१२ वटै पालिकाको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत

  • त्रिशूली प्रवाह
  • १६ असार २०७९, बिहीबार १४:५१

विदुर, नुवाकोटका १२ वटा पालिकामध्ये ११ वटाले संविधानले तोकेकै मिति असार १० गते र विदुर नगरपालिकाले असार १४ गते मंगलबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

विदुर नगरपालिका मेयर राजन श्रेष्ठले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नगरप्रमुख श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । असार १० गतेलाई बोलाइएको नगर सभा आन्तरिक मतभेदले स्थगित भएको थियो । नगरपालिकामा नेपाली काङ्ग्रेसले एकलौटी बजेट निर्माण गरेको नीति तथा कार्यक्रम कार्यपालिकाको निर्णयअनुसार नभएको भन्दै नेकपा एमालेका नगर सभाका सदस्यले सभा बहिष्कार गरेका थिए । नगर सभामा आर्थिक वर्ष ०७९/८० को बजेट नगरपालिका उपमेयर प्रभा बोगटीले एक अर्ब १३ करोड ९३ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् । नगरकार्यपालिकाले निर्माण गरेको विभिन्न पाँच समितिले तय गरेको प्रतिवेदनलाई नै सभामा प्रस्तुत गरेको उपमेयर बोगटीले जानकारी दिइन् । योजनअनुसार बजेट विनियोजन भने असार १७ गते बस्ने नगर सभाले गर्ने बताइएको छ ।

त्यसैगरी, बेलकोटगढी नगरपालिकाले असार १० गते ९७ करोड ९६ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार भएको आठौँ नगर सभामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नगरपालिका उपप्रमुख शिवप्रसाद दाहालले आगामी आर्थिक वर्षको बजेट ९७ करोड ९६ लाख ६० हजार प्रस्तुत गरे । चालूतर्फ २० करोड ७३ लाख रुपैयाँ र पुँजीगततर्फ ४३ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख शिवप्रसाद दाहालले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । त्यसअघि नगरप्रमुख जगतबहादुर गुरुङले बेलकोटगढी नगरपालिकाको नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटमा ‘समृद्ध बेलकोटगढीको आधार : स्वास्थ्य, शिक्षा, कृषि एवम् पर्यटनसहितको पूर्वाधार’ भन्ने मूल नारा तय गरिएको छ । बजेटमा पूर्वाधार विकासमा १३ करोड, संस्थागत विकास तथा सुढृढीकरण कार्यक्रमलाई तीन करोड ५० लाख विनियोजन गरिएको उपप्रमुख दाहालले जानकारी दिएका छन् ।

बेलकोटगढी नगरपालिकाले महिलातथा बालबालिकासम्बन्धी विभिन्न कार्यक्रमका लागि ६० लाख, स्वास्थ्य तथा जनसङ्ख्याको क्षेत्रमा तीन करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको छ । युवा तथा खेलकुदतर्फ तीन करोड, कृषि, पशु, सहकारी, घरेलुका लागि तीन करोड बजेट विनियोजन गरिएको छ भने प्रशासनिक खर्च नगरपालिकाको चालू खर्च १४ करोड विनियोजन गरिएको छ । नगरपालिका प्रमुख गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगर सभाले सर्वसम्मत पारित गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख गुरुङले नगरभित्रको सबै स्वास्थ्यचौकीमा ल्याब र प्रसूति सेवा विस्तार गरी ज्येष्ठ नागरिक, द्वन्द्वपीडित, सहिद परिवार र दीर्घरोगीहरूलाई निःशुल्क स्वास्थ्य सेवाको विस्तार गरिने बताए ।

शुक्रबार नै पञ्चकन्या गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ६६ लाखभन्दा बढीको बजेट ल्याएको छ । १२औँ गाउँसभा तथा बजेट सार्वजनिक समारोहमा आर्थिक वर्ष ०७९/८० का लागि गाउँपालिका उपाध्यक्ष विमला पाठक केसीले ४५ करोड ६६ लाख ६९ हजार सात सय ३८ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । जसमध्ये चालूतर्फ २६ करोड ५० लाख ८६ हजार सात सय ३८ अर्थात् ५८ प्रतिशत र पुँजीगततर्फ १९ करोड १० लाख ८३ हजार अर्थात् ४२ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षका लागि ४२ करोड ६८ लाख १६ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । बजेटमा पुँजीगतभन्दा चालू खर्च बढी देखिएको छ । पूर्वाधार विकास, कृषि, शिक्षा, सामाजिक सुरक्षाअन्तर्गत ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई उपचार खर्च, महिला स्वयम्सेवकलाई प्रोत्साहन भत्तालगायतका जनप्रिय कार्यक्रम पनि ल्याइएको उपाध्यक्ष केसीले बताइन् ।

तादी गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि असार १० गते नै ४४ करोड १४ लाख ९० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एघारौँ गाउँ सभामा उपाध्यक्ष सञ्जु श्रेष्ठ प्याकुरेलले आर्थिक वर्ष ०७९/८० का लागि ४४ करोड १४ लाख ९० हजारको बजेट प्रस्तुत गरिन् । तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा बसेको गाउँ सभाबाट आर्थिक ऐन, २०७९, विनियोजन ऐन, २०७९, आव ०७९/८० बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत ढङ्गले पारित भएको गाउँपालिकाले जानकारी दिएको छ ।

सूर्यगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० लागि ५१ करोड रुपैयाँको बजेट निर्धारित मितिमै सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले गाउँ सभामा ५१ करोड २५ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ । त्यसैगरी, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रमा बजेट विनियोजन गरिएको उपाध्यक्ष ढकालले जानकारी दिइन् । न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा काम गर्ने बालविकास सहयोगीलाई प्रोत्साहित रकम दिने बजेटमा समेटिएको छ । विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण, पठन-पाठनमा गुणस्तर वृद्धि गर्न प्रत्येक विद्यालयमा इन्टरनेट तथा केही विद्यालयमा सिसी क्यामेरा व्यवस्थाका लागि समेत बजेट विनियोजन गरिएको छ । त्यसैगरी, बजेटमा ज्येष्ठ नागरिकका लागि चाडपर्व भत्ता तथा तातो न्यानो कपडाका लागि वार्षिक रूपमा एक हजार पाँच सय अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । दीर्घरोगीलाई निःशुल्क औषधि वितरणका कार्यक्रम राखिएको छ । सडक यातायातको स्तरवृद्धि गरिनुका साथै केही भागमा कालोपत्रेलाई निरन्तरता दिने भएको छ । ‘एक घर एक धारा’ खानेपानी कार्यक्रमलाई बजेटमा निरन्तरता दिइने उल्लेख छ । कृषि औजार, बिउ-बिजन तथा पशु विकासका कार्यक्रम अनुदानलाई बजेटमा राखिएको छ ।

गाउँपालिकाले आय र राजस्वका स्रोत उल्लेख गर्दै आ.व. ०७९/८० मा गाउँपालिकामा सङ्घीय सरकारबाट वित्तीय समानीकरणतर्फ आठ करोड ६६ लाख, सङ्घीय ससर्त अनुदानतर्फबाट १५ करोड १३ लाख, विशेष अनुदानबाट एक करोड ३० लाख, समपूरक अनुदान ५० लाख, राजस्व बाँडफाँडबाट ६ करोड ६३ लाख २० हजार र सामाजिक सुरक्षा भत्तातर्फ आठ करोड रुपैयाँ प्राप्त हुने विनियोजित बजेटमा उल्लेख गरेको । प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ७३ लाख, ससर्त अनुदान दुई करोड, राजस्व बाँडफाँडतर्फ एक करोड, विशेष अनुदान दुई करोड, समपूरक अनुदान तीन करोड प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । आन्तरिक आयतर्फ ३५ लाख राजस्व सङ्कलन हुने अनुमान बजेटमा छ । बजेट प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्ष सन्तबहादुर तामाङले समृद्ध सूर्यगढी र सुखी सूर्यगढीको आकाङ्क्षा पूरा गर्ने अठोटका साथ आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

म्यागङ गाउँपालिकाले पनि संविधानले तोकेकै मितिमा आगामी आर्थिक वर्ष ०७९/८० का लागि कुल ३९ करोड ९१ लाख ७९ हजारको बजेट र नीति कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष आशा तामाङको अध्यक्षता भएको गाउँपालिकाको गाउँ सभा तथा अधिवेशनले चालूतर्फ बाहेकको बजेटलाई पारित गरेको हो । सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्ने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको गाउँपालिका उपाध्यक्ष सीता तामाङले बताइन् । गाउँपालिकाले छोरीलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराइदिने प्रवृत्तिलाई निरुत्साहन गर्न २० वर्ष पूरा गरी कम्तीमा १२ कक्षा उत्तीर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र बधाईस्वरूप नगद १० हजार रुपैयाँ उपलब्ध गराउन बजेटको व्यवस्था गरेको छ । कक्षा ४-५ र कक्षा ६-८ को स्थानीय आधारित पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिनेछ । विद्यालयको हाताभित्र हरियाली वातावरण कायम राख्न ‘एक विद्यालय एक बगैँचा, एक विद्यार्थी एक बिरुवाको नीति’ अघि सारिएको छ ।

दुप्चेश्वर गाउँपालिकाले पनि निर्धारित मितिमै नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ । गाउँसभाको ११औँ अधिवेशनमा अध्यक्ष शंकरबहादुर थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको हो । गाउँ सभामा अध्यक्ष थापाले कृषि र पर्यटन, धार्मिक÷सांस्कृतिक पर्यटन, सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा उपप्रमुख माकुरी तामाङले बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाले ‘कृषि संस्कृति, पर्यटन र पूर्वाधार, सन्तुलित विकास दुप्चेश्वरको आधार’ भन्ने नारा आत्मसात् गरेको छ । मुख्यगरी दुप्चेश्वरमा ०७९/८० को नीति तथा कार्यक्रममा कृषि र पर्यटकलाई विशेष प्राथमिकतामा राखिएको छ । कृषि उपजको बजार व्यवस्थापनका लागि हाट-बजारको व्यवस्था गरिने नीति तथा कार्यक्रममा रहेको छ । रैथाने बाली÷बिउको संरक्षण, उत्पादन र बजारका लागि उचित व्यवस्था गरिने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

यस्तै, परिषद्ले असला माछा, लोकल खसी, बोका, लोकल कुखुरा, मौरीपालन तथा अन्य अर्गानिक कृषि उपजलाई प्रवद्र्धन गरी पर्यटन व्यवसायमार्फत आयआर्जनमा टेवा पु¥याउने नीति र कार्यक्रम पारित गरेको छ । साथै, बाँझो जमिनलाई उर्वरायुक्त बनाउन विशेष उपज अनुदान कार्यक्रम ल्याइने पनि जनाएको छ । धार्मिक÷सांस्कृतिक पर्यटनअन्तर्गत दुप्चेश्वर महाँदेव मन्दिर बृहत् गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने, घ्याङफेदी–गोसाइँकुण्ड केबलकारको सम्भाव्यता अध्ययन गरी पहल गर्ने रहेको छ । त्यस्तै, दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षणका लागि बर्थिङ सेन्टर स्थापना गर्न पहल गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

तारकेश्वर गाउँपालिकाले पनि आगामी आ.व. ०७९/८० का लागि ४९ करोड ८९ लाख ३३ हजारबराबरको बजेट निर्धारित मितिमै सार्वजनिक गरेको छ । असार १० गते आयोजित सातौँ गाउँ सभामा गाउँपालिका अध्यक्ष शिव अधिकारीले नीति, कार्यक्रम तथा उपाध्यक्ष हरिप्रसाद रिमालले बजेट वक्तव्य सार्वजनिक गरेका थिए । नीति तथा कार्यक्रमले स्थानीय पूर्वाधार निर्माण, लक्षित समूह क्षमता विकास, रोजगारी सिर्जना, कृषिजस्ता बहुआयामिक क्षेत्रको विकासमा जोड दिएको छ । आगामी आवमा पालिकाभरको सबै कच्ची सडक ग्राभेल गर्ने, ठूला खानेपानी आयोजना सम्पन्न गर्ने, विभिन्न किसिमका स्वरोजगारमूलक कार्यक्रम र तालिम सञ्चालन गर्ने प्रशासनिक भवन निर्माण अघि बढाउनेजस्ता कार्यक्रम समावेश गरेको छ । त्यसको साथै, नीति र बजेटमा एक शिक्षक एक ल्यापटप, बालविकास र विद्यालय कर्मचारीका लागि तलब वृद्धि, उपाध्यक्ष शैक्षिक छात्रवृत्ति कार्यक्रम, अध्यक्षसँग बालबालिका कार्यक्रमजस्ता रचनात्मक कार्यक्रमसमेत समावेश गरेको छ । एकल महिला, विपन्न दलित परिवारका सन्तानका लागि उच्च शिक्षामा छात्रवृत्ति तथा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक छात्रवृत्तिसमेतको व्यवस्था नीति, कार्यक्रम तथा बजेटले समावेश गरेको छ ।

स्थानीय तहमा उद्योगको विकासका लागि करछुट तथा सहुलियतको घोषणा, अध्यक्षसँग उद्यमी, जलविद्युत्मा लगानी विस्तार गरी उज्यालो तारकेश्वरजस्तो कार्यक्रमसमेत समावेश गरिएको छ । दलित, अल्पसङ्ख्यक, द्वन्द्वपीडित तथा एकल महिला आदि लक्षित सीप विकास तालिमका साथै सेवा प्रवेशमा विशेष प्राथमिकता दिने विषयसमेत नीति, कार्यक्रम तथा बजेटमा समावेश छ । कृषिका लागि विभिन्न अनुदान तथा योजना समावेश गर्दै उत्कृष्ट किसान पुरस्कार, मल बिउमा अनुदान थप, यान्त्रिक सामग्री अनुदान, भूमि बैंकको अवधारणाजस्ता कार्यक्रम समावेश गरेको छ । अर्कोतर्फ राजस्व सुधारका लागि त्रिशूली नदी किनारसहितको अन्य क्षेत्रको नदीजन्य पदार्थ कानुनबमोजिम उत्खनन तथा निकासी गर्ने, स्थानीय निर्माण कार्यमा उक्त सामग्री कच्चा पदार्थको रूपमा प्रयोग गरिने, अनलाइन पेमेन्ट प्रणाली लागू गरिनेजस्तो विषय समेटिएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले प्रस्तुत नीति, कार्यक्रम आश्वासनका पोका मात्रै नभई स्थानीय आवश्यकता रहेकाले यसको पूर्ण प्राप्तिमा आफू र सिङ्गो पालिका प्रतिबद्ध भएर लाग्ने बताउँदै सबैलाई रचनात्मक सहयोगको लागि आग्रहसमेत गरे ।

ककनी गाउँपालिकाले निर्धारित समयभित्रै आ.व. ०७९/८० को नीति, कार्यक्रम तथा बजेट गाउँ सभामा पेस गरेर पारित गरेको छ । पालिकाको समग्र विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्ने कार्यक्रम पारित गरेको छ । पर्यटकीय क्षेत्र ककनीलाई कृषि, पर्यटन र उद्योगमा निजी लगानीलाई समेत आकर्षित गरी विकास र समृद्धिको लक्ष पूरा गर्न लगानी सम्मेलन गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए । गाउँ सभाको अधिवेशनमा अध्यक्ष तामाङले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रममा लगानी सम्मेलन गर्नेदेखि स्थानीय कोदोको रक्सी तीनपाने आइरकलाई ब्रान्डिङ गरी आन्तरिक उत्पादनलाई प्रवद्र्धन गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा दूध, मासु र तरकारीमा पालिकालाई आत्मनिर्भर बनाउने, डाक्टर र इन्जिनियर अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, शैक्षिक सुधारका लागि प्रधानाध्यापकसँग करार सम्झौता गर्ने, किशोरीहरूको सुरक्षाका लागि आत्मरक्षा तालिम सञ्चालन गर्ने, ‘एक वडा एक एम्बुलेन्स’ सेवाका सुरुवात गरिने उल्लेख छ ।

गाउँपालिकाले सुशासनमा जोड दिँदै ‘जनतासँग अध्यक्ष’ कार्यक्रममार्फत नागरिकका समस्या बुझ्ने र समाधान गर्ने, यस आर्थिक वर्षमा कुनै पनि सवारीसाधनलगायत विलासिताका सामग्री खरिद नगर्ने नीति अवलम्बन गरिएको छ । अध्यक्ष तामाङले गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम संशोधनसहित सर्वसम्मत पारित भएको छ । उपाध्यक्ष मिठुमाया तामाङले सभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/८० को बजेट पारित भएको छ । बजेटमा चालूतर्फ ३९ करोड ३९ लाख र पुँजीगततर्फ १८ करोड ८३ लाख गरी जम्मा ५८ करोड २२ लाखको बजेट पेस गरिएको छ ।