समाधान गर्ने एमालेको प्रतिबद्धता छ । घरबारविहीन नागरिकलाई संरक्षित आवासको व्यवस्था गर्ने सङ्घ र प्रदेशसँगका सहकार्यमा जनता आवास, संरक्षित आवास, विपत् पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्ने, खर र फुसका छाना विस्थापन गर्ने एमालेको घोषणापत्रमा छ ।

स्वदेशमै रोजगारी, सम्मान र समृद्धि : सार्वजनिक, निजी र सहकारी माध्यमद्वारा औद्योगीकरण गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, सामाजिक सुरक्षा कार्यक्रममार्फत श्रमिकको हक संरक्षण गर्ने घोषणापत्र छ । प्रत्येक पालिकामा कम्तीमा एउटा औद्योगिक ग्राम र प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र स्थापना र सञ्चालन गर्ने जनाएको छ ।

समानतातर्फको महिला यात्रा, समाजवादउन्मुख राज्यको विशेषता : राज्यका हरेक अङ्ग, क्षेत्र र क्रियाकलापमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रत्याभूत गर्ने जनाएको छ । राज्य र समाजका हरेक अङ्ग र क्रियाकलापमा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने प्रतिबद्धता एमालेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायत महिलाका संविधानप्रदत्त हकको कार्यान्वयन गर्ने, महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक सुनिश्चित गर्ने, स्थापना र विकास गर्न निजी र सहकारी क्षेत्रलाई प्रोत्साहन गर्ने जनाएको छ ।

खुसी ज्येष्ठ नागरिक, सुखी बालबालिका, अपाङ्गमैत्री सबै पालिका : जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षा कार्यक्रममार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति र असहायको संरक्षण गर्दै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने प्रतिबद्धता गरेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत सङ्कलन र सहयोगको अभियान सञ्चालन गर्ने, उनीहरूका लागि घरमै निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने घोषणापत्रमा छ । पालिकालाई महिला हिंसामुक्त, बालविवाहमुक्त, बोक्सी प्रथामुक्त र छाउपडीमुक्त घोषणा गर्ने प्रतिबद्धता छ । दाइजो र तिलक प्रथालाई निरुत्साहित गर्ने र घोषणाको प्रभावकारी कार्यान्वयन र सोको अनुगमनका लागि आवश्यक संयन्त्र निर्माण गर्ने एमालेको घोषणापत्रमा छ । एसिड आक्रमणबाट महिलाको रक्षाका लागि प्रशासनसँग प्रभावकारी समन्वय गर्ने, आक्रमणका पीडितलाई उपचार, पुनस्र्थापना र रोजगारीको प्रबन्ध गर्ने, यौनजन्य हिंसा, बलात्कारलगायतका दोषीमाथि कडा कारबाही गर्ने पनि एमालेको घोषणापत्रमा छ । प्रत्येक पालिकामा कम्तीमा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने पनि छ । जलवायु परिवर्तन, विपत् व्यवस्थापनका विषय पनि घोषणापत्रमा समेटिएको छ । मौलिक कला र संस्कृतिको संरक्षण र पर्यटनबाट समृद्धि हासिल गर्ने लक्ष्य पनि एमालेको छ । सबल राष्ट्र निर्माणका लागि स्वस्थ र सिर्जनात्मक युवा भन्ने बुँदा नै राखेर युवा विषय महत्वमा साथ राखेको छ ।

एमालेका ६ सङ्कल्प : एमालेले घोषणपत्रमा ६ वटा सङ्कल्प गरेको छ । सङ्कल्पमा भनिएको छ, ‘हाम्रा जनप्रतिनिधि शासक होइन, जनताका सेवक हुनेछन् ।’ सङ्कल्पमा जनप्रतिनिधि सामाजिक जागरण र विकासका अभियन्ता हुने बताएको छ । उसले एमाले नेतृत्वमा रहेका पालिका सुशासनका नमुना बनाउने सङ्कल्प गरेको छ । हाम्रा जनप्रतिनिधिले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्,’ सङ्कल्पमा उल्लेख छ । एमालेका जनप्रतिनिधिले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्ने सङ्कल्प गरिएको छ ।

स्थानीय तहका पाँच वर्ष : एमालेले घोषणापत्रमा स्थानीय तहका पाँच वर्षको अनुभव र उपलब्धिदेखि वर्तमान गठबन्धन सरकारलाई दिशाविहीन गठबन्धनको संज्ञा दिएको छ । प्रतिकूलताबीच एमालेको नेतृत्वमा केन्द्र, प्रदेश र स्थानीय तहको अग्रसरतामा महत्वपूर्ण काम भएको घोषणापत्रमा उल्लेख छ । स्थानीय तहको बजेट ५५ अर्बबाट दुई सय ८४ अर्ब पुगेकोदेखि पूर्वाधार फड्को नै मारेको एमालेको घोषणापत्रमा छ । पाँच वर्षमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा गुणात्मक प्रगति भएको एमालेले जनाएको छ । घोषणापत्रअनुसार सामाजिक न्याय र सुरक्षामा उल्लेखनीय उपलब्धि, रोजगारी सिर्जना, ऊर्जा, सिँचाइ र कृषि तथा सूचना प्रविधि र सेवा प्रवाहमा अभूतपूर्व विस्तार भएको छ । एमालेले शुक्रबार देशभरका पालिकामा स्थानीय घोषणापत्र जारी गरेको छ । काठमाडौं महानगरले सङ्घ र प्रदेशसँगको सहकार्यमा सम्भाव्यस्थलमा उपयुक्त मोनोरेल, मेट्रोरेलको रणनीति तर्जुमा गरिने उल्लेख छ । सडक र चोकमा स्मार्ट स्ट्रिट लाइट तथा हाइमास्ट जडान गरिनेछ । स्मार्ट ट्राफिक सिग्नलको व्यवस्था गरिनेछ- काठमाडौंको घोषणापत्रमा उल्लेख छ ।

भ्युटावर बनाउनुहुँदैन भन्नेलाई प्रश्नै-प्रश्न : एमाले अध्यक्ष ओलीले भ्युटावर बनाउनु हँदैन भन्नेलाई धरहरामा धान फल्छ त ? भनेर प्रश्न गरे । ओलीले एमाले नभएको भए आज गर्व गर्ने धरहरा देख्नै नपाउने दाबीसमेत गरे । ‘काङ्ग्रेस, यो गठबन्धन त के भन्दै छ ? यस्ता भ्युटावर बनाउनुहुँदैन रे ! अनि के त्यहाँ धान फल्छ त धान ? धरहरामा पहिला धान फल्थ्यो ?’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको प्रश्न छ । उनले धरहराका टुप्पामा लगेर पसल राख्ने भन्दै गठबन्धनको कटाक्ष गरे । उनले भ्युटावर राष्ट्रका गौरव भएको भन्दै उठाउनुपर्नेसमेत बताए । उनले भ्युटावरलाई दूध दिने जर्सी गाई नसम्झन चेतावनीसमेत दिए । उनले मेलम्चीको पानी यो सरकारले ल्याउन नसक्ने भन्दै चैतमा पानी ल्याउने भने पनि सरकारले मेलम्ची काठमाडौं आउने बेलामा बाढी आउने बताए ।