उच्च रक्तचापको लक्षण

  • त्रिशूली प्रवाह
  • ५ जेष्ठ २०७९, बिहीबार १५:५२
  • डा. सरोज श्रेष्ठ

हिजो विश्व उच्च रक्तचाप दिवस मनाइयो । रक्तचापबारे बहस-छलफल भए । उच्च रक्तचापको कारण, लक्षण, असर र कम गर्ने उपायबारे सरोकारवाला निकायले जानकारी गराएका छन् ।

रक्तचापको अन्तर्राष्ट्रिय मान्यता सामान्यतः प्रत्येक व्यक्तिको आफ्नो शारीरिक बनावट (शरीरको तौल, उचाइ) र शारीरिक क्रियाविज्ञान (फिजियोलोजी) अनुसार रक्तचापको अङ्क भिन्न हुन्छ । १८ वर्षभन्दा माथिका व्यक्तिका लागि रक्तचाप १२०/८० mm Hg हुनुपर्छ भन्ने छैन । जस्तै, तपाईंको रक्तचाप ११०/७० छ भने त्यो तपाईंका लागि यो सामान्य रक्तचाप हो । यदि रक्तचाप ९०/६० भन्दा कम छ भने त्यसलाई हाइपोटेन्सन भनिन्छ । वयस्क व्यक्तिमा सामान्य रक्तचाप भनेको सिस्टोलिक रक्तचाप १२० भन्दा कम र डायस्टोलिक रक्तचाप ८० भन्दा कम भन्ने बुझिन्छ । हाई नरमल भनेको सिस्टोलिक रक्तचाप १२० देखि १२९ mm Hg र डायस्टोलिक रक्तचाप ८० mm ज्न भन्दा कम भन्ने बुझिन्छ । स्टेज १ उच्च रक्तचाप भनेको सिस्टोलिक रक्तचाप १३० देखि १३९ र डायस्टोलिक रक्तचाप ८० देखि ८९ हो । स्टेज २ उच्च रक्तचाप भनेको सिस्टोलिक रक्तचाप १४० भन्दा माथि र डायस्टोलिक रक्तचाप ९० भन्दा माथि हो । उच्च रक्तचाप सङ्कट भनेको सिस्टोलिक रक्तचाप १८० भन्दा माथि र डायस्टोलिक रक्तचाप १२० भन्दा माथि हो ।

उच्च रक्तचापको कारण :
९५ प्रतिशत केसमा उच्च रक्तचापको कारण नै पत्ता लगाउन सकिँदैन जसलाई हामी प्राथमिक उच्च रक्तचाप भन्छौँ जुन आनुवंशिक तथा पर्यावरणीय कारक जस्तै मोटोपन, मदिरापान, धुम्रपान, शारीरिक व्यायामको अभाव, धेरै नुनको सेवनले गर्दा हुने गर्दछ । माध्यमिक उच्च रक्तचाप (५ प्रतिशत) भने मिर्गौलासम्बन्धी रोग, हर्मोनको गडबडी, औषधि, विषको प्रभाव, गर्भावस्थाको कारण उच्च रक्तचापले गर्दा हुने गर्दछ ।

उच्च रक्तचापको लक्षण :
सामान्यतः उच्च रक्तचापको लक्षण देखा पर्दैन, विशेष टाउको पछिल्लो भाग दुख्नु, दृष्टि धमिलो हुनु, चक्कर लाग्ने, वाकवाकी, बान्ता आउने, नाकबाट रगत आउने, कानमा आवाज गुन्जिरहनु आदि उच्च रक्तचापका लक्षण हुन् ।

उच्च रक्तचापको असर :
उच्च रक्तचापले आँखामा रेटिनोपेयाथी, हृदय विफलता, मिर्गौलामा रक्त प्रवाह घटाउने, मस्तिष्कमा रक्तस्राव, परिधीय संवहनी (भास्कुलर) रोग गराउँछ ।

उच्च रक्तचाप कम गर्ने उपाय :
जीवनशैली परिमार्जन : दैनिक शारीरिक व्यायाम, दैनिक ३० मिनेट हिँड्ने, मोटोपन घटाउने, स्वस्थ खानपिन, प्रतिदिन नुन २ ग्रामभन्दा कम, मदिरापान, धुम्रपान बन्द गर्न, पर्याप्त पानी पिउने, कम चिनी सेवन गर्ने । उच्च रक्तचाप भएका बिरामीले चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्नुपर्दछ ।

आधुनिक जीवन शैलीका कारण कम उमेरका व्यक्तिलाई उच्च रक्तचापको समस्या बढ्दै गएको हुँदा जीवनशैली परिमार्जन आजको आवश्यकता हो । पाँच मिनेटको आरामपछि बसिरहेको स्थिति र वृद्ध व्यक्तिमा उभिएको अवस्थामा रक्तचाप नाप गर्नुपर्दछ । प्रत्येक सामान्य वयस्क व्यक्तिले कम्तीमा महिनामा एक वा दुईपटक रक्तचाप नाप्नुपर्छ । उच्च रक्तचाप भएका बिरामीले दैनिक रक्तचाप नाप्नुपर्छ । ४० वर्षभन्दा माथिका व्यक्तिलाई उच्च रक्तचापको जोखिम बढी हुने हुँदा प्रारम्भिक समयमै यसको नियन्त्रण गर्ने सकेमा उच्च रक्तचापको असरलाई न्यूनीकरण गर्न सकिन्छ ।

(लेखक : त्रिशूली अस्पताल नुवाकोटको मेडिकल अधिकृतमा कार्यरत हुनुहुन्छ ।)