गोसाइँकुण्डमा गंगादशहरा मेला

  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको सबैभन्दा ठूलो कुण्ड गोसाइँकुण्ड हो । गोसाइँकुण्डमा गंगादशहरा र जनैपूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ । यस वर्ष गंगादशहराको मेला मंगलबारदेखि सुरु भएको छ ।

गोसाइँकुण्डको मेला भर्न बर्सेनि नेपालीलगायत विदेशी पथप्रदर्शक र धार्मिक व्यक्तिको समेत ओइरो लाग्ने गर्छ । ज्येष्ठ शुल्कपक्ष जेठ १७ गतेबाट १० दिनसम्म चल्ने गर्दछ । चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड चौथाइमाइल फराकिलो निलो पानीको सरोवर हो । यसवरिपरि एक सय आठ कुण्ड रहेका छन्, जसमध्ये मुख्य गोसाइँकुण्ड हो । यस कुण्डलाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्रभित्र समावश गरिएको छ । वर्षको दुईचोटि मात्र मेला लाग्ने गोसाइँकुण्डमा अचेल बाह्रै महिना स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । मेलाको समयबाहेक अन्य समयमा दैनिक सयभन्दा बढी धार्मिक–प्राकृतिक अध्ययन अवलोकन गर्न आउने गरेको स्थानीय होटेल व्यवसायी सुब्बा लामाले बताए । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने शिवको वासस्थान रहेको गोसाइँकुण्ड एक पवित्र भूमि भएकाले मानिस जीवनमा एकपटक पुग्नैपर्छ भन्ने मान्यता राख्दछन् ।

धार्मिक किंवदन्ती :
परापूर्वकालमा देवता र मानवबीच युद्ध भई समुद्र मन्थन गर्दा निस्केको कालकुट नामक विषले सारा जगत्लाई नै नोक्सान हुन लागेपछि यसबाट सम्पूर्णलाई छुटकारा दिलाउन भगवान् शिवलाई हारगुहार गरेको थियो रे । भगवान् शिवले विषबाट बचाउन आफैँले विष निलेपछि घाँटीमा अड्कियो । त्यसलाई शान्त पार्न शीतलता खोज्दै हिमालयन क्षेत्र गोसाइँकुण्डतर्फ आउँदा रसुवाको धैबङकोट, कालिकामाई मन्दिरमा आई विश्राम लिने क्रममा भगवान् शिवले शिरमा बोकेर हिँड्ने महाकाली देवीलाई स्थापना गरी गोसाइँकुण्ड भएको किंवदन्ती छ । स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार सोही स्थानमा कालिका मन्दिर निर्माण गरी पूजा गर्न थालेको हो । अहिले त्यस क्षेत्रलाई कालिकास्थान भनी चिनिन्छ ।

त्रिशूल धारा :
शिव भगवान् विषले आकुल/व्याकुल भएर हालको गोसाइँकुण्डमा रहेको ठाउँमा गई पानीको अभावमा काकाकुल भइरहँदा त्रिशूलले ढुङ्गामा हानेपछि पानी निस्कियो । त्यसपछि त्रिशूलधारा भनी नामकरण गरियो । त्रिशूलधाराबाट बगेर बनेको पोखरीमा शिव डुबुल्की मारेर विराजमान भएको पोखरीलाई गोसाइँकुण्ड भन्न थालियो । गोसाइँकुण्डको लम्बाइ र चौडाइ तीन सय ७० मिटर रहेको छ ।

पापबाट मुक्ति :
यस कुण्डमा नुहाएमा पापबाट मुक्ति मिल्ने र मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । विशेष गरी जनैपूर्णिमा र दशहरामा मेला लाग्ने यस कुण्डमा आजभोलि बाह्रै महिना भक्तजन आउने गर्दछन् । गत दुई वर्ष कोभिडका कारण पर्यटक आवत-जावतमा सम्बन्धित निकायले रोक लगाएको थियो । कोभिड नियन्त्रण हुँदै गएपछि पर्यटकका लागि अहिले खुला गरिएको छ । यहाँ आन्तरिक तथा बाह्य र भारतबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गर्दछन् ।

रसुवा कुण्डैकुण्डको जिल्ला :
गोसाइँकुण्डको नाममा राज्य पुनर्संरचना भएपछि गाउँपालिकाको नामकरण गरिएको छ । गोसाइँकुण्ड क्षेत्रको पहिलो कुण्ड ‘सूर्यकुण्ड’ । यहाँबाट केही तल झरेपछि आइपुग्छ, ‘गोसाइँकुण्ड’ । यो कुण्डमा शिवको आकृतिको मूर्तिजस्तो गेरु रङको चट्टान देखिन्छ । गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड रहेका छन् । यहाँको प्राकृतिक बनावट र कुण्डले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । भैरव कुण्डमा भने भक्तजन दर्शन गर्न जान नहुने मान्यता रहेको छ । भैरवकुण्डको दर्शन गर्दा अशुभ हुने बुढापाका बताउँछन् । टाढाबाट हेर्दा कालो देखिने यो कुण्ड सायद निकै गहिरो भएको हुनुपर्छ । तर, यहाँ आजसम्म कोही पनि जाने गरेको थाहा नपाएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए । यहाँ रहेका कुण्डमध्ये गोसाइँकुण्ड नै सबैभन्दा ठूलो कुण्ड हो । गोसाइँकुण्ड र कालिकास्थानको महिमा युगौँदेखि एक–आपसमा जोडिँदै आएको छ । धार्मिक मान्यताअनुसार गोसाइँकुण्ड यात्रामा जाने क्रममा बाटैमा पर्ने कालिकामाईको दर्शन गरी गोसाइँकुण्ड (शिवको वासस्थान) जाँदा यात्रा सहज हुने र भगवान् शिव खुसी हुने आस्था जनमानसमा रहिआएको छ ।

गोसाइँकुण्ड नेपालको दोस्रो ठूलो पदमार्गअन्तर्गत पर्दछ । धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थी यस क्षेत्रमा धार्मिक, प्राकृतिक अध्ययन तथा अन्वेषणका लागि आउने गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाले पनि आफ्नो देह त्याग गोसाइँकुण्डमै गरेका थिए । त्यस स्थानमा उनको सालिक बनाइएको छ । गोसाइँकुण्ड क्षेत्रमा तामाङ समुदायको बसोवास रहेको छ । यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले यात्राको थकान महसुस हुँदैन । तामाङ समुदायको वेशभूषा, रहन-सहन, संस्कृति यस क्षेत्रका महत्वपूर्ण गहना हुन् । मेलाका बेला गोसाइँकुण्डमा रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोकलगायत अन्य जिल्लाका लामा, झाँक्रीनाच तथा तामाङसेलो, नृत्यसमेत देख्न सकिन्छ । यसैकारण यस क्षेत्रको चर्चा-परिचर्चा दिन प्रतिदिन बढ्दो छ । गोसाइँकुण्ड सदरमुकाम धुन्चेबाट डेढ दिनको पैदल यात्रामा पुग्न सकिन्छ । धुन्चेबाट कुण्डसम्म सुविधायुक्त वासस्थान र खानाको व्यवस्था सहज रहेको छ । काठमाडौंबाट बिहान ६, ७ र ८ बजे हिँडेको बस दिउँसो १, २ र ३ बजे धुन्चे पुग्छ ।