निर्वाचित जनप्रतिनिधिको कार्यकाल सुरु विदुरमा निर्वाचितलाई निवर्तमान जनप्रतिनिधिको स्वागत

  • त्रिशूली प्रवाह
  • १२ जेष्ठ २०७९, बिहीबार ११:४०

विदुर, गत वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्न थालेका छन् । निर्वाचनको अन्तिम मतगणना सम्पन्न भएका देशभरका पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यले गत हप्तादेखि पदभार ग्रहण गरेर कार्यकाल सुरु गरिरहेका छन् । नुवाकोट, धादिङ र रसुवामा निर्वाचित जनप्रतिनिधिको कार्यकाल केहीको गत हप्ताबाट र बाँकीको यसै हप्ताबाट सुरु भएको छ । नुवाकोटको १२ पालिका र ८८ वटा वडाका जनप्रतिनिधिले शपथग्रहण सम्पन्न गरेर कार्यकाल सुरु गरेका छन् । नुवाकोटको दुप्चेश्वर र तारकेश्वर गाउँपालिकामा दुई वडा सदस्य पदमा उम्मेदवारी नपरेको कारण दुई वडा सदस्य पद रिक्त रहेको छ । दुप्चेश्वरको वडा नं. १ र तारकेश्वरको वडा नं. ६ मा दलित महिला सदस्य पदमा उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

धादिङको १३ वटा पालिकाको प्रमुख/उपप्रमुख, एक सय चार वडाध्यक्ष, चार सय १६ वडासदस्य निर्वाचित भएर कार्यकाल सुरु गरिसकेका छन् । रसुवाका पाँच पालिकाका प्रमुख/उपप्रमुख, २५ वडाध्यक्ष, सयजना वडासदस्यले शपथग्रहण सम्पन्न गरेर कार्यकाल सुरु गरिसकेका छन् । नुवाकोटको १० वटा पालिकाका जनप्रतिनिधिले गत हप्ता नै शपथग्रहण गरी जिम्मेवारी सम्हालिसकेका छन् । धेरै मतदाता भएकाले मतगणना विदुर र बेलकोटगढी नगरपालिकामा ढिलो भयो । शुक्रबार मतगणना सम्पन्न भएपछि विदुर र बेलकोटगढी नगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षले सोमबार शपथग्रहण गरेर पदबहाली गरेका छन् । विदुर नगरपालिकामा निर्वाचित मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जित, २ का दीपक कायस्थ, ३ का बद्रीप्रसाद रिमाल, ४ का निलमबाबु ढुङ्गेल, ५ का लीलानाथ न्यौपाने, ६ का श्यामकृष्ण चालिसे, ७ का रविन्द्र नेपाल, ८ का कमल श्रेष्ठ, ९ का हरिराम भण्डारी, १० का गणेश नेपाल, ११ का बाबुराम तामाङ, १२ का उपिन्द्र खड्का र १३ का भरतबहादुर तामाङसहित ५२ जना वडासदस्य महिला र दलित महिला सदस्यले शपथग्रहण गरेका छन् । सोमबार नै विदुरका मेयर/उपमेयरले पदबहाली गरेका छन् । पदबहाली कार्यक्रममा निवर्तमान मेयर सञ्जु पण्डित, उपमेयर गीताकुमारी दाहाल अर्याल उपस्थित भएर स्वागत गर्दै कार्यकालका लागि शुभकामना दिएका थिए ।

सोही दिन निवर्तमान जनप्रतिनिधिलाई बिदाइसमेत गरिएको थियो । बिदाइ कार्यक्रम निवर्तमान मेयर पण्डितले निर्वाचनमा भएको प्रतिस्पर्धालाई बिर्सेर समग्र नगरको विकासमा निर्वाचित नेतृत्वले समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिए । उनले भने, ‘सकारात्मक कार्यका लागि सधैँ साथ र सहयोग गर्न प्रतिबद्ध छु ।’ निर्वाचनको परिणामले एउटै दललाई बहुमत नदिएकाले मिलेर जानुको विकल्प नरहेकोसमेत उनले बताए । विदुरमा काङ्ग्रेसले मेयरसहित पाँच वडाध्यक्ष, १७ वडासदस्य, नेकपा माओवादी केन्द्रले उपमेयर, तीन वडाध्यक्ष, दुई वडासदस्य, नेकपा एमालेले पाँच वडाध्यक्ष र ३२ वडासदस्य, जनता समाजवादी पार्टीले एक वडासदस्य जितेका छन् । कार्यपालिका सदस्यमा एमालेको बहुमत रहेकाले मेयर, उपमेयरले समन्वय नगरी एकलौटी अगाडि बढ्न नसक्ने अवस्था विदुरमा रहेको छ । पदबहाली कार्यक्रममा मेयर श्रेष्ठले नगरको विकासमा निवर्तमान जनप्रतिनिधिसँग समन्वय गरेर अगाडि बढ्ने बताए । पदबहालीपछि नगरप्रमुखले करको दर समसामयिक र वैज्ञानिक बनाउने निर्णय गरेका छन् । ०४३ मा विदुर नगरपञ्चायत स्थापना भएको थियो । साबिकको गंगामाई, त्रिशूली, रक्तकाली र भैरवी गाउँ पञ्चायतलाई समेटेर बनेको विदुरको पहिलो निर्वाचन ०४४ मा भएको थियो । पहिलो निर्वाचनमा शिवप्रसाद गजुरेल विदुर नगर पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका थिए । ०४६ पछि भएको ०४९ र ०५४ मा नेकपा एमालेले मेयर/उपमेयर जितेको थियो । ०४९ र ०५४ मा एमालेका ठाकुरप्रसाद गजुरेल मेयर र मानिकलाल श्रेष्ठ उपमेयरमा निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा पनि एमालेकै मेयर र उपमेयरले निर्वाचन जितेका थिए । विदुरको पाँचौँ मेयर/उपमेयरको रूपमा राजन श्रेष्ठ र प्रभा बोगटीले सोमबार पदबहाली गरेका छन् ।

बेलकोटगढी नगरपालिकाको जनप्रतिनिधिले सोमबार शपथग्रहण गरी पदबहाली गरेका छन् । बेलकोटगढीको मेयरमा जगतबहादुर गुरुङ, उपमेयरमा शिवप्रसाद दाहाल, वडा नम्बर १ को अध्यक्षमा सन्तबहादुर तामाङ, २ मा रामचन्द्र तिमिल्सना, ३ मा कौशिला पुडासैनी, ४ मा चन्द्रबहादुर लामा, ५ मा मदन भुजेल, ६ मा अम्बिका तामाङ, ७ मा भुवनेश्वर नेपाल, ८ मा सुरेशलाल चित्रकार, ९ मा दुर्गाबहादुर गजुरेल, १० मा प्रह्लादप्रसाद थपलिया, ११ मा प्रकाशजंग पाण्डे, १२ मा डिल्लीराम सिलवाल, १३ मा नवराज पाण्डे निर्वाचित भएका छन् । अघिल्लो हप्ता शपथग्रहण गरेर शिवपुरी गाउँपालिकाको अध्यक्ष गोविन्दप्रसाद थपलिया र उपाध्यक्ष वीरबहादुर तामाङ, वडा नम्बर १ का अध्यक्ष सुकराम तामाङ, २ का कुमार तामाङ, ३ का नाती तामाङ, ४ का अर्जुनबहादुर गुरुङ, ५ का रेशमबहादुर मोक्तान, ६ का विष्णु श्रेष्ठ, ७ का वीरबहादुर तामाङ र वडा नम्बर ८ का केशव रिजालले कार्यकाल सुरु गरेका छन् । त्यसैगरी, सूर्यगढी गाउँपालिकाको अध्यक्ष सन्तबहादुर तामाङ र उपाध्यक्ष अञ्जु बुढाथोकी, वडा नम्बर १ का अध्यक्ष राजकुमार तामाङ, २ का दीपक अधिकारी, ३ का नाती तामपिङ्गलबहादुर थापामगर, ४ का रामशरण राई र वडा नम्बर ५ का अच्युतराज ढकालले कार्यकाल सुरु गरेका छन् ।

लिखु गाउँपालिकाको अध्यक्ष धु्रव श्रेष्ठ र उपाध्यक्षमा सुभद्रा अधिकारी, वडा नम्बर १ का अध्यक्ष नरहरि पाण्डे, २ का प्रेमबहादुर थापामगर, ३ का सीताराम पुलामीमगर, ४ का प्रकाश राई, ५ का विश्वप्रसाद खतिवडा र ६ का विष्णु श्रेष्ठ, सुमन भण्डारीले कार्यकाल सुरु गरेका छन् । त्यस्तै, म्यागङ गाउँपालिकाको अध्यक्ष आशा तामाङ र उपाध्यक्ष सीता तामाङ, वडा नम्बर १ का अध्यक्ष जिमाबहादुर तामाङ, २ का सन्तवीर तामाङ, ३ का हरिबहादुर तामाङ, ४ का कमलबहादुर तामाङ र ५ का जितबहादुर तामाङ, ६ का हरिकुमार तामाङले कार्यकाल सुरु गरेका छन् । किस्पाङ गाउँपालिकाको अध्यक्ष वीरवल तामाङ र उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, वडा नम्बर १ का अध्यक्ष पशुपति घले, २ का बद्रीप्रसाद देवकोटा, ३ का सुरेन्द्रबहादुर तामाङ, ४ का विनोद तामाङ र वडा नम्बर ५ का प्रकाश तामाङले कार्यकाल सुरु गरेका छन् । तादी गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङ र उपाध्यक्ष सञ्जु प्याकुरेल, वडा नम्बर १ का अध्यक्ष नकुर दोङ तामाङ, २ का बच्चुराम तामाङ, ३ का सोनाम तामाङ, ४ का अश्विलकुमार पाण्डे र ५ का सरोज भण्डारी, ६ का शिरमान तामाङले कार्यकाल सुरु गरेका छन् ।

त्यस्तै, तारकेश्वर गाउँपालिकाको अध्यक्ष शिव अधिकारी र उपाध्यक्ष हरिप्रसाद रिमाल, वडा नम्बर १ का अध्यक्ष चक्रबहादुर तामाङ, २ का शिवप्रसाद पनेरू, ३ का सूर्यमान श्रेष्ठ, ४ का हरिबहादुर पौडेल र ५ का अशोक तामाङ र वडा नम्बर ६ का तामनारायणप्रसाद रिमालले कार्यकाल सुरु गरेका छन् । दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष शङ्करबहादुर थापा र उपाध्यक्ष माकुरी तामाङ, वडा नम्बर १ का अध्यक्ष सीताराम तामाङ, २ का वीरबल तामाङ, ३ का धु्रवकर केसी, ४ का ज्ञानबहादुर तामाङ र ५ का मैतबहादुर तामाङ, ६ का किशोर आचार्य र वडा नम्बर ७ का बुद्धिमान तामाङले कार्यकाल सुरु गरेका छन् । ककनी गाउँपालिकाको अध्यक्ष सुमन तामाङ र उपाध्यक्ष मिठुमाया तामाङ, वडा नम्बर १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामी, २ का तिलकबहादुर लामा, ३ का घननाथ बजगाईं, ४ का सोनाम लामा, ५ का बुद्धराज लामा, ६ का लक्ष्मण तामाङ, ७ का रामकृष्ण तामाङ र वडा नम्बर ८ का शेषमान तामाङले कार्यकाल सुरु गरेका छन् । त्यस्तै, पञ्चकन्या गाउँपालिकाको अध्यक्ष तेजबहादुर तामाङ (रमेश) र उपाध्यक्ष विमला केसी, वडा नम्बर १ का अध्यक्ष महानन्द ढकाल, २ का रामशरण श्रेष्ठ, ३ का रामबाबु पराजुली, ४ का सञ्च तामाङ र वडा नम्बर ५ का माधवप्रसाद सिटौलाले कार्यकाल सुरु गरेका छन् ।