धुन्चे । नेपाल-चीनको उत्तरी सीमानाका रसुवागढी क्षेत्रमा कार्यरत सरकारी कर्मचारी तथा सुरक्षाकर्मी दैनिक जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । रसुवागढीको मितेरी पुलनजिकै रहेको भिरको फेदीमा खटिने कर्मचारी माथिबाट जुनसुकै वेला ढुङ्गा खस्न सक्ने त्रासका बिच कर्तव्य निर्वाह गरिरहेका छन् ।

भौगोलिक रूपमा अत्यन्त विकट रहेको सो क्षेत्रमा दिनरात सुरक्षा ड्युटी सञ्चालन गर्नुपर्ने भएकाले सुरक्षाकर्मीले भिरमुनि बसेर काम गर्दै आइरहेका छन् । आकस्मिक रूपमा ढुङ्गा झर्ने जोखिम रहने भएकाले प्रत्येक क्षण डर र त्रासका बिच ड्युटी गर्नुपर्ने अवस्था रहेको एक सुरक्षाकर्मीले नाम नलेख्ने सर्तमा बताउनुभएको छ । समय-समयमा खसेका ढुङ्गाले यसअघि मानिस घाइते बन्नुका साथै नाका क्षेत्रमा रहेको हेल्थ डेस्कमा समेत क्षति पु¥याएको थियो । यता, भोटेकोशी नदी र ल्हेन्दे खोलामा आउने बाढीले भन्सार यार्डलाई पनि पटक-पटक क्षति पुर्याउँदै आएको छ । विशेषगरी चिनियाँ क्षेत्रमा ठुलो वर्षा भएपछि केरुङ र ल्हेन्दे खोलाबाट आउने बाढीले रसुवागढी नाकामा बर्खाको तीन महिना जोखिम थप्ने गरेको छ । गत वर्ष असार २४ गते आएको विनाशकारी बाढीले भन्सार यार्डमा ठुलो क्षति पुर्याउनुका साथै दर्जनौँ सवारी साधन बगाएको थियो । उक्त घटनामा १० जनाभन्दा बढी मानिस बगेर बेपत्ता भएका थिए । चीनबाट आयात गरिएका सामग्री बोकेर आउने कन्टेनर भन्सार जाँचपासका लागि यार्डमा राख्नुपर्ने भएकाले व्यापारी र सवारी चालक पनि बर्खाभरि त्रासमा रहन्छन् । भोटेकोशी नदीमा आउने बाढीले करोडौँ रुपैयाँबराबरका आयातित सामग्री जोखिममा पर्ने त्रास रहेको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताउनुभयो । यस्ता प्राकृतिक जोखिमका बाबजुद रसुवा भन्सार कार्यालयका कर्मचारीले हिउँदको अत्यधिक चिसो, धुलो तथा हिउँ पग्लिएर आउने चिसो हावाको सामना गर्दै आयात-निर्यात सामग्रीको जाँचपास र राजस्व सङ्कलनलाई निरन्तरता दिइरहेका छन् ।
भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार गत आर्थिक वर्षमा चीनबाट आयात भएका सामग्रीबाट रु.१३ अर्ब ६४ करोड ६० लाख ८४ हजार नौ सय सात राजस्व सङ्कलन भएको छ । वार्षिक राजस्व लक्ष्य रु.४० अर्ब रहे पनि गत वर्षको बाढीले ल्हेन्दे खोलाको मोटरेबल पुल पूर्ण रूपमा बगाएपछि आयात प्रभावित हुँदा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो । भिरबाट खस्ने ढुङ्गा र बाढीको दोहोरो जोखिमका बिच रसुवागढी नाकामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा व्यापारीले सुरक्षित कार्यस्थल, दीर्घकालीन पहिरो नियन्त्रण र बाढीबाट जोगाउने स्थायी संरचना निर्माणको माग गरेका छन् ।






प्रतिक्रिया