नुवाकोट र धादिङमा सम्पन्न स्थानीय निर्वाचन जोसँग हारे, उसैलाई हराए

  • त्रिशूली प्रवाह
  • १२ जेष्ठ २०७९, बिहीबार ११:३२

विदुर, यसपटक सम्पन्न स्थानीय निर्वाचनमा नुवाकोट र धादिङमा गत ०७४ को निर्वाचनमा जोसँग पराजित भए उसैसँग निर्वाचन लडेका उम्मेदवारले बदला लिएका छन् । गत निर्वाचनमा जोसँग हारे उसैलाई यसपटक हराएका छन् ।

नुवाकोट जिल्लाको अघिल्लो स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिका हारेका प्रमुख पदका उम्मेदवारले जोसँग हारे, उसैलाई हराए । सङ्घीयता कार्यान्वयन आएपछि भएको पहिलो स्थानीय तह निर्वाचन ०७४ मा नुवाकोटको दुईवटा पालिकाको प्रमुखमा पराजितले यसपटक जितेका छन् । जितेका प्रमुखले पहिले जोसँग हारे यसपटक उसैसँग प्रतिस्पर्धा गरेर हराएका छन् । पहिलो स्थानीय तह निर्वाचनमा नुवाकोटको बेलकोटगढी नगरपालिकाको मेयरमा पराजित जगतबहादुर तामाङ पाँच वर्षपछि राजेन्द्ररमण खनाललाई फराकिलो मतान्तरले पराजित गर्न सफल भएका छन् । गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार भएका तामाङलाई नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार बनेका राजेन्द्ररमण खनालले दुई सय ९२ मतले पराजित गरेका थिए । गत निर्वाचनमा तामाङले ६ हजार तीन सय १८, खनालले ६ हजार ६ सय ४३ मत पाएका थिए । यसपटक निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका तामाङले ६ हजार चार सय २८ को मतान्तरले खनाललाई पराजित गरेका छन् । तामाङले १३ हजार दुई सय २२ र खनालले ६ हजार सात सय २४ मत पाएका थिए ।

जिल्लाको किस्पाङ गाउँपालिकामा गत ०७४ को निर्वाचनमा अध्यक्षमा पराजित वीरबल तामाङले यसपटक गत वर्षको प्रतिस्पर्धी छत्र लामालाई पराजित गरेका छन् । गत निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका लामाले नौ सय तीन मतले तामाङलाई पराजित गरेका थिए । गत निर्वाचनमा लामाले दुई हजार पाँच सय ६८ र तामाङले एक हजार ६ सय ६५ मत पाएका थिए । यसपटक नेकपा माओवादीसँग गठबन्धन गरेर तामाङ गत निर्वाचनको बदला लिन सफल भएका छन् । तामाङ यसपटक लामालाई एक सय ८६ मतान्तरले पराजित गर्न सफल भएका छन् । तामाङले तीन हजार ६ सय ६८ र लामाले तीन हजार ४ सय ५२ मत प्राप्त गरेका छन् । गत ०७४ को निर्वाचनमा किस्पाङ गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार छनोट भएका लामा मनोनयनको अघिल्लो दिन काङ्ग्रेसमा प्रवेश गरेर काङ्ग्रेसको टिकट पाएर जितेका थिए । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले मतदान गरेको उक्त पालिकामा काङ्ग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार पराजित भएका छन् ।

त्यसैगरी, ०७४ को स्थानीय तह निर्वाचनमा धादिङ जिल्लाको गजुरी गाउँपालिकामा हारेका नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशलाल श्रेष्ठले यसपटक उही प्रतिस्पर्धीलाई पराजित गरेका छन् । श्रेष्ठले गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्रविक्रम बस्नेतलाई हराएका छन् । निवर्तमान अध्यक्ष बस्नेत नेकपा एमालेका उम्मेदवार हुन् । श्रेष्ठ ०७४ को निर्वाचनमा काङ्ग्रेस र माओवादीबीचको गठबन्धनका उम्मेदवार थिए । गत निर्वाचनमा श्रेष्ठ तीन सय ३० मतान्तरले पराजित भएका थिए । यसपटक पनि गठबन्धनबाट उम्मेदवार भएका श्रेष्ठ दुई हजार दुई सय ५७ मतान्तरले विजयी भएका हुन् । दोहो¥याएर उम्मेदवार बनेका दुवैजना दुईपटकको निर्वाचनमा एक-अर्काका प्रतिस्पर्धी बने । श्रेष्ठ भन्छन्, ‘जोसँग हारे, उसैलाई हराएँ ।’ गजुरीको उपाध्यक्षमा विजयी भएकी काङ्ग्रेसकी शर्मिला विसुराल पनि अघिल्लो निर्वाचनमा पराजित भएकी थिइन् । एमाले उम्मेदवार सीता ढुङ्गाना (हाल एकीकृत समाजवादी)सँग पाँच सय ८५ मतान्तरले पराजित उनी यसपटक भने एमालेकै उम्मेदवार भगवती खतिवडालाई दुई हजार एक सय सात मतान्तरले हराउँदै विजयी भएकी हुन् । पहिले हारेर अहिले जितेका अनुहार वडामा झन् धेरै छन् ।

गजुरीकै वडा नम्बर १ मा वडाध्यक्ष निर्वाचित तारानाथ भण्डारी पनि अघिल्लो निर्वाचनमा पराजित भएका थिए । उनी एमालेका उम्मेदवार राजकुमार पण्डितसँग पराजित भएका थिए । माओवादी केन्द्रका उम्मेदवार भण्डारी यसपटक उनै पण्डितलाई पराजित गर्न सफल भए । गल्छी गाउँपालिका वडा नम्बर ३ र ५ मा पुराना प्रतिस्पर्धीले निवर्तमान जनप्रतिनिधिलाई हराएका छन् । गल्छी गाउँपालिका-३ मा ०७४ को निर्वाचनमा पराजित भएका माओवादी केन्द्रका राजन भुजेल यसपटक भने विजयी भएका छन् । अघिल्लोपटक नेकपा एमालेका उम्मेदवार कपिलप्रसाद रेग्मीसँग हारेका उनले यसपटक रेग्मीलाई दुई सय ३७ मतान्तरले हराएका छन् ।