नेपालका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन् । पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय भएको छ । चौतारा र बस्ती सुनसान छन् । बस्ती शून्य लाग्छन् । केही वर्षअघिसम्म चहलपहल हुने गाउँ अहिले मानवविहीन बन्दै गएका छन् । मानव नहुँदा गाउँमा जङ्गली जनावरको राज चलेको छ । सडक, बिजुली, खानेपानी र सञ्चार सुविधा पुगे पनि रोजगारी, शिक्षा र स्वास्थ्यको खोजीमा मानिस थाकथलो छोड्दै सहर तथा विदेश जान थालेपछि गाउँ खाली हुँदै गएका हुन् । यसको असर घर र जमिनमा मात्र नभई सामाजिक सम्बन्ध, संस्कृति, स्थानीय अर्थतन्त्र र परम्परागत सिपमा परेको छ ।

पहिले गाउँमा दुःख त थियो, तर त्यो दुःखमा पनि छुट्टै रमाइलो लुकेको हुन्थ्यो । चाडबाडको उत्साह त्यस्तै हुन्थ्यो, वैशाखपूर्णिमाको जात्रा जान पैसा जुटाएको, जात्रामा बरफ खादै बाँसुरी र चस्मा किनेको, स्कुलमा निबुवा, भोगटे, अमला, टाटे अमिली बाँडेर खाएको, काठको गाडी बनाएर गाउँका बाटोमा घिरेली खेल्दै हिँडेको, मेलापात र वनपाखामा घाँस, सोत्तर काटेको, गाईवस्तु चराउँदै गोठालो जाँदा भाका हाली-हाली गुनगुनाएको, गाउँका बाहरूले खाएको तमाखुको गन्धले गाउँबस्तीमा नै मगमग बास्ना आउँथ्यो । भोक लाग्दा बासीभात, भुटेको मकै, भटमास, कोदो, गहुँ र मकैको रोटी त्यो पनि हारालुछ गरी खाएको छुट्टै आनन्द लाग्थ्यो । वर्षात् महिना सुरु भएर पानी पर्न थालेपछि खनायो फलिट पाक्यो कि भन्दै फेदफेद चहारेको, वनका आँप, अम्बा, जामुना कति मिठा थिए । ती पाक्दै, झर्दै अजेल कुहिँदै होलान् ।
जङ्गलका वनतरुल खन्दै कटुस टिप्न सारा जङ्गल चारिन्थ्यो, घाँसका भारीले थिचिएको थाप्लो लिएर हतारहतार आमाले दिएको दुध र भात ताततातो खाएर स्कुल जाँदा उकालोमा पेट चस्किएको सम्झना अझै ताजा छ । आज गाउँघरका हिजो हिँडेका सारा बाटो, घाँस, दाउराको लागि चहारेको जङ्गल, पानी बोकेको धारा, पँधेरा, दसैँमा चौतारीमा हालेका पिङ अझै बिर्सिन सकेको छैन । दसैँमा कमेरो माटोले घर चम्काउन घण्टौँ लगाएर कमेरो लिन गइन्थ्यो, बल्लबल्ल वर्षमा एकजोर कपडा त्यो पनि स्कुल ड्रेस त्यही लगाएर खल्तीभरि ढिकीमा कुटेको बास्ना आउने चिउरा खाँदै पिङ खेल्दा ठुलै युद्ध जितेझैँ लाग्थ्यो, त्यही लुगा लगाएर मामाघरसम्मको यात्रा हुन्थ्यो, तिहार आउँथ्यो, देउसी-भैलीको रौनक मिलेर खेल्दा कति रमाइलो हुन्थ्यो, चामल पैसा भाग लगायो, रातभरिको निद्रा बिर्सिन्थ्यौँ । खोलाभरि अम्बा पाक्थे, फलिट पाक्थे, बयर पाक्थे, खान लुछाचुँडी हुन्थ्यो, घरमा बेलुका बाहरू मकै छोडाउँदै, दाम्ला-नाम्ला बनाउँदै व्यस्त हुँदै कथा र आफूले भोगेको दुःखसुख सुनाउनुहुन्थ्यो, बा, बाजेले आफन्तलाई गर्ने सम्मान र इज्जतको कुरा सिकाउनुहुन्थ्यो, अहिले सबैका हातहातमा मोबाइल छ, कोही कसैसँग बोल्दैन, आ-आफ्नै धुनमा लाग्छन्, कोही कसैको खोजीनिती, इज्जत, सम्मान गर्ने संस्कार हराइसकेको छ । कसैलाई कोही चाहिएकै छैन, कोही आऊन् जाऊन् मतलब छैन, गाउँभरि मान्छे हुन्थे, अर्मपर्म र चौतारीमा बसेर वृद्धहरू सुख-दुःख साटासाट गर्नुहुन्थ्यो भने युवाहरू बागचाल, डन्डीबियो, कबड्डी खेल्थे । त्यसवेलाको समय एक-आपसमा गहिरो आत्मीयता थियो कि, त्यो वेलाको अभाव र गरिबी पनि कति प्यारो अनि मीठो लाग्थ्यो । तर, आज समय फेरिएको छ । अहिले गाउँ सुविधासम्पन्न भएको छ, बाटोघाटो र बिजुली पुगेको छ, तर ती सुविधा उपभोग गर्ने मान्छे कोही छैनन् । गाउँ पूरै रित्तिएको छ । कोही बिरामी पर्दा एक गिलास तातोपानी तताएर दिने मान्छे छैनन्, कसैको मृत्यु हुँदा लास उठाउने मलामीसमेत पाउन गाह्रो भइसकेको छ । भौतिक विकासले गाउँ त बन्यो, तर त्यो पुरानो आत्मीयता र रौनकता सदाका लागि हरायो । यस्तो शून्य र रित्तो गाउँ सम्झिँदा मन भक्कानिएर आउँछ । अहिले त गाउँघरका साथीसङ्गी, आफन्त होइन, घरकै मान्छे टाढा छन्, बिराना छन्, आफ्नोपन छैन । रिस, डाहा र क्रोधले भरिएको छ; मात्र स्वार्थ, मात्र आफूलाई मात्र, आफ्नोबारेमा बाहेक अरू कसैले केही सोच्दैन । त्यसैले, आज कसैले मलाई ‘तँ के माग्छस् ?’ भनेर सोध्यो भने, म विना कुनै हिचकिचाहट एउटै कुरा माग्ने छु, ‘मलाई त्यही अभावै-अभावले भरिएको, तर आफ्नाको न्यानो माया र साथ भएको मेरो प्यारो ‘बालापन’ फर्काइदेऊ ।’ पहिले गाउँमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन्थ्यो । चाडपर्व, मेलापात र सामाजिक काममा सबै गाउँले सहभागी हुन्थे । अहिले धेरै मानिस गाउँ छाडेर गएपछि पहिलेको जस्तो रमाइलो र सहयोगी वातावरण पाइँदैन । युवापुस्ता बाहिरिँदा कृषि श्रमिकको अभाव भएको छ । खेतीयोग्य जमिन बाँझो रहने र उत्पादन घट्ने अवस्था आएको छ । पुस्तौँदेखि चलिआएका खेती गर्ने सिप, रैथाने बाली र स्थानीय ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुन कठिन भएको छ ।
गाउँमा मानिसको सङ्ख्या घट्दा खेतीपाती, स्थानीय संस्कृति र सामाजिक गतिविधिमा असर परेको छ । गाउँ खाली हुनु सामाजिक, सांस्कृतिक र आर्थिक चुनौती हो । युवापुस्ता गाउँमा नहुँदा भाषा, संस्कार, संस्कृति र परम्परागत ज्ञान नयाँ पुस्तासम्म पुर्याउन कठिन भएको छ । गाउँमा मानिस टिकाइराख्न आय-आर्जनको आधार बलियो बनाउन आवश्यक छ । त्यसका लागि कृषि र पर्यटनलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्छ । गाउँपालिकाले घरबास सञ्चालन, कृषि प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने काम गर्नुपर्छ । गाउँ रित्तिँदै जानु केवल खाली घरको समस्या नभई कृषि, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको विषय हो । गाउँ जोगाउन कृषि आधुनिकीकरण, पर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रिय जनगणना विसं २०७८ ले देशभर आन्तरिक बसाइँसराइको प्रवृत्ति बढ्दै गएको देखाएको छ । यसको प्रभाव देशका ग्रामीण क्षेत्रमा देखिएको छ । गाउँ रित्तिँदै जानु केवल खाली घरको कथा मात्रै होइन, यो त देशका अनेकन बस्तीका उस्तैउस्तै अवस्थाको फेहरिस्त पनि हो । खाली घरमा फेरि धुवाँ उड्ने, बाँझो जमिनमा फेरि उत्पादन हुने र गाउँको मौलिकता जोगिने अवस्था सिर्जना गर्नु नै अबको मुख्य चुनौती बनेको छ । त्यसका लागि कृषि आधुनिकीकरण, पर्यटन प्रवद्धन र स्थानीय उत्पादन बढाउनु र गाउँमा रोजगारीको अवसर बढाउनु जरूरी भइसकेको छ । अन्यथा, गाउँघर एकादेशको कथा बन्नेछ । (बेलकोटगढी नगरपालिका, नुवाकोट निवासी लेखक हाल जापानमा अध्ययनरत हुनुहुन्छ ।)






प्रतिक्रिया