बागीको बहुमतले नेतृत्वलाई चिटचिट धादिङमा दुईजना स्वतन्त्र उम्मेदवारले मारे बाजी

  • त्रिशूली प्रवाह
  • ५ जेष्ठ २०७९, बिहीबार १२:४४

धादिङबेँसी, धादिङ जिल्लामा नेपाली काङ्ग्रेसबाट बागी बनेका तीनजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै आफ्नै पार्टीविरुद्ध बागी बनेका उम्मेदवारले बहुमतसहित चुनाव जितेपछि ठूला भनिएका दलमा हल्ली-खल्ली भएको छ भने नेताहरू अताल्लिएका छन् ।

नेतृत्वले नपत्याए पनि जनताबाट अनुमोदित भएर चुनाव जित्नेमा नीलकण्ठ नगरपालिका-३ मा राजकुमार श्रेष्ठ, ज्वालामुखी गाउँपालिका-४ मा कृष्णबहादुर गुरुङ रहेका छन् । धुनीबंँसी नगरपालिका-५ मा पनि गठबन्धनविरुद्ध बागी बनेका काङ्ग्रेसकै विशाल भट्टराईले पनि चुनाव जितेका छन् । स्वतन्त्र रूपमा उम्मेदवारी दिएर चुनाव जित्ने तीनैजना नेपाली काङ्ग्रेसका बागी उम्मेदवार हुन् । नीलकण्ठ नगरपालिका-३ मा निर्वाचित श्रेष्ठ नेपाली काङ्ग्रेस क्षेत्रीय समिति सदस्य हुन् भने ज्वालामुखी-४ मा निर्वाचित गुरुङ ०७४ को निर्वाचनमा काङ्ग्रेसबाटै टिकट लिएर जितेका वडाध्यक्ष हुन् । धुनीबेँसी-५ का भट्टराई पनि काङ्ग्रेसकै क्रियाशील सदस्य हुन् ।

मतदाताको नजरमा लोकप्रिय भए पनि नेताको नजिक हुन नसक्दा उनीहरूले टिकट पाएनन् । ‘आफ्नै पार्टीका नेताले पत्याएनन्, तर जनताले चुप बस्न दिएनन्,’ नीलकण्ठ नगरपालिका-३ को वडाध्यक्षमा निर्वाचित श्रेष्ठ भन्छन्, ‘यो जित मेरो व्यक्तिगत होइन, पार्टीभित्र आफूखुसी गर्ने र नातावाद-कृपावाद गर्नेविरुद्धको जित हो ।’ पार्टीबाटै टिकट पाउने चर्चामा रहेका नीलकण्ठ नगरपालिका-३ का स्वतन्त्र बागी उम्मेदवार राजकुमार श्रेष्ठले नेपाली काङ्ग्रेसकै आधिकारिक उम्मेदवार गोपीकृष्ण भण्डारीलाई दोब्बर मतले पराजित गरेका छन् । प्रमुख प्रत्याशी काङ्ग्रेसका आधिकारिक उम्मेदवार भण्डारीसहित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै स्वतन्त्र उम्मेदवार श्रेष्ठ वडाध्यक्ष्यमा विजयी भएका हुन् ।

जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका-३ मा गुलावको फूल चिह्न लिएर उठेका श्रेष्ठले एक हजार तीन सय ३९ मत प्राप्त गरेका छन् । प्रमुख प्रतिस्पर्धी काङ्ग्रेसका भण्डारीले ६ सय २९, नेकपा माओवादीले तीन सय ३४ र नेकपा एमालेले दुई सय ४१ मत पाएका जिल्ला निर्वाचन अधिकारी सन्तोष श्रेष्ठले जानकारी दिए । काङ्ग्रेसले आफ्नो पकड मानेको वडामा काङ्ग्रेसबाटै बागी उठेर चुनाव जितेका श्रेष्ठले वडाध्यक्ष बनेर पाउने सरकारी सेवा-सुविधा नलिने बताएका छन् । तलब-भत्तामा आउने रकम शिक्षा, स्वास्थ्य र सरसफाइमा खर्च गर्ने उनले बताएका छन् । डनका आरोप खेप्दै आएका भण्डारीले पार्टी नेतृत्वलाई दबाबमा पारेर टिकट लिएकाले पनि हामी विद्रोहमा उत्रिएको मतदाताले बताएका छन् ।

प्रत्याशी भण्डारी गुण्डा नाइकेका रूपमा परिचित राधाकृष्ण भण्डारी (राधे)का भाइ हुन् । उनी पहिलो स्थानीय निर्वाचन २०७४ बाट वडासदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् । काङ्ग्रेसले टिकट नदिएपछि खरायो चिह्नमा चुनाव लडेका ज्वालामुखी-४ मा निर्वाचित गुरुङले एक हजार एक सय ३० मत ल्याएका छन् । यो काङ्ग्रेसका आधिकारिक उम्मेदवार श्रेष्ठको भन्दा पाँच सय ९१ मत बढी हो । काङ्ग्रेसबाट टिकट पाएका उम्मेदवार कृष्णलाल श्रेष्ठले पाँच सय ३९ मत मात्र पाए । गुरुङका अर्का प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर अर्यालले पाँच सय ९४ मत प्राप्त गरे । अहिले स्वतन्त्रबाट विजयी भएका गुरुङ ०७४ को स्थानीय चुनावमा काङ्ग्रेसबाटै टिकट लिएर विजयी भएका वडाध्यक्ष हुन् ।
पार्टीमा टिकट माग्दा नदिएपछि जनताको मागअनुसार नै स्वतन्त्र उम्मेदवार बनेको उनले बताए । टिकट वितरणकै समयमा पनि नेपाली काङ्ग्रेस धादिङमा ठूलै विवाद देखिएको थियो । उम्मेदवारी दर्ता गर्ने दोस्रो दिनको अन्तिम समयसम्म पनि जिल्लाको आधाजसो वडामा उम्मेदवार टुङ्ग्याउन सकेको थिएन । त्यतिबेला पार्टीले आधिकारिक टिकट दिन नसकेपछि बागी बनेका उम्मेदवारले अहिले चुनाव जितेपछि नेतृत्व पनि झस्किएको छ । आकाङ्क्षी धेरै र समन्वय गर्ने अवधि कम हुँदा टिकट वितरणमा समस्या परेकाले अहिले यो परिणाम भोग्नुपरेको नेपाली काङ्ग्रेस धादिङका सभापति रामनाथ अधिकारीले प्रतिक्रिया दिए ।