दश पालिकाको मतगणना सम्पन्न विदुर र बेलकोटको जारी

  • त्रिशूली प्रवाह
  • ५ जेष्ठ २०७९, बिहीबार १५:१८

विदुर, नुवाकोटमा सम्पन्न स्थानीय तह निर्वाचनको बुधबारसम्म दशवटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । मंगलबार नौवटा पालिका र बुधबार शिवपुरी गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएसँगै दशवटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । शिवपुरी गाउँपालिकामा नेपाली काङ्ग्रेसका अध्यक्षका उम्मेदवार गोविन्द्र थपलिया विजयी भएका छन् ।

योसहित ६ वटा स्थानीय तहको अध्यक्षमा नेपाली काङ्ग्रेस, तीनवटा पालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र एक स्थानीय तहको अध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । नेपाली काङ्ग्रेसले पाँचवटामा अध्यक्ष र तीनवटामा उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले तीनवटामा अध्यक्ष र सातवटामा उपाध्यक्ष जितेको छ । जिल्लाको तारकेश्वर, म्यागङ, सूर्यगढी, लिखु र तादीको अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । पञ्चकन्या, दुप्चेश्वर र ककनीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुवै पदका उम्मेदवार विजयी भएका छन् भने किस्पाङमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अर्को पार्टीले अध्यक्ष जिते पनि शिवपुरी, तारकेश्वर, किस्पाङ र तादीको उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । म्यागङ, सूर्यगढी र लिखुमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काङ्ग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

अब नुवाकोटमा विदुर र बेलकोटगढीको मतगणनाको अन्तिम नतिजा आउन बाँकी रहेको छ । विदुरमा १, २, ३ ४ र ६ को अन्तिम नतिजा बुधबार सार्वजनिक भएको छ भने ५, ७, ८ र ९ को मतगणना समाचार तयार पारुञ्जेल भइरहेको थियो । बेलकोटगढी नगरपालिकामा १, २, ३, ११, १२ र १३ को अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने बुधबार वडा नम्बर ४ र वडा नम्बर १० को गणना भइरहेको छ । शिवपुरी गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार गोविन्दप्रसाद थपलिया विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार पदमबहादुर उप्रेतीलाई एक सय नौ मतले हराएका हुन् । निकै प्रतिस्पर्धाका बाबजुद शिवपुरी गाउँपालिकाको अध्यक्षमा थपलिया विजयी भएका हुन् ।

उनले चार हजार एक सय ८२ मत प्राप्त गरे भने नेकपा समाजवादीका उम्मेदवार पदमबहादुर उप्रेतीले चार हजार ७३ मत प्राप्त गरे । यसअघि ०७४ को चुनावमा पनि नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका पदमबहादुर उपे्रती दुई सय ८६ मतले पराजित भएका थिए । निर्वाचनमा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार जितेन्द्र विष्टले तीन हजार दुई सय ६८ र राप्रपाका सुन्दरप्रसाद पाण्डेले पाँच सय ४२ मत प्राप्त गरेका छन् । शिवपुरी गाउँपालिकाको उपाध्यक्षमा माओवादी र समाजवादी गठबन्धनका उम्मेदवार वीरबहादुर तामाङ विजयी भएका छन् । उनले चार हजार पाँच सय २० मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसको उम्मेदवार इन्दिरा खड्काले चार हजार ५६ मत ल्याइन् भने अर्की प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार मंगलमाया प्रजापतिले तीन हजार एक सय ६३ मत र राप्रपाका बट्टाई अधिकारीले पाँच सय ६९ मत पाए । शिवपुरीको वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार प्यानल नै विजयी भएका छन् । वडाध्यक्षमा केशव रिजाल, महिला सदस्यमा भरतकुमारी थापा, दलित महिला वडासदस्यमा सरिता नेपाली, खुला वडासदस्यमा अक्कलबहादुर तामाङ र रामबहादुर पाठक विजयी भएका हुन् ।

पञ्चकन्या गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रको उम्मेदवार विजयी भएका छन् । यसअघि पनि पहिलो कार्यकाल अध्यक्ष चलाइसकेका तेजबहादुर तामाङ (रमेश) पुनः पञ्चकन्या गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुनु । उनी चार हजार तीन सय ५४ मत ल्याएर विजयी भएका हुनु भने उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसको उम्मेदवार माधवप्रसाद खनालले तीन हजार नौ सय ७४, नेकपा एमालेको उम्मेदवार यमबहादुर थापाले एक हजार एक सय ४७ प्राप्त गरेका छन् । पञ्चकन्या गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार विमला केसी विजयी भएकी छिन् । उनले चार हजार सात मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी उम्मेदवार सलिना केसीले तीन हजार सात सय ४९, नेकपा एमालेकी उम्मेदवार उर्मिला भण्डारीले एक हजार तीन सय ३३ मत ल्याए । वडागत रूपमा पञ्चकन्यामा काङ्ग्रेसका उम्मेदवार वडा नम्बर– १ मा महानन्द ढकाल, वडा नम्बर २ मा रामशरण श्रेष्ठ र वडा नम्बर ५ मा माधवप्रसाद सिटौला विजयी भएका छन् । वडाध्यक्षतर्फ माओवादी केन्द्रको उम्मेदवार वडा नम्बर ३ मा रामबाबु पराजुली र वडा नम्बर ४ मा सञ्च तामाङ विजयी भएका छन् ।

सूर्यगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । यसअघिको अध्यक्ष र उपाध्यक्ष रहेका उम्मेदवार पुनः पाँचवर्षे कार्यकालका लागि विजयी भएका हुन् । अध्यक्षमा सन्तबहादुर घले र उपाध्यक्षमा मञ्जु ढकाल विजयी भएका हुन् । अध्यक्षमा सन्तबहादुर घलेले तीन हजार सात सय ५९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेको राजेन्द्र रिजालले दुई हजार आठ सय सय ८९ मत र नेकपा समाजवादीका ध्रुव अधिकारीले दुई हजार एक सय ७४ मत ल्याए । उपाध्यक्षमा विजयी मञ्जु ढकालले तीन हजार दुई सय दुई मत र उनकी प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार गंगा आचार्यले दुई हजार नौ सय ३२ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार इमानसिंह तामाङले दुई हजार ६ सय ७३ मत ल्याएका छन् ।

लिखु गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार ध्रुव श्रेष्ठ र उपाध्यक्षमा शुभद्रा अधिकारी विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार अध्यक्षमा ध्रुव श्रेष्ठ चार हजार ६७ मत ल्याएर विजयी भएका हुन् भने उनको प्रतिस्पर्धी नेकपा एमालेका मेघनारायण श्रेष्ठले दुई हजार ६ सय १६ मत, माओवादी केन्द्रका उम्मेदवारले एक हजार नौ सय ५८ र राप्रपाका दीपककुमार राईले एक हजार एक सय ६ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा विजयी भएकी काङ्ग्रेसकी उम्मेदवार शुभद्रा अधिकारीले तीन हजार एक सय ६७ मत र उनकी प्रतिस्पर्धी नेकपा एमालेकी शान्ति राईले दुई हजार आठसय ३९ मत, माओवादी केन्द्रकी रेखा भण्डारीले एक हजार ६ सय ७१ मत, राप्रपाकी शोभा ढुङ्गानाले एक हजार तीन सय ७१ र जनता समाजवादी पार्टीका ईश्वरकुमार राउतले चार सय ७९ मत ल्याए । अध्यक्षमा विजयी ध्रुव श्रेष्ठको यो दोस्रो कार्यकाल हो भने यसअघिको चुनावमा पराजित भएकी शुभद्राले दोस्रोपटकको प्रयासमा चुनाव जित्न सफल भएकी हुन् । यसअघि लिखु गाउँपालिकाको कार्यपालिकाको अध्यक्ष जिते पनि चलाउन अल्पमतमा रहेका अध्यक्ष श्रेष्ठलाई यसपटक ६ वटामध्ये चारवटा वडाध्यक्षसहित प्रमुख–उपप्रमुखसमेत भएकाले दुईतिहाइ बहुमतको कार्यपालिका बनेको छ ।

ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । यसअघिको चुनावमा पनि दुवै पद माओवादी केन्द्रले जितेको ककनीमा यसपटक पनि अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सुमन तामाङ (सज्जन) र मिठुमाया लामा विजयी भएका हुन् । सुमन तामाङ (सज्जन)ले चार हजार नौ सय नौ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार नवराज घिमिरेले चार हजार ९८, एमालेका उम्मेदवार काशीराज अधिकारीले तीन हजार ६ सय १२ र राप्रपाका उम्मेदवार तेजबहादुर लामाले एक हजार नौ सय नौ मत पाए भने उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मिठुमाया लामाले चार हजार एक सय ७४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी उम्मेदवार प्रमिशा तामाङले तीन हजार आठ सय ३०, एमालेकी उम्मेदवार लजिता तामाङले तीन हजार सात सय ७१, नेकपा एकीकृत समाजवादीकोउम्मेदवार जितबहादुर बलामीले एक हजार दुई सय ९१ र राप्रपाकी उम्मेदवार संगीताकुमारी पौडेलले पाँच सय ७९ मत पाए ।

दुप्चेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्रको उम्मेदवार विजयी भएका छन् । यसअघि नेपाली काङ्ग्रेसको अध्यक्ष र उपाध्यक्षसहित बहुमत कार्यपलिका सदस्य रहेको दुप्चेश्वरका मतदाताले यसअघि पाँचवर्षे कार्यकाल चलाएकालाई लज्जास्पद हारसहित माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराएका छन् । माओवादी केन्द्रको तर्फतबाट उम्मेदवार बनेका शङ्करबहादुर थापा चार हजार चार सय ७३ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले एक हजार कम मत अर्थात् तीन हजार चार सय ५० मत र नेकपा एमालेका उम्मेदवार योविन्द्रसिंह तामाङले तीन हजार एक सय ४१ मत पाएका छन् । योविन्द्रसिंह तामाङ यसअघि नेपाली काङ्ग्रेसको उम्मेदवारको रूपमा पाँचवर्षे कार्यकाल पूरा गरेर अहिले नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार भए पनि उनी तेस्रो स्थानमा रहे । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार माकुरी तामाङ चार हजार चार सय ३३ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धीमध्ये अञ्जु आचार्य, नेपाली काङ्ग्रेसको उम्मेदवार करिब आठ सय मत अन्तरले पराजित भइन् । यसअघि पालिकाको उपाध्यक्ष जितेर पाँचवर्षे कार्यकाल पूरा गरेको भए पनि दुप्चेश्वरका जनताले नेपाली काङ्ग्रेसकी उम्मेदवार अञ्जु आचार्यलाई राम्रै मूल्याङ्कन गरे । नेकपा एमालेका उम्मेदवार सरस्वती थापाले दुई हजार सात सय १५ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनुप¥यो ।

म्यागङ गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार आशा तामाङ र उपाध्यक्षमा सीता वाइबा तामाङ विजयी भएका छन् । उक्त पालिकामा दलहरूबीच भएको एकल–एकल प्रतिस्पर्धामा काङ्ग्रेसका उम्मेदवार आशा तामाङले तीन हजार दुई सय नौ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकबहादुर तामाङले दुई हजार पाँच सय ९२ मत र नेकपा एमालेका उम्मेदवार मेघनाथ तामाङले एक हजार नौ सय ४८ मत पाएका थिए । उपाध्यक्षमा सीता तामाङ तीन हजार सात सय ३१ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी नेकपा एमालेकी गंगामाया तामाङले दुई हजार ४२ मत र नेकपा माओवादी केन्द्रकी उम्मेदवार सम्झना गुरुङले एक हजार सात सय सय ४९ मत ल्याए । उक्त पालिकाको वडातर्फ १ नम्बरमा काङ्ग्रेसको जिमाबहादुर तामाङ, २ मा नेकपा एमालेको सन्दवीर तामाङ, ३ मा काङ्ग्रेसको हरिबहादुर तामाङ, ४ मा स्वतन्त्रका उम्मेदवार कमलबहादुर तामाङ, ५ मा काङ्ग्रेसको जितबहादुर तामाङ र ६ मा काङ्ग्रेसकै हरिकुमार तामाङ विजयी भएका छन् ।

सम्पन्न निर्वाचनको परिणामअनुसार किस्पाङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वैशाख ३० मा भएको मतदानको अन्तिम मतगणनाको नतिजाअनुसार अध्यक्षमा एमालेका वीरबल तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन न्यौपाने विजयी भएका छन् । प्राप्त विवरणअनुसार किस्पाङको अध्यक्षमा वीरबल तामाङ तीन हजार ६ सय ४८ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका छत्रबहादुर लामाले तीन हजार चारसय ५२ मत प्राप्त गरे । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली काङ्ग्रेससँग प्रतिस्पर्धा गरेसँगै गठबन्धनको उम्मेदवार विजयी हुन सहज भयो । उपाध्यक्षमा अर्जुनप्रसाद न्यौपाने तीन हजार सात सय सय १२ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी दिलकुमारी मोक्तानले तीन हजार दुई सय ६० मत पाइन् ।
तारकेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसको उम्मेदवार शिवप्रसाद अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिप्रसाद रिमाल विजयी भएका छन् ।

काङ्ग्रेस र माओवादी केन्द्रबीच भएको तालमेलअनुसार नेकपा एमालेसँग भएको प्रतिस्पर्धामा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद अधिकारी पाँच हजार ६ सय ६५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रमेशबहादुर वस्तीले तीन हजार तीन सय ४१ मत ल्याए । उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार हरिप्रसाद रिमाल चार हजार ६ सय ५८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेको उम्मेदवार कोपिला भट्टले तीन हजार तीन सय ९२ मत ल्याइन् । पालिकाको उपाध्यक्षमा जितेको भए पनि नेकपा माओवादी केन्द्रको उम्मेदवारले वडा तहमा कुनै पनि सिट जितेको छैन भने नेतृत्व गुमाएको नेकपा एमाले तीनवटा वडामा विजयी भएको छ । वडातहमा वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका उम्मेदबार चक्र तामाङ, २ मा नेकपा एमालेका शिवप्रसाद पनेरू, ३ मा काङ्ग्रेसका सूर्यमान श्रेष्ठ, ४ मा नेकपा एमालेका हरि पौडेल, ५ मा काङ्ग्रेसका अशोक तामाङ र वडा ६ मा नेकपा एमालेका नारायण रिमाल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तादी गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मतपरिणामअनुसार गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तमान तामाङ तीन हजार दुई सय ४१ मत ल्याएर विजयी भएका छन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रका किरणप्रसाद रिजालले दुई हजार पाँच सय १८ मत ल्याए । उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सञ्जु श्रेष्ठ प्याकुरेल तीन हजार तीन सय ९७ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी उम्मेदवार ईश्वरी उप्रेतीले दुई हजार सात सय ७८ मत पाएकी छिन् ।