विदुर, नेकपा एमाले नुवाकोटले २०७९ बैंशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सकिएको डेढ महिनापछि अन्र्तघात गर्ने नेता/कार्यकर्तालाई कारबाही गर्न छानबिन समिति बनाएको छ ।
शुक्रबार जिल्ला सचिवालयको बैठकले निर्वाचनमा भएको अन्र्तघातको सुक्ष्म छानबिन गर्न कार्यदल बनाएको छ । उक्त कार्यदलमा जिल्ला कमिटीका पदाधिकारी रहेका छन् । एमालेका केन्द्रिय सदस्य एवं जिल्ला इञ्चार्ज बिन्दा ढुंगानाको उपस्थितीमा सम्पन्न सचिवालयको बैठकले जिल्ला अध्यक्ष बद्री मैनाली, उपाध्यक्ष बुद्धिबहादुर प्रधान, सचिव सुदर्शन नेपाल, उपसचिवद्वय निलकण्ठ आचार्य र काशीराज अधिकारीलाई जिम्मेवारी दिएको छ । कार्यदलले १२ वटै पालिकामा उम्मेदवार बनेका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्यसँग लिखित प्रतिवेदन माग गरेको छ । सम्पन्न निर्वाचनमा एमालेको पक्षमा जनलहर उर्लेको भएपनि पार्टीका नेता/कार्यकर्ताको अन्र्तघात र विपक्षी दलको गठबन्धन कारक रहेको निस्कर्ष सचिवालय बैठकले गरेको छ । सचिवालय बैठकमा वाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डे, प्रदेश कमिटीका सदस्य तथा संघीय सांसद नारायणप्रसाद खतिवडा, प्रदेश कमिटीका सदस्य तथा केन्द्रिय स्कुल विभागका सदस्य रामशरण प्याकुरेललगायतले अन्र्तघात गरेका नेता/कार्यकर्ताले आगामी दिनमा पाठ सिक्ने गरी छानबिन समिति गठन गर्न सुझाव दिएका थिए । छानबिन कार्यदलका एक सदस्यले बताएअनुसार संघ तथा प्रदेशको निर्वाचन नजिकिंदै गर्दा पार्टी नेता/कार्यकर्तालाई चिढाउने गरी कारबाही नगर्ने तर सचेत गर्न, गराउने गरी छलफल भईरहेको बताए ।
स्थानीय तहको निर्वाचनको छानबिन गर्दा विदुर, तारकेश्वर, सुर्यगढी, लिखु, दुप्चेश्वर, पञ्चकन्या, शिवपुरी पालिकाका थुप्रै नेता/कार्यकर्तामाथि निर्मम रूपमा कारबाही गर्नुपर्ने अवस्था रहेका चर्चा जिल्ला तहमा भईरहेको छ । कुनै न कुनै विधी निर्माणका लागि सहयोग पुग्ने छानबिन समितिका सदस्य एवं जिल्ला कमिटीका उपाध्यक्ष बुद्धिबहादुर प्रधानले बताउनु भयो । उनकाअनुसार पार्टीभित्र अराजकता बढ्दै गएको र यसलाई कहीँ न कहीँ नियन्त्रण गर्नुपर्ने स्थिती रहेकाले आगामी दिनमा सुधार गर्नुपर्ने विषय पनि आउने छन् । पार्टीले छानबिन गर्नुपर्छ । कहाँ कमजोरी भयो भन्ने थाहा पाउनुपर्छ । कार्यकर्ता किन असन्तुष्ट छन् भन्ने बुझ्नुपर्छ । उम्मेदवार छनोट गर्ने विधी सही थियो या थिएन, केन्द्रबाट हस्तक्षेप गर्दा स्थानीय तहले दबाब महशुस गरेको हो कि होइन भन्ने जस्ता विषयमा छानबिन समितिको ध्यान जाने बताउनु भयो ।







प्रतिक्रिया