Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

चेपाङ किशोरी छात्रावास भवन हस्तान्तरण

त्रिशूली प्रवाह
३ साल अगाडी
  • राजेन्द्र बस्नेत

गजुरी, धादिङ जिल्लाको गजुरी गाउँपालिका-१ हाँगेटारमा प्लानेट इन्फान्ट एन्ड डेभलपमेन्ट संस्थाको आर्थिक तथा प्राविधिक सहयोग र गजुरी गाउँपालिकाको आर्थिक साझेदारीमा प्रयास नेपालको सामाजिक परिचालनमा निर्माण गरिएको भवन हस्तान्तरण भएको छ । गाउँपालिकालाई शनिबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चेपाङ किशोरी छात्रावास भवनको उद्घाटन गरेपश्चात् गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्लानेट इन्फान्ट एन्ड डेभलपमेन्ट संस्थाले गरेका धेरै राम्रा काममध्ये किशोरी छात्रावास भवन त्यसमा पनि चेपाङ किशोरीलाई बनाइदिएकोमा धन्यवाद दिँदै अब चेपाङ विद्यार्थीको छात्रवास निर्माणमा पनि सहयोग गर्न अनुरोध गरे । उनले भने, ‘छात्रावासमा बसेर पढ्ने किशोरी उच्च शिक्षा हासिल गरेको देख्न र सुन्न पाइयोस् ।’ यति व्यवस्थित छात्रावासमा बसेर पढेका किशोरी प्रविधि र सीप सिकेका हुनुपर्छ । छात्रावासका लागि प्रदेश सरकारले २० थान कम्प्युटर उपलब्ध गराउनेसमेत उनले बताए । अहिले छात्रावास निर्माण गरेको जग्गा ०४५ सालमा मुख्यमन्त्री पाण्डे जिल्ला पञ्चायतको सभापति हुँदा साबिकको महादेवस्थानका चेपाङलाई सार्न किनिएको थियो । जग्गा किनेको केही समयपछि उनी जेल परेका थिए । चेपाङ विशेष क्षेत्र घोषणा गरी बस्ती विकास कार्यक्रमका लागि सरकारले पाँच करोड विनियोजन गरेको छ । पहिलो चरणमा बु्रसवाङको बस्ती स्थानान्तरण, मकवानपुरमा बनकरियाको आवास निर्माण चितवनमा चेपाङको आवास निर्माण गर्ने पनि मुख्यमन्त्री पाण्डेले बताए । भवन हस्तानान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशलाई श्रेष्ठले छात्रावास सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेका छौँ । छात्रावास सञ्चालन गर्न पैसा नपुग्ने भएकाले एक लाख पुनः थप्ने प्रतिबद्धता उनले सो अवसरमा जनाए । छात्रावाससम्म बाटो नाली निर्माणसहित ग्राभेल गर्ने काम गाउँपालिकाले आगामी आवमा गर्ने अध्यक्ष श्रेष्ठले बताए । यसैगरी, प्लानेट इन्फान्ट डेभलपमेन्टका सल्लाकार बुद्धिलाल श्रेष्ठले फ्रान्सका व्यक्तिले चन्दा उठाएर बनाएको भवन आज गाउँपालिकालाई हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘सबैभन्दा बढी खुसी त छात्रावासमा बस्ने किशोरी होलान्,’ अध्यक्ष श्रेष्ठले थपे, ‘वडाध्यक्ष सुरेन्द्र प्रजाले गाउँपालिकाले जुन किसिमका काम ग¥यो । त्यो आफैँमा राम्रो काम हो । अघिल्लो कार्यपालिकाका अध्यक्षसहित सदस्यलाई धन्यवाद भन्न चाहन्छु । त्यो कार्यपालिकामा म पनि सदस्य थिएँ । छात्रावास सञ्चालन कार्यविधिमा सुधार गरेर चेपाङ समुदायका पनि प्रतिनिधित्व गराउन पाए अझ राम्रो हुने थियो ।’ यस वर्ष दुई लाख थपेर नौ लाख छात्रावास सञ्चालन खर्च विनियोजन भएको वडाध्यक्ष प्रजाले बताए ।

जिल्ला समन्वय समितिले पाँच रोपनी जग्गा ५० वर्षका लागि गजुरी गाउँपालिकालाई छात्रावास भवन बनाउने सर्तमा उपलब्ध गराएको हो । ३६ जना अट्ने क्षमताको भवन बनाउनु प्लानेट इन्फान्ट एन्ड डेभलपमेन्टको तर्फबाट एक करोड ३९ लाख ८५ हजार ४७ रुपैयाँ ६५ पैसा, गाउँपालिकाको तर्फबाट जग्गा व्यवस्थापनसहित ९३ लाख ५८ हजार आठ सय गरी दुई करोड ३३ लाख २२ हजार आठ सय ४७ रुपैयाँ चार पैसा लगानी भएको छ । जसमध्ये एक करोड ११ लाख ८३ हजार सात सय ७७ रुपैयाँ खर्च भएको प्रयास नेपालका कार्यकारी निर्देशकले बताए । ३६ जनाको क्षमता भएको छात्रावासमा हाल ३१ जना चेपाङ किशोरी बस्दै आएका छन् । छात्रावासमा चेपाङ किशोरी छात्रावास, भान्साघर र पालेघर रहेको छ । किशोरी छात्रावास सञ्चालन कार्यविधि छात्रावास रहेको वडाको अध्यक्ष पदेन अध्यक्ष, सदस्यमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा, महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा र छात्रा अध्ययनरत विद्यालयको प्रधानाध्यापक पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह